अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:३२ | Colorodo: 07:47

प्रोस्पेक्ट्स अफ नेपाल–चिन ट्रेड एण्ड इकोनोमिक रिलेसन्स विषयक अन्तर्कृयात्मक कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७५ असार २२ गते ८:५१ मा प्रकाशित

नेपालका लागि चिनियाँ राजदूत यु होंगले “ट्रान्स–हिमायलयन मल्टी–डाइमेन्सनल कनेक्टिभीटी नेटवर्क” को “फ्रेमवर्क” अन्तर्गत हुने आपसी सहकार्यबाट नेपालले प्रचुर मात्रामा फाइदा लिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्स र नेपाल–चिन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री द्वारा संयुक्त रूपमा आयोजित “प्रोस्पेक्ट्स अफ नेपाल–चिन ट्रेड एण्ड इकोनोमिक रिलेसन्स” विषयक अन्तर्कृयात्मक कार्यक्रममा बोल्दै उहाँले आज सो कुरा बताउनुभएको हो ।

संसारलाई समृद्दीले जोड्ने चिनियाँ सपना जोडिएको बृहत् बिश्वब्यापी परियोजना ’बेल्ट एण्ड रोड इनिसियटिभ’मा नेपाल सहभागी भइसकेकोले यस अन्तर्गत हुने सहकार्यबाट नेपालको समृद्धिको गति तीव्र बन्ने कुरा उहाँले बताउनुभयो । भर्खरै मात्र नेपालका प्रधानमन्त्री के. पी. शर्मा ओलीको चिन भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरू ऐतिहासिक भएको भन्दै उहाँले भन्नुभयो, “नेपाल–चिन सम्बन्ध यो बिन्दुमा आएर ऐतिहासिक क्षणमा आइपुगेको छ । यो मैत्रीपूर्ण सम्बन्धको फ्रेममा साझा धारणा र अनुभवको आदान–प्रदानले दुवै देशलाई प्रचुर फाइदा र सिकाई हुनेछ ।“

नेपाल–चीनको नयाँ नाका केरुंगलाई आधुनिक भौतिक पूर्वाधार सहितको अन्तर्राष्ट्रिय नाकामा रूपान्तरण गर्न चिन सहयोग गर्न तयार भएको समेत उहाँको कथन थियो । तातोपानी नाकालाई पुनः सञ्चालनमा ल्याउने सवालमा दुई–पक्षीय रूपमा उच्च तहमा थप कुराकानी गर्दै जान आवश्यक रहेको उहाँको धारणा थियो ।

सन् २०२० सम्ममा २० लाख पर्यटन भित्रर्याउने नेपाल सरकारको लक्ष प्राप्त गर्ने कुरामा चीनले सहयोगी भूमिका खेल्न तयार रहेको कुरा पनि राजदूत होंगले बताउनुभयो । कनेक्टिभिटीसंग सम्बन्धित भौतिक पूर्वाधार निर्माणको लागि संयुक्त लगानी र मेहनत महत्त्वपूर्ण हुने उहाँको तर्क थियो ।

देशको समृद्दीको लागि शिक्षा महत्त्वपूर्ण भएकोले नेपालको समृद्दीमा टेवा पुर्‍याउने उद्येश्यले प्रदान गरिएको छात्रवृत्तिमा हाल सात हजार भन्दा बढी विद्यार्थीहरू चीनमा अध्ययन गरिरहेको कुरा उहाँले बताउनुभयो ।

एक अर्को प्रसङ्गमा राजदूत होंगले भन्नुभयो, “नेपालको सम्भाव्यता थाहा भए भन्दा निकै बढी रहेको र उक्त सम्भाव्यता पत्ता लगाउन चीनले सहयोग गर्नुपर्छ” ।

सो कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको समृद्दीको लागि थप चिनियाँ लगानी अपरिहार्य रहेको कुरा बताउनुभयो । अफ्रिका, युरोप, लेटिन अमेरिका र एसियाली देशहरूमा चिनियाँ लगानीले कतिपय ठाउँमा कायापलट गरेको भन्दै उहाँले भन्नुभयो, “चिनियाँ लगानीमा प्रचुर मात्रामा वृद्धि हुन गएमा नेपालको लागि मात्र होइन, दुई देशबिच प्रविधि, लगानी, श्रम र अनुभवबिचमा हुने सहकार्यको माध्यमबाट नेपालमा उत्पादित वस्तुहरूको चीनमा हुने निर्यातले चीनलाई पनि फाइदा पुग्छ । “

चिन सबै भन्दा ठुलो लगानीकर्ता र निर्यातकर्ता मात्र नभै विश्वमै सबै भन्दा ठुलो आयातकर्ता समेत भएकोले उसको हिमालयन छिमेकी नेपालको उत्पादनलाई चीनले आयात गरेर नेपालको चीनसँगको व्यापार घाटा कम गर्न सघाउनुपर्ने श्रेष्ठको धारणा थियो ।

चिनियाँ दूतावासको कूटनीतिक मण्डलका अन्य सदस्यहरू र नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा डा. अनजान शाक्य, दिपेशरत्न तुलाधर, निरज राई लगायतले पनि नेपाल–चिन व्यापार सम्बन्धबारे आफ्नो भनाई राख्नुभएको थियो ।

प्रतिक्रिया