अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:११ | Colorodo: 15:26

अमेरिकामा वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग अन्तरक्रिया गरिने

विजय थापा २०७५ असार २१ गते १८:४९ मा प्रकाशित

वरिष्ठ हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठसँग अमेरिकाको मेरिल्याण्डमा विशेष अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रमा २७ वर्ष अगाडी स्थापना भएको अमेरिका कै सर्वाधिक सक्रिय संस्था मध्ये कै एक नेपा पास पुचः अमेरीकाये (एनपीपीए )ले उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

उक्त संस्थाका संस्थापक, समाजसेवी, सामाजिक अभियन्ता, नेपाली समुदायका अग्रज राम मालाकारसँग निकट पारिवारिक सम्बन्ध समेत रहेका कलाकार द्वय मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्य सहित संस्थाको २५ औ वार्षिक उत्सवमा आएका थिए ।​ उनीहरूले आफ्नो प्रहसन प्रस्तुत समेत गरेका थिए । यस पटक भने मदन कृष्ण श्रेष्ठ मात्र एकल रूपमा अमेरिका आउने छन् भने उनीसँग डिसी महानगर क्षेत्रका नेपाली समुदायले प्रत्यक्ष रूपमा अन्तरक्रिया गर्न पाउने भएका छन् ।

एनपीपीएका वर्तमान अध्यक्ष राजु जोशीका भनाई अनुसार वरिष्ठ कलाकार श्रेष्ठसँग प्रत्यक्ष रूपमा भेटघाट गर्न पाइने, अन्तरक्रियामा सहभागी हुन् पाइने, उनका सङ्क्षेपमा जीवनका कुरा सुन्न पाइने, प्रतिभा प्रस्तुति गर्ने, उनको आत्मकथा ‘महको म’ पुस्तक बारेमा चर्चा गर्ने र सबै दर्शक बिच मनोरञ्जन हेतु गीत समेत प्रस्तुत गर्ने बताएका छन् ।

अन्तरक्रिया कार्यक्रम आगामी अगस्त ४ तारिख मेरिल्याण्डको जर्मन टाउन सहरमा हुने भएको छ । उनको आत्मकथा ‘महको म’ पुस्तक उनले ६ वर्ष लगाएर लेख्ने काम २०७४ मा पुरा गरेका हुन् ।

सीमित स्थान (सिट)रहेकोले चाँडो भन्दा चाँडो दर्ता गराउनु पर्ने छ भने अन्तरक्रिया कार्यक्रम सहित रात्रिभोजनको लागि $ ६० डलर तथा संस्थाका संरक्षक तथा आजीवन सदस्यरुलाई $ ५५ डलर दर्ता शुल्क तोकिएको आयोजकले जनाएका छन् ।

सङ्कलन भएको केही रकम क्यान्सर सोसाइटी तथा नेपालमा संस्था द्वारा सञ्चालित छात्रवृत्तिमा जाने बताइएको छ । 

प्रतिक्रिया