अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०७ | Colorodo: 22:22

विमान बङ्गलादेश एयरलाइन्समा चरम श्रम शोषणपछि अनिश्चितकालिन हडताल, नौ वर्षदेखि काम गर्नेको मासिक तलब ३५ सयमात्रै

बिआरटीनेपाल २०७५ असार २१ गते १०:३६ मा प्रकाशित

२६ वर्षदेखि काम गर्नेको मासिक तलब जम्मा ५ हजार

काठमाडौँ । विमान बङ्गलादेश एयरलाइन्सले विगत नौवर्षदेखि काम गर्दै आएका नेपाली श्रमिकलाई महिनाको जम्मा ३५ सय तलब दिन्छ भन्दा तपाईँलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविक कुरा हो । 

देवी थापा, जो विगत नौ वर्षदेखि विमान बङ्गलादेश एयरलाईन्समा काम गर्दै आएकी छिन् । उनको मासिक तलब जम्मा पैँतिस सय रुपैयाँ रहेको छ । त्यो पनि पेट्रोल खर्च भनेर थपेर दिने गरेको हो । उनको तलबकै कुरा गर्ने हो भने मासिक दुई हजार मात्रै हो । उनले भनिन्, ‘९ वर्ष भयो काम मैले गरेको । २ हजार तलब छ, पेट्रोलबाट मिलाएर भनेर जम्मा ३५ सय दिन्छ । भत्ता लगायत अरू केही छैन । दसैँमा पनि केही दिँदैन । तलब बढ्छ भन्ने आश्वासन दिन्छ तर झुलाएर राख्छ ।’

श्रमिकमाथि एयरलाईन्सले चरम श्रमशोषण गरेपछि पर्यटन श्रमिक सङ्गठन नेपाल ट्रेकिङ–ट्राभल्स–र्याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर युनियन (यूनिट्राभ)को नेतृत्वमा एयरलाईन्सको मुख्य कार्यालयमा बिहीबारबाट अनिश्चितकालिन हडताल सुरु भएपछि उक्त विषय बाहिर आएको हो ।

हडतालमा उत्रेकी थापाले भनिन्, ‘हाम्रो माग भनेको दुःख गरेअनुसार दुःखको फल मिलोस् भन्ने हो । आस गरेर कति दिन बाँच्ने । लिखित, मौखिकरुपमा पटक पटक भन्दापनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रेका हौँ ।’

उनीमात्र होइन, विगत २६ वर्षदेखि सोही एयरलाईन्समा काम गर्दै आएका गुञ्जबहादुर श्रेष्ठले महिनामा जम्मा ५ हजार तलब बुझ्छन् । उनी भन्छन्, ‘हुन्छ–हुन्छ भनेर आशा देखाउँछ । २ वर्षमै अर्को व्यक्ति परिवर्तन हुन्छ । हामी त हेरेको हेर्‍यै ।’ उनले गहभरि आँसु पार्दै भने, ‘हुन्छ क्यारे भन्ने आसमा आमाले दूध नखुवाएपछि बच्चा रुन्छ तर रोएपनि हामीले सुख पाएनौँ । २६ वर्ष बढी भयो काम गरेको तर खाना नपुगेर हडतालमा उत्रिन बाध्य भयौँ ।’

उनलाई दिनको दुई घण्टा काम गरेबापत दैनिक ज्याला २ सय रुपैयाँ दिन्छु भनेर राखेपनि व्यवस्थापनले दिनको सोह्र घण्टासम्म काम लगाउने गरेको छ । उनले दुखेसो गर्दै भने, ‘दिनहुँ २ घण्टा काम गरेबापत २ सय रुपैयाँ दिन्छु भनेर काम गरेको तर न्यूनतम १२ घण्टा देखि १६ घण्टासम्म काम लगाउँछ । कार्यालयको रेखदेख देखि कार्यालय खोल्ने, चेक साट्ने काम गर्छु । एकैचोटी ३२ लाख रुपैयाँ सम्मको चेक साट्नसमेत जान्छु तर आफ्नो व्यथा आफैँसँग छ ।’

उनलाई तलब दिँदा व्यवस्थापन पक्षले एउटा कागजमा हस्ताक्षर गराउनेमात्र गरेको उनले बताए । एयरलाइन्सको कर्मचारी हो भनेर पत्रसमेत नदिएको उनको गुनासो छ ।

उक्त एयरलाइन्समा काम गर्दै आएका कृष्ण भण्डारीले एयरलाइन्समा काम गर्दै आएका १० नेपाली श्रमिकको चरम श्रमशोषण भइरहेको बताए ।

श्रमिकहरूलाई ओभरटाईम काम लगाउने, ओभरटाईमको पैसा पनि नदिने, काम ढिला भएर राति भयो भने आफ्नै खर्चमा ट्याक्सी लिएर घर जानुपर्ने, कुनै पनि सेवा सुविधा नभएको र कर्मचारीहरूको नियुक्तिपत्र समेत नदिएको विगत ६ वर्षदेखि काम गर्दै आएका एयरलाईन्सका ट्राफिक सुपरभाईजर सुरेश खतिवडाले बताए ।

त्यस्तै श्रमिकहरूलाई कुनै पनि सार्वजनिक बिदा पनि नदिने गरेको हडतालमा उत्रिएका श्रमिकहरूले बताए ।

सरकारले दिएको न्यूनतम सेवा सुविधा र सर्तअनुसार एयरलाइन्सले काम नगरेको पाइएपछि हडतालमा उत्रन बाध्य भएको भन्दै यूनिट्राभका अध्यक्ष सुमन पराजुलीले वार्ताबाट माग पुरा नगरे एयरलाईन्सको मुख्य कार्यालयमा तालाबन्दी गरिदिने चेतावनी दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू