अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४९ | Colorodo: 19:04

नेपालको समृद्धि र विकासको लागि निजी क्षेत्रसँगको सहकार्य र साझेदारिता समृद्दीको यात्रामा सुरु देखि अन्त्य सम्म हुनुपर्ने

बिआरटीनेपाल २०७५ असार २० गते ८:५७ मा प्रकाशित

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुषराज कंडेलले नेपालको समृद्धि र विकासको लागि निजी क्षेत्रसँगको सहकार्य र साझेदारिता समृद्दीको यात्रामा सुरु देखि अन्त्य सम्म हुनुपर्ने कुरा उल्लेख गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँग भावी योजनाबारे छलफल गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

नेपालको विकासबारे निजी क्षेत्रको धारणा लिने क्रममा उहाँले भन्नुभयो, “नीतिगत, योजनागत र कार्यान्वयन लगायत सबै तहमा हुने निजी क्षेत्रसँगको सहकार्यले सार्थक परिणाम निस्कन्छ ।“

सोही क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको विकासको लागि लगानी प्रधान कुरा भएको र स्वदेशी पुँजीको उचित परिचालनको लागि स्वदेशी लगानीकर्ताको मर्म बुझ्न जरुरी रहेको कुरा बताउनुभयो ।

वैदेशिक लगानी मात्रै भनेर हिडीरहदा स्वदेशी लगानीकर्ताहरू निरुत्साहित भएको अवस्थामा अन्तर–मन्त्रालय सहकार्यको जटिल ’मोड्यालिटी’को मारमा निजी क्षेत्र परिरहेको कुरा समेत उहाँले उल्लेख गर्नुभयो । अन्तर–मन्त्रालय सम्बन्धी ऐन–कानुनहरू व्यवसायी–मैत्री हुनुपर्ने र यसो हुँदा मात्र समृद्धिको गति तीव्र बन्ने उहाँको धारणा थियो ।

नेपालको समृद्धि र विकासको लागि योजना आयोग बन्ने तर बनेका योजनाहरू कार्यान्वयन भए–नभएको अनुगमन गर्न अर्को योजना आयोग बन्नुपर्ने अवस्था आउन दिन नहुने कुरामा समेत उहाँले विशेष जोड दिनुभयो ।

उक्त छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष द्वय नरेश श्रेष्ठ र महेन्द्रमान श्रेष्ठ, कार्यसमिति सदस्यहरू रण बहादुर श्रेष्ठ, डा. अनजान शाक्य, भिमलाल पौडेल, दीपक श्रेष्ठ लगायत नेपाल चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजिमयको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू