अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२९ | Colorodo: 20:44

रेड क्रसको आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय

बिआरटीनेपाल २०७५ असार १९ गते ८:४३ मा प्रकाशित

मनसुन सक्रियभएसँगै वर्षा बढी भएकाले बाढी पहिरोको जोखिमसमेत बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटीले आजदेखि आपत्कालीन कार्यसञ्चालन केन्द्र (ERO) लाई सक्रिय बनाएको छ । नेरेसोले बाढी, पहिरो प्रभावितहरूलाई आपत्कालीन आवास, स्वास्थ्य सहयोग र सरसफाइको क्षेत्रमा सहयोग गर्ने गरी सो केन्द्रले काम गर्ने छ । 

नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष देवेन्द्र बहादुर प्रधानले आपत्कालीन केन्द्रको पहिलो बैठकलाई आज सम्बोधन गर्दै भन्नुभयो: रेडक्रसको संस्थागत प्रणाली अनुरूप नै हामी अत्यावश्यक मानवीय सेवाको लागि तयारी गरिसकेका छौँ ।

योजना अनुसार सातवटै प्रदेशबाट दैनिक अवस्थाको प्रतिवेदन लिने, तत्काल अवस्था जाँच गर्ने र आवश्यक मानवीय सहयोग पुर्‍याउन राहत सामग्री सहित स्वयंसेवक परिचालन हुने व्यवस्था सो केन्द्रले गर्ने छ । आवास, स्वास्थ्य, सरसफाइ प्राथमिक उपचार, बन्दोबस्त, स्वयंसेवक परिचालन, दैनिक अपडेट, सूचना तथा सञ्चार, अन्तर्राष्टिय सहयोग, समन्वय, अनुगमन जस्ता विभिन्न १९ वटा कार्यसमूह आजैदेखि सक्रिय भएका हुन् ।

नेरेसोले बाढी, पहिरो प्रभावित परिवारलाई तत्काल सहयोग पुर्‍याउन १० हजार सेट सामग्री विभिन्न गोदामघरहरुमा तयारी अवस्थामा राखेको छ । त्यस्तै आपत्कालीन आवासको लागि ६ सय सेट सामग्री जोहो गरेको छ ।

यसै क्रममा नेपाल रेडक्रसले २१ हजार परिवारको लागि सहयोग गर्ने गरी आपत्कालीन योजना सार्वजनिक गरेको छ । नेपाल रेडक्रसका कामु कार्यकारी निर्देशक इन्द्र बहादुर केसीले भन्नुभयो: १० हजार परिवारको लागि आफ्नै स्रोतबाट र बाँकी ११ हजार परिवारको लागि रेडक्रस अभियान लगायत सहयोगी संस्थाहरूको सहयोग जुटाइने छ ।

बाढी, पहिरो तथा महामारी जस्ता समस्याबाट हुन सक्ने क्षतिलाई न्यूनिकरण र तत्काल सहयोगको लागि नेपाल रेडक्रस सोसाइटीले सबै जिल्ला शाखाहरूलाई पनि तयारी अवस्थामा रहन अनुरोध गरिसकेको छ ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण झापा जिल्लामा केही बस्तीहरू डुबानमा परेको र अवस्थालाई सम्बोधन गर्न विभिन्न क्षेत्रमा स्वयंसेवकहरूलाई कार्यविभाजन गरी सचेत अवस्थामा राखिएको नेरेसो झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

सिराहा रेडक्रसका सभापति राजदेव यादवले जिल्लाको प्रतिकार्य योजना निर्माण गरिएको र सबै सरोकारवाला निकायले समन्वयमा काम गरिरहेको जानकारी दिनुभयो । तत्काल सहयोगको आवश्यकता परेमा वा यसबारे जानकारी लिन परेमा निःशुल्क टेलिफोन ११३० मा फोन गर्न सकिने व्यवस्था पनि मिलाइएको नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू