अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४९ | Colorodo: 21:04

विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानद्वारा कृष्ण धरावासी सम्मानित

बिआरटीनेपाल २०७५ असार १८ गते २१:५६ मा प्रकाशित

काठमाडौँ, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानले आदिकवि भानुभक्त आचार्यको २०५ औँ जन्मजयन्तीको अवसरमा स्रष्टा सम्मान, कृति लोकार्पण र कविता वाचन जस्ता महत्त्वपूर्ण कार्यहरू राजधानी स्थित घट्टेकुलो विकास समाजको हलमा भव्यताका साथ सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई अध्यक्ष एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा विशेष अतिथिको रूपमा पूर्व राजदूत प्रल्हादकुमार प्रसाई, प्रा. डा. पारसमणि भण्डारी, प्राज्ञ डा. उषा ठाकुर, प्रा. डा. गाग्री शर्मा,वरिष्ठ सल्लाहकार लक्ष्मीप्रसाद प्रसाई, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंशी को उपस्थिति थियो ।

सयौँको सङ्ख्यामा सर्जक/समाज अनि राष्ट्रका उपलब्ध प्रतिष्ठित व्यक्तिहरू/साहित्यप्रेमीहरूले खचाखच भरिएको हलमा ४ घण्टा सम्म कार्यक्रम अविछिन्न रूपमा चलेको थियो । त्यसै गरी प्रतिष्ठानले साहित्य जगतका उज्वल नक्षत्रहरू क्रमशः: कृष्ण धराबासी, गोविन्द गिरी प्रेरणा, सुवासचन्द्र ढुङ्गेल, भवानी क्षेत्री, खेम नेपाली, ईल्या भट्टराई, रामकृष्ण आचार्य एवम् गोधुली साहित्य प्रतिष्ठानलाई सम्मान गरेको छ।

उक्त समारोहमा लक्ष्मी उप्रेती र गोपीकृष्ण प्रसाई द्वारा सम्पादित कृति “समय सन्दर्भमा नारी कथा” को पनि प्रमुख अतिथि र विशेष अतिथिहरूले लोकार्पण गरेका थिए । अध्यक्ष प्रसाईले उपस्थित सम्पूर्ण साहित्य अनुरागीहरूलाई स्वागत गर्दै आदिकविको जीवनी, विराट व्यक्तित्व, कृतित्व र योगदानका बारेमा बोलेका थिए भने वरिष्ठ उपाध्यक्ष लक्ष्मी उप्रेतीले सम्मानित सर्जक र संस्थाको परिचय दिँदै आफ्नो संक्षिप्त मन्तव्य राखेकी थिइन।

प्रा.डा. पारसमणि भण्डारीले लोकार्पित कृतिको बारेमा आफ्ना महत्त्वपूर्ण अवधारणाहरू पेस गरेका थिए।यसै गरी सम्मानित स्रष्टाहरूको तर्फबाट कृष्ण धराबासी र खेम नेपालीले आफ्ना भनाइहरू राखेका थिए । धराबासीले अनेपाली भाषीहरू माझ नेपाली साहित्यलाई पुर्‍याई नेपाली भाषाको अन्तराष्ट्रियकरण गर्नु पर्ने कुरामा जोड दिए। गोविन्द गिरी प्रेणा,सुवासचन्द्र ढुङ्गेल र भवानी क्षेत्रीले पनि आ-आफ्ना रचनाहरू वाचन गरे।प्रमुख अतिथि उप्रेतीले विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानको रचनात्मक कार्यको तारिफ गर्दै वांगमय उत्थानमा सबैले निस्स्वार्थ रूपमा लाग्नु पर्नेमा जोड दिएका थिए उनले यस कार्यको लागि प्रज्ञा प्रतिष्ठानको सदैव सहयोग र सद्भाव रहने कुरा पनि स्पष्ट पारे । 

कार्यक्रममा ८७ वर्षीय गायिका आदरणीय मनमाया सिटौलाको सङ्गिनी गीतले सबैको मन जित्यो । त्यसै गरी कोपिला सिवाकोटीले आफ्नो सुन्दर गीत प्रस्तुत गरिन । रचना वाचन गर्ने सर्जकहरू क्रमशः:आस्मिता भण्डारी, राधिका दाहाल, प्रकाश समीर, ब्रम्हप्रिय,महेश रिजाल, रुद्र अधिकारी, प्रकाश सुवेदी, निर्मल पराजुली, उर्मिला पन्त, अक्षता अधिकारी लगायतका थिए भने प्रमुख अतिथि, अतिथि कवि एवम् अन्य विशिष्ट सहयोगीहरूलाई संस्थाले मायाको चिनो प्रदान गरेको थियो।उपाध्यक्ष तेजेन्द्र प्रसाईले उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम सफल पार्न सबैको सुन्दर भूमिका रहेको भनाई राख्दै कविता वाचन गरेर सम्पूर्ण कार्यक्रमको बिट मारे । दुई चरणमा बाँडिएको उक्त कार्यक्रमको सञ्चालन पहिलो चरणमा वरिष्ठ सदस्य अस्मिता भण्डारी र दोस्रो चरणमा महासचिव पुकार तिमिल्सिनाले गरेका थिए।कार्यक्रम व्यवस्थापनको लागि सल्लाहकार किशोर उप्रेतीले महत्त्वपूर्ण भूमिका निभाएका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू