अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१२ | Colorodo: 04:27

सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाट नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण

बिआरटीनेपाल २०७५ असार १७ गते २०:०९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशनालय विराटनगरको निरीक्षण भ्रमण गरी विभिन्न निर्देशन दिनुभएको छ । हिजो (असार १६ गते) सम्पन्न सो निरीक्षण भ्रमणको अवसरमा बोल्दै मन्त्री बास्कोटाले, ‘सुखी र समृद्ध नेपाल बनाउने सरकारको सङ्कल्पमा नेपाल टेलिकमले आफ्नो क्षेत्रबाट योगदान गर्नु पर्छ र गुणस्तर, राजस्व र प्रतिष्ठामा नेपाल टेलिकम सधैँ एक नम्बरमै भइरहनु पर्छ’ भन्नु भयो । उहाँले ‘स्मार्ट नेपाल’ बनाउन नेपाल टेलिकम पनि ‘स्मार्ट’ हुनु पर्ने बताउँदै यसबाट डिजिटल नेपाल बनाउने सरकारको चाहनासमेत पूरा गर्न सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘नेपाल टेलिकमले पूर्वाधारको विकासमा जोड दिँदै जनताको घर घरमा सेवा पु¥याउने तथा बजारमा आफ्नो प्रभुत्व जमाउने किसिमको योजना बनाउनु पर्छ र यसका लागि आवश्यक नीति, योजना र कार्यक्रम निर्माणमा आगामी दिनमा मन्त्रालयको संलग्नता रहिरहने छ ।’
कम्पनीमा क्रियाशील युनियनहरूको ज्ञान, सीप र क्षमता सहकर्मीहरूको हितमा मात्र नभई संस्थाको हितमा पनि उपयोग गर्नु पर्ने कुरामा मन्त्री बास्कोटाले जोड दिनुभयो । उहाँले अधिकार खोज्ने मात्र नभई, कर्तव्यको पनि पालना गर्नु पर्ने कुरा युनियनहरूलाई स्मरण गराउँदै राजनीति गर्नका लागि मात्र युनियनलाई प्रयोग नगर्न आग्रह गर्नुभयो ।

सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले विभागीय मन्त्रीबाट भएको निर्देशन कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रविधिको द्रुत परिवर्तन, ग्राहकको बढ्दो चाहना र प्रतिस्पर्धात्मक बजार जस्ता कम्पनीका वर्तमान चुनौतीको सामना गर्न सम्पूर्ण कर्मचारीहरूलाई इमान्दारीताका साथ आफ्नो कर्तव्य पालनामा क्रियाशील हुन आग्रह गर्नुभयो ।

उहाँले कम्पनीका ग्राहकहरूको सन्तुष्टिलाई प्राथमिकता दिने, सेवाको मर्मत सम्भारलाई अझ छिटो छरितो पार्ने र कम्तीमा १० प्रतिशत ग्राहक सङ्ख्या र कम्तीमा १० प्रतिशत राजस्व वृद्धि गर्ने कम्पनीको उद्देश्य परिपूर्ति गर्न अनुशासित र एकजुट भई आ–आफ्नो क्षेत्रबाट कार्य गर्न सम्पूर्ण कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रको वर्तमान स्थिति, कार्यक्रम र गतिविधि बारेमा जानकारी गराउनु भएको थियो ।

पूर्वाञ्चल क्षेत्रको निरीक्षण भ्रमणको सिलसिलामा सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले असार १४ गते झापा जिल्लाको खुदुनावारीमा जडान गरिएको एम सान एक्सचेन्ज ९ःक्ब्ल् भ्हअजबलनभ० उद्घाटन गर्नुभयो । सो एक्सचेन्जमार्फत तत्काल एडीएसएल सेवा सहितको १ सय ४४ लाइन टेलिफोन वितरण गर्न सकिने छ ।

माननीय मन्त्री गोकुल प्रसाद बास्कोटाले स्थानीय ‘रेडियो भिजन बिर्तामोड’ का सञ्चारकर्मीसँग कुरा गरी सो एक्सचेन्जको उद्घाटन गर्नुभएको थियो

माननीय मन्त्री बास्कोटाले नागरिकको अधिकारको रूपमा रहेको सञ्चार सेवालाई नेपाल टेलिकमले सहरदेखि दुर्गम क्षेत्रका घर घरमा समेत पु¥याउनु पर्ने बताउँदै मोबाइल सेवासँग मानिसको जीवन्त सम्बन्ध भएकाले कुनै पनि नागरिक यो सेवा प्राप्त गर्नबाट वञ्चित हुनुहुँदैन भन्नु भयो ।
उक्त अवसरमा झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले सर्भे भइसकेका क्षेत्रमा बीटीएस टावर निर्माण गर्न र सर्भे नभएका स्थानमा सर्भे गरी भरपर्दो दूरसञ्चार सेवा उपलब्ध गराउन आग्रह गर्नुभयो ।

सो अवसरमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाली जनताको धरोहरको रूपमा रहेको नेपाल टेलिकमले विगतमा जस्तै भविष्यमा पनि नेपालीको घरदैलोसम्म गुणस्तरीय एवं सुलभ दूरसञ्चार सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गर्दै कम्पनीले भविष्यमा पूर्वाञ्चल क्षेत्रमा ७ सय ५ वटा फोरजीका टावर सञ्चालनमा ल्याउने र त्यसबाट कुल १२ लाख ६० हजार ३ सय ५ लाइन क्षमता र हाल सम्मकै उच्च गतिको इन्टरनेट तथा भ्वाइस सेवा उपलब्ध हुने जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार रानाले पनि ल्यान्डलाइन टेलिफोन सेवा मोबाइल सेवा भन्दा बढी भरपर्दो हुने भएकोले ल्यान्डलाइन सेवालाई थप विस्तार गरिदिन आग्रह गर्नुभयो ।

सो अवसरमा पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक अमरनाथ झाले अतिथिहरूको स्वागत गर्दै एक्सचेन्जको बारेमा जानकारी दिनुभएको थियो । उक्त अवसरमा निःशुल्क सिम वितरण गरिएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री माननीय गोकुल प्रसाद बास्कोटाले पूर्वाञ्चाल क्षेत्र अन्तर्गतका दूरसञ्चार कार्यालय बिर्तामोड, इटहरी र धरानको पनि निरीक्षण भ्रमण गर्नुभएको थियो ।

सो भ्रमणको क्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव प्रणवराज न्यौपाने, कम्पनीका प्रमुख वित्तीय अधिकृत सूर्यभक्त पोखरेल, प्रबन्धक देवेन्द्र खतिवडा, प्रबन्धक रामनरेश कुँवर र उप–प्रबन्धकहरू अनन्त प्रकाश मल्लिक र प्रेम प्रसाद सिलवाल लगायत सो क्षेत्रका कार्यालय प्रमुखहरू एवं अन्य वरिष्ठ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू