अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:३३ | Colorodo: 14:48

नेविसंघद्वारा दाङमा ३ सरकारी गाडीमा तोडफोड

बिआरटीनेपाल २०७५ असार १७ गते ११:२९ मा प्रकाशित

दाङ, नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले आइतबार दाङको तुलसीपुरमा तीन वटा सरकारी गाडीमाथि तोडफोड गरेको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार नेविसंघका कार्यकर्ताले तुलसीपुरमा तीनवटा सरकारी गाडीमा तोडफोड गरेका छन् । अदुवाबाली अनुसन्धान केन्द्र सल्यानको बा २ झ ३०७० र जिल्ला प्राविधिक कार्यालय रुकुमको बा १ झ ८४२२ नम्बरको गाडीको सिसा तोडफोड प्रहरीले जनाएको छ ।

अदुवाबाली अनुसन्धान केन्द्र सल्यानको गाडी चालक कपुरकोट निवासी मुकुन्द केसीलाई समेत पाखुरामा चोट लागेको छ । नेविसंघका कार्यकर्ताले आन्तरिक राजस्व कार्यालय तुलसीपुरको एउटा मोटरसाइकल पनि तोडफोड गरेका छन् ।

यसैबिच गाडीमा तोडफोड गरेको आरोपमा एक जना नेविसंघका युवालाई पक्राउ गरिएको छ । दंगिशरण गाउँपालिका वडा नं. ७ निवासी प्रकाश चौधरीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

नेविसंघ क्षेत्र नं. ४ का क्षेत्रीय सभापति एकराज खड्काले आफूहरूको पूर्व घोषित केन्द्रीय कार्यक्रम अनुरूप बन्द अवज्ञा गरेको हुँदा सरकारी गाडी तोडफोड गर्नु परेको बताएका छन् ।

फोटो: सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू