अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:२० | Colorodo: 22:35

काभ्रेको अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरी

बिआरटीनेपाल २०७५ असार १७ गते ९:४७ मा प्रकाशित

काठमाडौँ । काभ्रेको नमोबुद्ध नगरपालिका–१ मथुरापाटीस्थित अर्गानिक हिमालय होटलद्धारा बिजुली चोरेको फेला परेको छ । सुरक्षाकर्मीसहित आइतबार खटिएको नेपाल विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रको टोलीले होटेलले प्राधिकरणको वितरण प्रणालीबाट डाइरेक्ट हुकिङ गरी बिजुली प्रयोग गरेको फेला पारेको हो । टोलीले होटेलको सुरक्षागार्ड र त्यहाँ प्रयोगमा रहेका विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ ।

वितरण केन्द्र प्रमुख रविन्द्रकुमार यादवकाअनुसार होटेलले २०६४ सालमा गार्हस्र्थतर्फका ग्राहकले प्रयोग गर्ने सिंगल फौजको मिटर जडान गरेको थियो । तर, कम क्षमताको लोड लिएर चोरीमार्फत धेरै विद्युत् खपत गर्ने विद्युतीय उपकरण प्रयोग गरिरहेको टोलीले फेला पारेको हो ।

‘मिटर जडान गरेपछि अहिलेसम्म १३ हजार युनिट मात्रै बिजुली प्रयोग गरेको देखिन्छ, जुन ज्यादै अस्वाभाविक छ’,उनले भने, ‘त्यहाँ रहेको विद्युतीय उपकरण हेर्दा महिनामै १३ हजार युनिट खर्च हुन्छ,बिजुली चोरी गरेर प्रयोग गरिरहेको पत्ता लगाएका छौँ।’उनले सोमबार विस्तृत मूल्याङकनपछि जरिवाना सहितको महसुल निर्धारण हुने जानकारी दिए । यसअघि काभ्रेमै विद्युत् चोरी गर्ने वडाध्यक्ष पक्राउ परेका थिए । उनी जरिवानासहितको महसुल तिरेर रिहा भएका थिए ।

गृह मन्त्री रामबगहादुर थापा, ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल लगायतको केही अघिको बैठकले विद्युत् चोरी नियन्त्रणलाई परिणाममूखीरुपमा कार्यान्वयनमा ल्याउने निर्णय गरेको थियो । यही आधारमा प्रत्येक जिल्ला प्रशासन कार्यालय र प्राधिकरणका शाखा कार्यालयले समन्वय गरी संयुक्तरुपमा चुहावट नियन्त्रणको कार्यायोजना बनाएर काम गरिरहेका छन् । प्राधिकरणले विद्युत् चोरी नगर्न तथा मिटर जडान गर्न आग्रह गर्दै माईकिङ गर्ने, प्रशासनको सहयोगमा हुकिङ हुने क्षेत्रमा अप्रेसन सञ्चालन गर्ने लगायतका काम अभियानकैरुपमा मुलुकभरि सञ्चालन गरिरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू