अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

वाराणसी उडान सुरु : भ्रमण बर्ष सन् २०२० लाई टेवा पुग्ने उड्डयनमन्त्री रबिन्द्र अधिकारीको विश्वास

बिआरटीनेपाल २०७५ असार १५ गते ९:२५ मा प्रकाशित

बुद्ध एयरले आजबाट काठमाडौँ वाराणसी उडानलाई सोमबार र शुक्रवार गरी साताको २ उडान भर्ने भएको छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले वाराणसी उडानका बारेमा जानकारी दिए । कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले बुद्ध एयरलाई  वाराणसी उडान सुरु गरेकोमा बधाई तथा शुभकामना व्यक्त गरे । उनले क्षेत्रीय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडानले नेपालको पर्यटनलाई बढवा दिने विश्वास व्यक्त गरे ।
मन्त्री अधिकारीले नेपालले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने सरकारको तयारीलाई उडान कनेक्टिभिटीले थप बल पुग्ने विश्वास गरे ।

मन्त्री अधिकारी तथा बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्र बहादुर बस्नेतले वाराणसी उडानका सम्पूर्ण यात्रुहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वागत तथा बिदाइ गरे । काठमाडौँ वाराणसी सातामा दुई उडान सुरु भएसँगै पर्यटकीय तथा धार्मिक यात्रामा जाने तीर्थालुहरुलाई उनीहरूले बिदाइ गरेका हुन् ।

नेपालबाट वाराणसी यात्रामा गएका यात्रुहरूलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ लगायतले स्वागत गर्ने कार्यक्रम रहेको छ । प्राचीन सहर र सभ्यतासँग जोडिएका सहरहरू हुन् काठमाडौँ र वाराणसी । धार्मिक आस्थाका हिसाबले पनि काठमाडौँ र वाराणसीको स्थान निकै उच्च रहेको छ । यी दुवै सहर युनेस्को हेरिटेजले सम्मानित तथा संरक्षित संरचनाहरूले भरिएका छन् ।

दुवै सहरलाई बुद्ध एयरको उडानले सिधा सम्बन्ध स्थापित गरेको छ । उसले यी दुवै सहरका लागि विभिन्न धार्मिक तथा पर्यटकीय होलिडे प्याकेजहरू पनि सञ्चालनमा ल्याएको छ । वाराणसीको लागि क्लासिक काशी, बुद्ध ट्रेल जसमा सारनाथ, बोधगया तथा वरपरका अयोध्या, ईलाहावाद, प्रयोग स्नान इत्यादि रहेको छ । यी प्याकेजहरू ३ रात ४ दिन तथा ४ रात ५ दिनका हुनेछन् भने आवश्यकता अनुसार यसलाई बढाउन पनि सकिन्छ ।

यसै गरी भारतीय तिर्थालु तथा यात्रुहरूको लागि विभिन्न धार्मिक तथा होलिडे प्याकेजहरू पनि रहेको कम्पनीले जनाएको छ । जसमा पशुपतिनाथ, मुक्तिनाथ, जानकी दर्शन रहेको छ । युवा वर्गलाई लक्षित गरी हिमालयज ट्रेल, ट्रेकिङ, जङ्गल सफारी इत्यादि पनि सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।

यस उडानबाट तेस्रो मुलुकका पर्यटकहरूलाई पनि नेपाल भित्र्याउन सकिने र  सन् २०२० लाई सरकारको भ्रमण वर्ष मनाउने तयारीलाई थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ । काठमाडौँ वाराणसी काठमाण्डौंको उडान अवधि जम्माजम्मी ५० मिनेटको हुनेछ ।

बुद्ध एयरले अहिले प्रवर्धनात्मक दोहोरो भाडा दर नेपालबाट वाराणसी  टिकट रु. १४००० र क्लासिक काशी दर्शनको होलिडे प्याकेज शुल्क २५००० तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू