अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 23:34

प्रहरीको संघीय रुपान्तरण प्राथमिकतामा : महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७५ असार १४ गते ९:५५ मा प्रकाशित

काठमाडौँ।प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा र अपराधको रोकथाम प्रहरीको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रहरीको संघीय रुपान्तरण र गृह प्रशासन सुधार कार्ययोजनालाई प्रहरीले प्रमुख प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो ।

गृह मन्त्रालयले जारी गरेको गृह प्रशासन सुधार कार्ययोजनालाई प्राथमिकतामा राखेर प्रहरीले काम गरिरहेको छ”, उहाँले भन्नुभयो ।

महानिरीक्षक खनालले आफू महानिरीक्षक बनेपछि नक्कली नोट कारोवारी, बाल यौन दुराचार गर्ने विदेशी नागरिक र इन्टरपोलमार्फत नोटिस जारी गरी विभिन्न व्यक्ति पक्राउ, मानव बेचबिखनकर्तालाई नियन्त्रण, लागुऔषध कारोवारीलाई पक्राउ लगायत उल्लेख्य काम गरेको बताउनुभयो । “लामो समयदेखि नेपाल प्रहरीमा रोकिएको सरुवा बढुवा कार्यलाई अगाडि बढाइएको छ, प्रहरीमा नयाँ दरबन्दी थप गरिएको छ”, उहाँले भन्नुभयो ।

उहाँले दुई महिनामा ५४ थान अवैध हतियार बरामद, ८५ थान गोली बरामद, घरमा राखिएका पाँच हतियार र ३४३ गोली नियन्त्रण, लागुऔषध कारोवारमा संलग्न ६३५ पक्राउ, यातायात एकाधिकारको अन्त्य गरिएको जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले साढे ३३ किलो सुन तस्करी र सनम शाक्यको हत्यामा संलग्न रहेको विषयमा मन्त्रिपरिषद्बाट गठन भएको छानवीन समितिलाई प्रहरीका तर्फबाट गर्नुपर्ने सहयोग गरिएको उल्लेख गर्नुभयो । सो घटनामा हाल मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा परेको छ ।

भर्खरै संयुक्त राष्ट्र संघमा सम्पन्न संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको दोस्रो सम्मेलनमा सहभागिता र सोही अवसरमा युएन मिसनमा नेपाल प्रहरीको सहभागिता अभिवृद्धि, दुई मित्र मुलुकसँग प्रहरी सहकार्य अभिवृद्धि, महिला प्रहरी कर्मचारीको सहभागितामा जोड र प्रहरी कर्मचारीको व्यावसायिकताको अभिवृद्धिका विषयमा विशेष छलफल भएको उहाँले जानकारी दिनुभयो ।

महानिरीक्षक खनालले नेपालको ऐन कानूनले दिएको अधिकार तथा नेपाल सरकारको निर्णय कार्यान्वयन गर्दै प्रहरी अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

आफ्नो दायित्वप्रति नेपाल प्रहरी पूर्ण सजग रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “नेपाल प्रहरी उत्कृष्ट अनुसन्धान र चुस्त प्रशासनिक कार्यमा सदैव उन्मुख रहनेछ ।” संगठनलाई चुस्त र गतिशील बनाउने रचनात्मक सुझावको सदैव स्वागत गरेर अगाडि बढ्ने उहाँको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू