अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५० | Colorodo: 14:05

नेपालको पूर्वाधार विकास तथा सार्वजनिक र निजी क्षेत्रको क्षमता विकासमा सहयोग गर्न अर्थमन्त्रीको आग्रह

बिआरटीनेपाल २०७५ असार १३ गते १०:१८ मा प्रकाशित

अर्थमन्त्री डा. युवराज खतिवडा बोर्ड अफ गभर्नरका तर्फबाट एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी)को वार्षिक बैठकमा सहभागी भई सम्बोधन गरेका छन् ।

भारतको आर्थिक राजधानी मुम्बईमा मंगलबार सम्पन्न बोर्ड अफ गभर्नस्हरुको वार्षिक बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको पूर्वाधार विकास तथा सार्वजनिक र निजी क्षेत्रको क्षमता विकासमा सहयोग खोजेका छन् । चिनियाँ नेतृत्वमा स्थापना भएको एआइआइबीमा नेपाल संस्थापक सदस्य राष्ट्र हो । नेपालले एआइआइबीसमक्ष केही परियोजनाहरुमा लगानीका लागि प्रस्ताव गरेको छ ।

टोखा (काठमाडौं)–नुवाकोट छहरे सडक खण्ड, तराईका जिल्लाहरुमा सहरी पूर्वाधार विकास, शारदा बबई जलविद्युत् परियोजना, जलविद्युत् वितरण स्तरोन्नति लगायतका परियोजनामा लगानीका लागि प्रस्ताव गरेकोमा तराईका सहरहरुमा पूर्वाधार विकास छनौटमा परेको छ । त्यस्तै, पावर ग्रीड स्तरोन्नतिका लागि १० लाख डलर सहयोग दिएको छ । परियोजना तयारीका लागि १० लाख डलर प्रदान गरेको हो । त्यस्तै गत वर्ष तराईका जिल्लाहरुमा पूर्वाधार विकास सम्बन्धि परियोजना तयारीका लागि १० लाख डलर प्रदान गरेको थियो ।

एआइआइबीको बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले नेपालले तीव्र आर्थिक विकासका लागि पूर्वाधारमा लगानी बढाउन आवश्यक रहेको बताए । दीगो विकास हासिल गर्नका लागि नेपालले सन् २०३० सम्म पूर्वाधारमा कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत लगानी गर्दै जानुपर्ने बताए । उनले आगामी १० वर्षमा नेपालले २००० किमी रेलमार्ग, १५००० मेगावाट जलविद्युत्, ७० हजार किमी सडक निर्माण गर्ने लक्ष्य राखेको बताए । अन्तर्राष्ट्रिय विमानस्थल, होटल, पर्यटन पूर्वाधार विकास गरी सन् २०२७ सम्म ५० लाख पर्यटक भित्र्याउने लक्ष्य रहेको बताए ।

नवीकरणीय उर्जा पहुँच तीनवर्षभित्र विस्तार गरी सहस्राब्दी विकास लक्ष्य अन्तर्गत पूरा नभएका लक्ष्य हासिल गरिने तथा सन् २०२२ भित्र नेपाललाई कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति गरिने बताए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू