अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१९ | Colorodo: 15:34

मुम्बईमा गायक सोनु निगमद्वारा वसन्त चौधरीको पुस्तक लोकार्पण

बिआरटीनेपाल २०७५ असार १२ गते २३:०० मा प्रकाशित

मुम्बई, प्रसिद्ध कवि एवं गीतकार वसन्त चौधरीको नयाँ काव्य कृति ‘चाहतो के साये मे’ मुम्बईमा लोकार्पण गरिएको । बलिउडका लोकप्रिय गायक सोनु निगम तथा प्रसिद्ध गीतकार समीरले मुम्बईको जुहुस्थित जे. डब्लु मेरोइटमा आयोजित एक साङ्गीतिक कार्यक्रमका बिच पुस्तकलाई लोकार्पण गरेका हुन् ।चौधरीको यो पाँचौँ कविता सङ्ग्रह हो जसमा अत्यन्तै सुरुचीपूर्ण तवरले प्रेमका विविध आयामहरूलाई सरलतापूर्वक बुझाउने प्रयत्न गरिएको छ । ‘चाहतो के साये मे’मा प्रेममा आधारित भएर हिन्दी तथा उर्दू मिश्रित भाषामा लेखिएका सयौँ कविता, नज्म तथा गजलहरूलाई समेटिएको छ । पुस्तकलाई सुन्जोय शेखरले अङ्ग्रेजीमा समेत अनुवाद गरेका छन् ।

पुस्तक लोकार्पण कार्यक्रमको सुरुवात ‘प्रेमका विविध अयाम’ विषयक अन्तक्र्रियाबाट गरिएको थियो । हिन्दी कविताका प्रखर व्यक्तित्व प्रसिद्ध गीतकार द्वय हसन कमाल र समीरको उपस्थितिले कार्यक्रमको रौनकता बढाएको थियो । हिन्दी साहित्य तथा काव्य जगतका प्रसिद्ध व्यक्तित्वहरू क्रमशः सागर त्रिपाटी, शाहिद हम्दाने, डेनिश जाबेद आदिको उपस्थितिले कार्यक्रमको महिमा बढाएको थियो । प्रसिद्ध गजल गायिका पिनाज मसानि र सञ्चार हस्ती मार्कण्ड अधिकारी समेत समारोहमा उपस्थित थिए ।

त्यसमाथि गायक सोनु निगमले शीर्ष कवितालाई साङ्गीतिक धुनमा सजाउँदा उपस्थित दर्शक मन्त्रमुग्ध बनेका थिए ।

टाइम्स म्युजिक प्रकाशनले गरेको ‘चाहतो के साये मे’बोलको शीर्ष गीतलाई बलिउडका चर्चित सङ्गीतकार रिन्को सुशान्त–शंकरले कम्पोज गरेका हुन् । उक्त गीतको म्युजिक भिडियोलाई प्रथमेश पाटिलले निर्देशन गरेका छन् । जसमा विश्वास किनी र सुलेनको अभिनय रहेको छ ।

“चाहतो के साये मे प्रेमलाई अत्यन्तै सूक्ष्म दृष्टिकोणबाट बुझ्ने मेरो एउटा यात्रा हो । मेरो यो यात्रामा धेरै व्यक्तित्वहरूको साथ रहेको छ जसमध्ये केही विशेष व्यक्तित्वहरू आज यहाँ उपस्थित हुनुहुन्छ”, कार्यक्रममा कवि चौधरीले भने, “मधुर स्वरका धनी सोनु निगमले आज मलाई मो. रफी साहवको त्यो सुनौलो साङ्गीतिक युगको सम्झना गराउनुभयो र उहाँको स्वरमा पुस्तकको शीर्ष गीत सुन्न पाउँदा हामी निकै हर्षित छौँ ।”

सुप्रशिद्ध गायक एवं कार्यक्रमका प्रमुख अतिथि सोनु निगमले भने, “धेरै लामो समय पछि मैले अत्यन्तै सुन्दर रचना गाउने अवसर पाएँ । पहिलो पटक सुन्नेवित्तिकै यसले मेरो मन छोयो । नेपालका लोकप्रिय कवि, लेखक एवं समाजसेवी वसन्त चौधरीजीले अत्यन्तै मन छुने गीत लेख्नुभएको छ, त्यसमा सङ्गीत पनि उत्तिकै राम्रो छ र छायाङ्कन पनि अत्यन्तै सुन्दर तवरले गरिएको छ ।”

अन्त्यमा बलिउडका लोकप्रिय गीतकार समीरले भने, “कविजीले मेरा गीत असाध्यै मनपर्छ भन्नुभयो, तर आज मैले उहाँका यति सुन्दर रचनाहरू सुन्ने दुर्लभ अवसर पाएँ । पुस्तकका केही कविताहरू पढ्दा मैले भन्नै पर्छ, बसन्तजीको सिर्जनात्मक अनुराग सीमाहरू पार गरेर अगाडि बढेका छन् र यसले हामीलाई गर्वको अनुभूति भएको छ ।”

वसन्त चौधरीको बारेमा
वसन्त चौधरी एक प्रखर कवि तथा गीतकार हुन् जसले धेरैजसो हिन्दी र नेपाली भाषामा कलम चलाउने गरेका छन् । उनले ‘सागर’को नामबाट गजल लेख्ने गरेका छन् । सन् १९९९ मा प्रकाशित पहिलो साङ्गीतिक एल्बम ‘माया बल्झेछ’बाट उनी सिर्जनात्मक क्षेत्रमा प्रवेश गरेका हुन् ।

उनको पहिलो कविता सङ्ग्रह ‘मेघा’ (हिन्दी र ई–बुकमा पनि उपलब्ध) सन् २०१२ मा प्रकाशित भएको थियो । यसै गरी सन् २०१४ मा ‘मेरा कविताहरू’, सन् २०१५ मा ‘आशुओ के स्याही से’ र सन् २०१७ मा ‘वसन्त’ (अङ्ग्रेजी, हिन्दी, नेपालीसहित अन्य चार भाषामा) प्रकाशित भइसकेका छन् । यसका साथै उनले विशेषगरी नेपाली साङ्गीतिक क्षेत्रमा वसन्तको नामबाट आठभन्दा बढी गीति एल्बम तथा भिडियो श्रोता तथा दर्शकसमक्ष पस्किसकेका छन् ।

उनको पछिल्लो कृति ‘चाहतो के साये मे’ टाइम्स म्युजिकको सहकार्यमा टाइम्स ग्रुप बुक्सले प्रकाशन गरेको हो । उक्त पुस्तक नेपाल तथा भारतका पुस्तक पसलहरूमा पाइनुका साथै एमेजन, फ्लीपकार्ट र इन्फीबीम आदि जस्ता अनलाइन स्टोरहरूमा समेत उपलब्ध छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू