अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०९ | Colorodo: 07:24

सियाटलमा नेपाली भाषा कक्षामा १३३ जना विद्यार्थी

बिआरटीनेपाल २०७५ असार ११ गते २०:०४ मा प्रकाशित

अमेरिकामा नेपाली भाषा संस्कृति जगेर्ना गर्न नेपाल सियाटल सोसाइटी सक्रिय रूपमा लागिरहेको छ । नौ वर्ष देखि सोसाइटीको पहलमा नेपाली भाषा कक्षा सञ्चालन भइरहेको छ । नेपाली सियाटल सोसाइटीका पूर्व अध्यक्ष मोहन गुरुङका अनुसार अमेरिकामा हुर्कँदै गरेको दोस्रो पुस्तामा नेपाली भाषा संस्कार र संस्कृति हस्तान्तरण गर्न नेपाली भाषा कक्षा सञ्चालन गरिएको हो । 

नेपाली भाषा कक्षामा अहिले ७२ जना विद्यार्थी १९ जना स्वयक सेवक शिक्षक शिक्षिका, ८ जना त्यही स्कुलमा पढेका विद्यार्थी भोलेन्टियरका रूपमा रहेका छन् । अर्को साल १०० जना विद्यार्थी पुग्ने अनुमान गरिएको छ । सियाटलको दक्षिणमा रहेको केन्ट रेन्टनमा पनि यसै वर्षबाट नेपाली भाषा कक्षा सुरु गरिएको छ । जसमा ६१ जना विद्यार्थी रहेका छन् । सियटल नेपाली भाषा कक्षा संचालकहरुले आफूले तयार गरेको पाठ्यक्रम दिएर दक्षिण भागमा नेपाली भाषा कक्षा सञ्चालनमा सहयोग पुर्‍याइरहेका छन् ।

नेपाली भाषा कक्षाका संयोजक प्रकाश धमला भन्नुहुन्छ “भाषा कक्षा सञ्चालन गर्न सुरुका दिनमा निक्कै गाह्रो भएको थियो । अहिले सबैको सहभागिता र चासो बढ्दै गएर केही सजिलो भएको छ ।” सियाटलको अग्रणी संस्था नेपाल सियाटल सोसाइटीको पहलमा नेपाली भाषा मात्र होइन नेपाल भित्रका सबै संस्कार र संस्कृतिलाई प्रवर्द्धन गर्न काम भइरहेको सोसाइटीका अध्यक्ष माधव भण्डारी बताउनु हुन्छ । 
अमेरिकाको पश्चिम उत्तर तटिय राज्य वासिङ्टनमा बसोबास गर्ने नेपालीहरूको भाषा, संस्कार संस्कृति जगेर्ना गर्ने अभियानलाई अमेरिकामा रोलमोडल नै मान्न थालिएको छ । बढी नेपाली बसोबास गर्ने न्यु योर्क, टेक्सस र कालिफोर्नियामा भन्दा सियाटलमा नेपाली भाषा संस्कार संस्कृति जगर्नेका लागि व्यवस्थित ढङ्गले काम भइरहेको देखिन्छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू