अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०६ | Colorodo: 23:21

टर्कीको राष्ट्रपतिमा एड्रोगान पुनः विजयी, विपक्षीद्वारा हार स्वीकार

बिआरटीनेपाल २०७५ असार ११ गते ९:३१ मा प्रकाशित

टर्कीका राष्ट्रपति रेसेप तैयप एड्रोगान हालै सम्पन्न राष्ट्रपतिको निर्वाचनमा पुनः निर्वाचित हुनु भएको छ । थप पाँच वर्षका लागि उहाँ फेरी शक्तिमा आउनु भएको भन्दै सोमबार टर्की भरी खुसीयाली मनाइएको छ । उहाँ दोस्रो कार्यकालका लागि संसद्मा समेत अत्यधिक मतका साथ विजयी हुनुभएको विदेशी सञ्चार माध्यमहरूले जनाएका छन् ।

गत सन् २०१७ को अप्रिलमा संविधान संशोधन गरी मुलुकलाई राष्ट्रपतीय प्रणालीमा लैजाने व्यवस्था गरिएको छ । राष्ट्रपतीय प्रणालीसँगै राष्ट्रपतिको अधिकार धेरै दिइएकाले तानासाही हुन थालेको विपक्षीको आरोप छ । न्याय तथा विकास पार्टी (एकेपी)को कार्यालयमा आयोजित विजय सभालाई कार्यालयको बार्दलीबाट सम्बोधन गर्दै ६४ वर्षीय एड्रोगानले समर्थक र शुभेच्छुकहरूप्रति धन्यवाद ज्ञापन गर्नु भएको छ । “टर्कीले विश्वलाई लोकतन्त्रको पाठ सिकाएको छ,” उहाँले भन्नुभयो ।

सर्वोच्च निर्वाचन बोर्डले एड्रोगानको पक्षमा ५२.५ प्रतिशत मत परेको जानकारी दिएको छ । जबकि उहाँका निकटमा प्रतिद्वन्द्वीले भने ३०.७ प्रतिशत मत ल्याएको जनाइएको छ ।

विपक्षीद्वारा हार स्वीकार
उहाँ विजयी भएको नतिजालाई विपक्षीहरूले पनि स्वीकार गर्दै मुलुक र जनताका लागि साझा व्यक्ति भएर काम गर्न सुझाव तथा शुभकामना दिएका छन् । प्रतिद्वन्द्वी मुहारेम इन्सले निर्वाचनको नतिजा स्विकारेको बताउँदै भन्नु भएको छ, “एड्रोगानलाई बधाई छ, तपाईँ हामी सबैको राष्ट्रपति बन्नुहोला ।” रिपब्लिकन पिपुल्स पार्टीका नेता इन्सले आफ्ना सहयोगी र समर्थकहरूलाई पनि धन्यवाद र आभार व्यक्त गर्नु भएको छ ।

विश्वभरबाट बधाई
एड्रोगान विजयी भएकोप्रति विभिन्न देशका नेताहरूले बधाई दिँदै सफलताको कामना गरेका छन् । पाँच वर्षका लागि फेरी उहाँ निर्वाचित भएकोमा रुस, इरान, सर्विया, बाेिस्नया, बोल्गरीयालगायतका देशहरूले खुसी व्यक्त गरेका छन् ।

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले निर्वाचनको नतिजा एड्रोगानको पक्षमा सशक्त रूपमा देखिएकाले टर्कीको सामाजिक तथा आर्थिक विकासका लागि काम गर्न सुझाव दिनुभएको छ । उहाँले देशलाई विश्वव्यापी रूपमा सकारात्मक अवस्थामा चिनाउन पनि एड्रोगानलाई शुभकामना दिनुभएको रुसको प्रमुख प्रशासनिक कार्यालय क्रेमलिनले जनाएको छ । अन्य देशका उहाँका समकक्षी तथा शीर्ष नेताहरूले पनि बधाई सन्देश पठाउँदै देश र जनताको पक्षमा काम गर्न शुभकामना दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू