अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२१ | Colorodo: 09:36

प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजे काँग्रेस आन्दोलनमा : महामन्त्री कोइराला

बिआरटीनेपाल २०७५ असार ९ गते ९:३८ मा प्रकाशित

नेपाली काँगे्रसका महामन्त्री डा शशांक कोइरालाले प्रेस स्वतन्त्रतालगायत मौलिक हकलाई नियन्त्रण गर्न खोजे आफ्नो पार्टी आन्दोलनमा उत्रने बताउनुभएको छ । 

साँखुबाट प्रकाशित भइरहेको ‘लावण्य सन्देश’ साप्ताहिकको आठौँ वर्ष प्रवेशका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँगे्रससँग इतिहास, सिद्धान्त र निष्ठावान् कार्यकर्ता भएकाले नागरिकका मौलिक हकमाथि अंकुश लगाउन खोजिए त्यसविरुद्ध काँग्रेसले सशक्त आन्दोलन गर्ने धारणा राख्नुुभयो ।

“प्रेस स्वतन्त्रता जनताको अधिकार हो, त्यसमाथि हुने कुनै पनि प्रकारको प्रहार र नियन्त्रण काँगे्रसका लागि स्वीकार्य हुने छैन, प्रेस स्वतन्त्रताबिना अरु कुनै पनि स्वतन्त्रता पनि रहन सक्दैन”– महामन्त्री डा कोइरालाले भन्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले राजनीतिक पूर्वाग्रहका आधारमा लोककल्याणकारी विज्ञापन रोक्न खोजिए त्यसविरुद्ध महासंघ पनि संघर्षमा जाने बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियन एवं राष्ट्रिय समाचार समिति (रासस) का पूर्वअध्यक्ष कुलचन्द्र वाग्लेले पत्रकारिता क्षेत्रका चुनौती सामना गर्न स्वतन्त्रताप्रेमी एकजुट हुनुपर्ने बताउनुभयो ।

नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले प्रेस स्वतन्त्रतामाथि सरकारका तर्फबाट हुन थालेको अनुदार काम, दबाव र नियन्त्रणमुखी प्रयास पत्रकारका लागि सह्य हुँदैन भन्नुभयो ।

कार्यक्रममा पूर्वसांसद दीपकप्रसाद कुईंकेलले सरकारसँग प्रेस स्वतन्त्रताविरुद्धका कदम रोक्न माग गर्नुभयो ।

सो अवसरमा काँगे्रसका क्षेत्रीय सभापति उपेन्द्र कार्की, नेकपाका जिल्ला सदस्य एलपी श्रेष्ठ, राप्रपाका शंखरापुर नगर समिति अध्यक्ष गोविन्दप्रसाद श्रेष्ठ, नेपाल किसान संघका केन्द्रीय प्रतिनिधि विश्वनाथ दाहाल, काँगे्रस शंखरापुर नगरपालिकाका राजुभाई मानन्धर, नयाँशक्ति पार्टीका माधव श्रेष्ठ, ‘लावण्य सन्देश’ साप्ताहिकका प्रकाशक सम्पादक पवनलाल श्रेष्ठ, बजार व्यवस्थापक जयराम श्रेष्ठ, व्यवस्थापक सत्यनारायण श्रेष्ठलगायतले प्रेस स्वतन्त्रताको रक्षा गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू