अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२३ | Colorodo: 15:38

शासकको सवारीः बेलायती महारानीका ५ कार, जो यस कारण विशेष छन्

बिआरटीनेपाल २०७५ असार ९ गते १:०७ मा प्रकाशित

बेलायती महारानी एलिजावेथ द्वितीया विश्वको सबैभन्दा लामो समय शासन गर्ने महारानी हुन् । उनीसँग विश्वको जुनसुकै महंगा कार राख्ने हैसियत रहेको छ । कारकिज डटकमकाअनुसार उनीसँग १० मिलियन पाउण्डभन्दा धेरै मूल्य बराबरको कार रहेको छ ।

उनको रोजाईमा अधिकांश कारहरू बेलायती ब्राण्डका रहेका छन् । उनलाई बेलायतमा गाडी चलाउन लाइसेन्सको समेत जरुरी पर्दैन । तथापि, उनले दोस्रो विश्वयुद्धको समयमा गाडी चलाउन सिकेकी थिइन्।

१. बेन्टले स्टेट लिमोजीनी 

सन् २००२ मा महारानीको ५० औँ गद्दी आरोहणको उपलक्ष्यमा उनलाई यो कार उपहारस्वरुप दिइएको थियो । विशेष डिजाइनमा हातले बनाइएको यो कार उनको मुख्य रोजाईमा पर्छ ।

अन्य राष्ट्रप्रमुखहरूले कालो कलरको कार प्रयोग गर्ने भए तापनि उनको यो कार मरुन कलरमा रहेको छ । इक्नोमिक टाइम्सकाअनुसार यसकोे मूल्य १ करोड ५१ लाख ६७ हजार ५०० डलर रहेको छ ।

यो विश्वको सबभन्दा महंगो स्टेट लिमोजिनी भएको बताइन्छ । ६.७५ लिटर भी-८ इञ्जिन रहेको यो कार बेन्टलेको स्ट्याण्डर्ड कारभन्दा ८३ सेन्टिमिटर लामो बनाइएको छ । यो कारको ढोका ९० डिग्री याङ्गलमा खुल्छ, जसले महारानीलाई सिधैँ चढ्न र ओर्लन सजिलो हुने गर्छ ।

यो विशेष डिजाइनको कार विश्वमा दुईवटामात्र रहेको र दुबै कार महारानीसँगै रहेको छ । यो कार राजकीय तथा विशेष समारोहहरूमा प्रयोग गरिँदैआएको छ ।

२. २०१५ रेञ्जरोभर एलडब्ल्यूएच ल्यान्डयूलेट

महारानीको २०१५ रेञ्जरोभर पछाडि खोलिने ढोका र छत पनि खोल्न मिल्ने किसिमको रहेको छ । जहाँबाट महारानीले आफ्ना समर्थकहरूलाई हात हल्लाउने गर्छिन् । २०१५ रेञ्जरोभर एलडब्ल्यूएच ल्यान्डयूलेट ल्यान्डरोभर कम्पनीले शाही सवारीमा उपलब्ध गराएको चौथो कार हो ।

सन् १९५३ मा पहिलो ल्यान्डरोभर सिरिज १ शाही सवारीमा प्रयोग भएको थियो । विशेष कस्टुम डीजाइन गरिएको मरुन कलरको यो ल्यान्डरोभरको बनोटमा राष्ट्रिय झन्डा जडान गरिएको छ ।

३. २००२ ल्यान्डरोभर डिफेन्डर 

महारानीले व्यक्तिगतरुपमा सबभन्दा मन पराएको गाडी ल्यान्डरोभर डिफेन्डर हो । उनले आफ्नो अहिलेसम्मको जीवनमा यो गाडी ३० वटा प्रयोग गरेकी छिन् । सन् २००२ मा ल्यान्डरोभरले विशेष कस्टुम डिजाइनमा बनाएको यो कारमा हरियो रंगको लेदरको सिट प्रयोग गरिएको छ, यसलाई तताउन पनि सकिन्छ ।

यसमा इलेक्ट्रीक विन्डो पनि रहेको छ । महारानीलाई आफ्नो जमिनमा घुम्नका लागि सस्पेन्सन पनि केही बढाइएको छ । यो गाडी २०१४ मा अक्सन स्पेसलिस्ट ब्रुकल्याण्डस्ले ३० हजार २४० पाउन्डमा लिलाम गरेको थियो ।

४. २००१ जगुवार ड्याम्लर भी-८ सुपर एलडब्लूबी 

जगुवार ड्याम्लर भी-८ सुपर एलडब्लूबी महारानीले व्यक्तिगत कारको रुपमा प्रयोग गरेकी थिइन् । उनले यो कार आफ्नो विन्डसोर क्यासल क्षेत्रमा र साथीहरूकोमा जाँदा चलाउने गर्दथिइन् ।

यो महारानीको अर्डरमा बनाइएको कारमा विशेष प्रकारले डिजाइन गरिएको र उत्कृष्ट फिचरहरू समावेश गरिएको थियो । टेलिग्राफकाअनुसार यो कार २०१३ मा ४० हजार ५०० पाउन्डमा लिलाम भएको थियो ।

५. यस्टन मार्टिन भोलान्ते डीबी सिक्स 

महारानीले गाडी नचलाए पनि प्रिन्स चाल्र्सको २१ औँ जन्मदिनमा खरिद गरी उपहारस्वरुप दिएकी थिइन् । सन् २००८ मा युवराज चाल्सले यो कारलाई वायो फ्यूलबाट चल्ने गरी कन्भर्ट गरेका थिए, जुन फ्यूल वाईनबाट बनाइन्छ ।

यो कार्य उनको शाही सवारीको २५ प्रतिशत इमिशन कम गर्ने प्रतिवद्धताअन्तर्गत थियो । तर, यो कार चलाउन भने प्रतिमाइल साढे चार बोतल वाइनको जरुरत पर्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू