अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१९ | Colorodo: 02:34

विमेस्टेकको चौथो शिखर सम्मेलनका लागि तयारी तिव्र

बिआरटीनेपाल २०७५ असार ८ गते ९:०१ मा प्रकाशित

सरकारले आशन्न् विमेस्टेक सम्मेलनका लागि तयारी शुरु गरेको छ । ब्यबस्थापनका लागि छुटा छुटै समिति बनाएर जिम्मेवारी दिएको छ । त्यस अन्तर्गतका समितिले आफ्नो काम शुरु गरिसकेका छन् ।

यसै सन्दर्भमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार समितिको बैठकले सम्मेलनमा सञ्चारसँग सम्बन्धित सुविधा प्रबन्ध मिलाउने, स्वदेशी तथा विदेशी प्रेस प्रतिनिधिलाई आवश्यक सहयोग र सुविधा उपलब्ध गराउने, प्रेस पास, बुलेटिन र प्रचारप्रसारका कार्य गर्ने सम्बन्धमा संचार समितले छलफल गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको अध्यक्षतामा बसेको बैठकले सम्मेलनमा उपस्थित हुने पत्रकारको व्यवस्थापन सम्बन्धमा सरकारबाट आयोजना भएका सार्क शिखर सम्मेलनका अनुभवको अध्ययन गरी सोहीअनुरूप कार्यक्रम तयार गरी सूचना विभागले आगामी बैठकमा पेस गर्ने निर्णय गरेको छ ।

त्यस्तै सम्मेलनमा सहभागी हुने पत्रकारको प्रेस पासको व्यवस्था सूचना विभागले पत्रकारको सङ्ख्या र सञ्चारगृहसँग छलफल तथा अन्तरक्रिया गरी कार्यक्रम स्थलको क्षमता तथा संवेदनशीलतासमेत हेरी निर्धारण गर्ने भएको छ ।

प्रेस सेन्टरको व्यवस्थापनसम्बन्धी विस्तृत योजना सूचना विभागले तयार गरी आगामी बैठकमा पेस गर्ने र सम्मेलनको उद्घाटन र समापन कार्यक्रममा अधिकतम पत्रकारको उपस्थिति हुने तर अन्य कार्यक्रममा छानिएका पत्रकारको मात्र पहुँच हुन सक्ने व्यवस्था कायम गर्ने बैठकले निर्णय गरेको छ । सम्मेलनको कार्यक्रमस्थल र तालिका परराष्ट्र मन्त्रालयले उपलब्ध गराउने भएको छ ।

सम्मेलनको पूर्वतयारीका लागि सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय मूल समिति गठन गरिएको  छ । त्यस्तै परराष्ट्रमन्त्रीको संयोजकत्वमा सम्मेलन तयारी तथा समन्वय, अर्थमन्त्रीको संयोजकत्वमा अर्थ, गृहमन्त्रीको संयोजकत्वमा सुरक्षा, परिवहन तथा यातायात, सञ्चार तथा सूचना प्रविधि मन्त्रीको संयोजकत्वमा सञ्चार व्यवस्थापन तथा प्रचारप्रसार र भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको संयोजकत्वमा भौतिक पूर्वाधार व्यवस्था तथा नगर सजावट समिति गठन गरिएको छ ।

सरकारले भदौ १४ र १५ गते नेपालमा बिम्स्टेकको चौथो शिखर सम्मेलन गर्ने मिति प्रस्ताव गरेको छ । सन् १९९७ मा स्थापना भएको बिम्स्टेकमा नेपाल, भारत, बङ्गलादेश, म्यानमार, थाइल्यान्ड, भुटान र श्रीलङ्का सदस्यराष्ट्र छन् । नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो । नेपाल हाल विमेस्टेको अध्यक्ष राष्ट्र रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू