अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

चिनियाँ सहयोगमा तीन जिल्लामा थप नमूना विद्यालय बन्ने

बिआरटीनेपाल २०७५ असार ७ गते ९:५५ मा प्रकाशित

छिमेकी मुलुक चीनले छात्रावाससहित रसुवा, सिन्धुपाल्चोक र दोलखामा थप तीन नमूना सामुदायिक विद्यालय निर्माण गर्ने भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको छदिने औपचारिक भ्रमणका क्रममा आज बेइजिङमा भएको द्विपक्षीय वार्तामा ती विद्यालय बनाउनेसम्बन्धी सम्झौतापत्र आदानप्रदान भयो । चीनले गोरखा भूकम्पअघि १० र भू्कम्पपछि सात सामुदायिक विद्यालय निर्माण गरी हस्तान्तरण गर्न यसअघि सम्झौता भई काम गरिरहेको छ ।

नयाँ सहमतिअनुसार चीनले सार्वजनिक विद्यालय पुनःनिर्माण परियोजनाअन्तर्गत प्राविधिक टोलीमार्फत आफँै ती सुविधासम्पन्न विद्यालय बनाउनेछ । त्यसको लागतबारे चीन सरकारले आफैँ मूल्याङ्कन गर्नेछ । अर्थ मन्त्रालयका सचिव राजन खनाल र चीनको अन्तर्राष्ट्रिय सहयोग नियोग निकायका उपाध्यक्ष झाउ लिउवगनबीच आज पत्र आदानप्रदान भयो । यसका लागि चिनियाँ पक्षले सम्भाव्यता अध्ययन गरिसकेको छ ।

थप निर्माण हुनेमध्ये दोलखाको जिरी मावि रहेको तर सिन्धुपाल्चोक र रसुवाको विद्यालयका नाम तय भइनसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिनुभयो । चीनले निर्माण गर्ने विद्यालयका लागि सरकारले जग्गा उपलब्ध गराउनेछ भने अन्य सबै स्रोत सामग्री चीनले व्यहोर्नेछ । चीनले सम्बन्धित विद्यालयको विद्यार्थी संख्याका आधारमा कक्षा कोठा, पुस्तकालय, प्रयोगशाला र छात्रावास निर्माण गरी साँचो हस्तान्तरण गर्नेछ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, शिक्षा कार्यान्वयन केन्द्रीय एकाइका प्रमुख इमनारायण श्रेष्ठले भूकम्पअघि हिमाली विद्यालय कार्यक्रमअन्तर्गत १० सामुदायिक विद्यालय बनाउने क्रम जारी छ । भूकम्पले क्षतिग्रस्त काठमाडौँको भानु माविलगायत सात विद्यालय बनाउने जिम्मा पनि चीनले लिए पनि हालसम्म कुनै पनि विद्यालय निर्माण भई हस्तान्तरण भएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू