अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:१४ | Colorodo: 16:29

विश्वकप रमझमः४ करोडभन्दा बढीको कारोबार टेलिभिजन र जर्सीको बिक्री व्यापक

कान्तिपूर दैनिक २०७५ असार ६ गते २१:०३ मा प्रकाशित

विराटनगर — रुसमा जारी विश्वकप फुटबल उत्सवले औद्योगिक नगर विराटनगरको बजारलाई चलायमान बनाएको छ । ठुला र बलिया मानिएका टिमका नाम चलेका खेलाडीको जर्सी, ठुलो स्क्रीनको टेलिभिजन र प्रोजेक्टर किन्ने सर्वसाधारणको भीड बजारमा बाक्लो देखिन्छ ।

यहाँका नाम चलेका तीनवटा पसलबाट मात्र विश्वकपका नाममा एक सातामा सवा दुई करोडभन्दा बढी मूल्यका एलइडी टेलिभिजन बिक्री भएको पाइएको छ । सम्बद्ध व्यवसायीका अनुसार विराटनगरमा मात्र विश्वकपको नाममा सातामा टेलिभिजन, प्रोजेक्टर, कुलर, पङ्खा र जर्सी चार करोडभन्दा बढीको बिक्री भएको छ ।

‘फुटबलको महाकुम्भ सुरु हुनु अगाडि विराटनगरमा टेलिभिजनको बिक्री छिटफुट मात्र थियो । प्रतियोगिता सुरु भएपछि बिक्री ह्वात्तै बढ्यो,’ जयदीप इलेक्ट्रोनिक्सका प्रबन्धक अंकीत अग्रवालले भने– विश्वकपको नाममा सातामा करिब ६० लाख मूल्य बराबरका टेलिभिजन बिक्री भइसकेको छ ।’ विराटनगरमा टेलिभिजनका पसल दर्जनभन्दा बढी छन् ।

ती सबै पसलको बिक्री जोड्दा टेलिभिजनमात्र अढाई करोडभन्दा बढीको बिक्री भएको अग्रवालको अनुमान छ । विराटनगरमा विश्वकपका नाममा कम्तीमा २० हजारदेखि साढे तीन लाख मूल्यका टेलिभिजन बिक्री भएका छन् ।

उनले भने, ‘३२ देखि ४८ इन् सम्मका एलइडी टेलिभिजन सातामा सय पिसभन्दा बढी पसलबाट बिक्री भइसक्यो ।’ त्यसबाहेक साढे तीन लाख मूल्यका तीनवटा गइसके ।

यहाँका सबै पसल र सुपर मार्केटले टेलिभिजनको खरिदमा ३१ प्रतिशत र अन्य सामानमा १० प्रतिशतसम्म छुट दिँदा ग्राहकको आकर्षण बढ्दो छ । प्रतियोगिताको दोस्रो चरणदेखि टेलिभिजनको बिक्री झन् बढने अग्रवालको बुझाइ छ ।

‘अहिले त खेल प्रारम्भमात्र भएकाले टिभीको बिक्री पनि प्रारम्भिक मात्र हो, उनले भने, ‘प्रिक्वार्टर फाइनलदेखि टिभी र प्रोजेक्टरको बिक्री झन् बढ्ने निश्चित छ ।’ विश्वकप सुरु हुनुभन्दा पहिला आफ्नो पसलबाट प्रोजेक्टर महिनामा मुस्किलले दुईवटा बिक्री हुन्थे । १५ देखि २५ हजार रुपैयाँ पर्ने त्यस्ता प्रोजेक्टर अहिले दैनिक सरदर १० वटा बिक्री भइरहेको उनले बताए ।

नयाँ वर्षदेखि विराटनगरमा व्यापार सुरु गरेको भाटभटेनी सुपर मार्केटले पनि विश्वकपको नाममा टेलिभिजन, कुलर, पङ्खा र जर्सीको उल्लेख्य व्यापार गरेको पाइएको छ । यसले एक सातामा टेलिभिजनको व्यापारमात्र करिब ८० लाख गरेको छ । व्यवस्थापक विनोद भट्टराईका अनुसार यो अवधिमा जर्सीमात्र करिब १३ लाख मूल्यका बिक्री भएको छ ।

त्यसै गरी करिब ५० लाख मूल्य बराबरका कुलर र पङ्खा विश्वकपका नाममा बिक्री भइसकेको भट्टराईले बताए । यहीँको अरुण इलेक्ट्रोनिक्सले पनि एक सातामा ७० लाखभन्दा बढी मूल्यका टिभी बिक्री गरेको छ । त्यसका प्रबन्धक अरुण अग्रवालअनुसार विश्वकपका नाममा १५ हजार मूल्यदेखि ५ लाख ५० हजार मूल्य पर्ने टिभी बिक्री भएको छ ।

यो अवधिमा सबैभन्दा बढी मूल्यमा सोनी कम्पनीको ७५ इन्जको टिभी ५ लाख ५० हजार रुपैयाँमा बिक्री भएको उनले बताए । प्रतियोगिताको दोस्रो चरणदेखि बिक्री झन् बढने उनको पनि बुझाइ छ ।

खेलकुदका सामग्री र जर्सी विक्रेता पारस चौधरीले पनि विश्वकपको नाममा करिब ७ लाख मूल्य बराबरको कारोबार गरेका छन् । पूर्वराष्ट्रिय खेलाडी तथा मोरङ फुटबल टिमका प्रशिक्षक समेत रहेका चौधरीका अनुसार नाम चलेका खेलाडीको टिमले आफ्नो पहिलो म्याचमा उत्कृष्ट प्रदर्शनी पस्किन नसक्दा अर्जेनटिनाका मेसी, ब्राजिलका नेयमार, जर्मनीका ओजिल र मुलरजस्ता नाम चलेका खेलाडीको जर्सी बिक्री घटेको छ ।

विराटनगरमा मात्र ५० लाखभन्दा बढी मूल्यका जर्सी बिक्री भइसकेको चौधरीको अनुमान छ । नाम चलेका खेलाडीले म्याच खेल्नुअघि उनीहरूको नम्बर र नाम लेखिएको जर्सी मागअनुसार पुर्‍याउनै गाह्रो थियो ।

उनले भने, ‘उनीहरूको म्याच पछि अहिले आइसल्यान्ड, पानामा, सेनेगल लगायतका टिमका खेलाडीको जर्सीको माग बढे पनि बजारमा उपलब्ध नहुँदा ग्राहकलाई दिन सकिएको छैन ।’ चौधरीका अनुसार नाम चलेका खेलाडीले आफ्नो दोस्रो म्याचमा उत्कृष्ट प्रदर्शन देखाए भने उनीहरूको नामको जर्सीले फेरि बजार पाउने पक्का छ ।

बजारमा अहिले अर्जेनटिनाका मेसी, डिवाला, गुन्जालो, हिगोइन, ब्राजिलका नेयमार, स्पेनका इस्को, जर्मनका ओजिल, मुलर बाहेक बेल्जियमका लुकाएको, इडेन हजार, इंग्ल्यान्डका ह्यारी केन, योङ, लिङगाड, मार्कोल, फ्रान्सका ब्रिजम्यान, स्यामोल्स, ओसासुना, डिमवेल क्रोएसियाका इभान, लुका, मोर्जित इजिप्टका महमद सलाहा र उरुग्वेका स्वारेज, कामिनी र ग्लीनको नामको जर्सीको माग बढेको छ ।

सम्बन्धित सामग्रीहरू