अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:४३ | Colorodo: 03:58

उत्तर कोरियाली नेता किम चीन जाँदै

बिआरटीनेपाल २०७५ असार ५ गते ९:४७ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन मङ्गलवार चीन जान लाग्नुभएको खबर छ । उहाँ दुई दिने भ्रमणका लागि मङ्गलवार बेइजिङ जान लाग्नुभएको हो ।
सो कुराको जानकारी राजधानी बेइजिङबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दिएका छन् । तर उहाँ बुधवार मात्र राजधानी बेइजिङ पुग्नुहुने समाचार चिनियाँ टेलिभिजन सिसिटिभीले दिएको छ ।

नेता किमले यही जुन १२ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग सिङ्गापुरमा ऐतिहासिक शिखर वार्ता सम्पन्न गर्नुभएको थियो । उक्त वार्ताको एक हप्तापछि किम चीन भ्रमणमा निस्कन लाग्नुभएको बताइएको छ ।
उहाँ मङ्गलवार चीन पुग्नुभयो भने गएको मार्च महिनादेखि नै यो तेस्रो पटकको चीन भ्रमण हुने छ । उहाँ जुन १२ को शिखर वार्ताको केही दिनमात्र अघि पनि चीन पुग्नुभएको थियो ।

चिनियाँ राष्ट्रपति सी चिनफिङसँग उहाँले ग्रेट हल अफ पिपुल्समा भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ ।

साथै उहाँले राष्ट्रपति र चिनियाँ नेताहरूसँग उत्तर कोरियामाथिको प्रतिबन्ध, शिखर वार्तामा कोरियाली प्रायद्वीपको परमाणु निःशस्त्रीकरणका विषय र त्यसमा आफूले गरेको प्रतिबद्धताका विषयमा छलफल गर्ने अनुमान गरिएको छ ।

चीन उत्तर कोरियाको सहयोगी राष्ट्र हो । चीन उत्तर कोरियाको एकमात्र आर्थिक साझेदार राष्ट्र पनि हो । बेइजिङले यसअघि नै अमेरिकालाई उत्तर कोरियाविरुद्धको प्रतिबन्ध खुकुलो पार्न सुझाव दिइसकेको छ ।

गत मार्च यताको किमको यो तेस्रो पटकको चीन भ्रमण हो । चीनसँगको निकटताक कारण पनि उत्तर कोरियाली नेताको चीन भ्रमणलाई एक महत्त्वपूर्ण घटनाका रूपमा लिइएको छ ।

यसैबिच प्राप्त अर्को एक समाचारअनुसार अमेरिका र दक्षिण कोरियाले अर्को महिना गर्ने भनिएको संयुक्त सैन्य अभ्यास स्थगित गरेको जनाएका छन् ।

उनीहरूले उक्त सैन्य अभ्यास स्थगित गरेको पुष्टि पनि गरेका छन् । सिङ्गापुर वार्तामा अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियासँगको सैन्य अभ्यास रोक्ने बाचा उत्तर कोरियाली नेतासँग गर्नुभएको थियो ।

उत्तर कोरियाले सैन्य अभ्यास आफूविरुद्ध लक्षित भएको बताउँदै आएको छ । उसले उक्त सैन्य अभ्यास सञ्चालन गरेमा दुई कोरिया र उत्तर कोरिया अमेरिकाबिच सम्पन्न शिखर वार्ता र सम्झौताहरूको उल्लङ्घन हुने पनि बताएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू