अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१७ | Colorodo: 05:32

दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको काँग्रेस सभापतिको आरोप

बिआरटीनेपाल २०७५ असार ५ गते ९:२४ मा प्रकाशित

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले दुईतिहाइ बहुमतको दम्भले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान र प्रजातन्त्रलाई धरापमा पार्न उद्धत रहेको आरोप लगाउनुभएको छ । 

काँग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलाको  हेटौँडामा उद्घाटन गर्दै उहाँले सरकारले संवैधानिक अंग, प्रशासनिक निकायमा राजनीतिकरण गर्न थालेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

गुट उपगुटको राजनीति त्यागेर समष्टिगत रुपमा देश र जनताप्रति उत्तरदायी हुँदै एकढिक्काको साथ राष्ट्रिय अभियानमा समाहित हुन जिल्ला सभापतिहरुलाई उहाले आग्रह गर्नुभयो । 

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछि बनेको नेपाली काँग्रेसको सरकारले जनताका पक्षमा कार्यक्रम ल्याएको भए पनि नेतृत्वले जनताको माझ पुगेर ती कुरा बुझाउन नसक्दा  निर्वाचनमा पराजय भोग्नु परेको तथ्यलाई आत्मसात् गर्नुपर्ने बताउनुभयो ।

नेतृत्वले नै गुटबन्दी गर्न उपयुक्त नहुने विचार व्यक्त गर्दै उहाँले अब आफूले कुनै गुटको नेतृत्व नगर्ने घोषणा गर्नुभयो । मुलुक, जनता र प्रजातन्त्रलाई दिशाबोध गर्न भावनात्मक रुपमा हृदय परिवर्तन गरेर अब सधैँका लागि काँग्रेस एक भएको खाका तयार गर्न जिल्ला सभापतिहरुलाई आग्रह गर्नुभयो ।

सभामा काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेस एकजुट भएको विश्वास जनता माझ पुर्याउन नेताहरु नै विवेकशील बन्नुपर्ने बताउनुभयो । उहाँले प्रजातान्त्रिक शक्तिबीच सहकार्य गरी प्रजातन्त्रलाई सुदृढीकरण गर्ने अभियानमा क्रियाशील हुन आफूमा रहेको हिनताको भावनालाई त्यागेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उपसभापति विमेलन्द्र निधि र महामन्त्री डा शशांक कोइरालाले संसदीय प्रजातन्त्र, व्यक्तिगत स्वतन्त्रताको साथै प्रेस स्वतन्त्रतामाथि पनि वर्तमान सरकारले उपेक्षाभाव प्रदर्शन गर्न थालेकामा आपत्ति जनाउनुभयो । उहाँहरुले मुलुकलाई दिगो शान्ति, राजनीतिक स्थायित्व प्रदान गर्न काँग्रेसको नेतृत्व कुशल, पारदर्शी हुनुपर्ने बताउनुभयो ।
तीन दिनसम्म चल्ने भेलामा सभापति देउवा, वरिष्ठ नेता पौडेल, संसदीय दलका उपनेता गच्छदार, नेता कृष्णप्रसाद सिटौला, डा रामशरण महत, डा प्रकाशशरण महत, अर्जुन नरसिंह केसीलगायतले राजनीतिक एवं संगठनात्मक प्रशिक्षण दिनु हुनेछ ।

भेलामा नेपाली काँग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, ७७ जिल्लाका सभापति, प्रदेश ३ का प्रदेशसभा सदस्य र पर्यवेक्षक गरी ५७५ प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू