अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२२ | Colorodo: 10:37

कुवेतका काले र कालीको प्रेमलीला: बिना बाबुका सन्तान जन्माउने देखि लाखौँ रुपियाँ ठग्नेसम्म

प्रदिप नेपाली २०७५ असार ५ गते ६:५० मा प्रकाशित

अभागी खप्परमा असफलताको अमिट छाप लगाएका नेपाली विदेशीको गुलामी गर्न परदेशीनुको पीडालाई थाती राखी माया प्रेममा भुलेका समाचारहरू सामाजिक सञ्जालमा यत्रतत्र देख्छौ | पसिना सँगै साटेको पैसालाई सही काममा सदुपयोग गर्न छोडेर सात समुन्द्र पारी आएर पनि जोडी खोज्ने सपना देख्दा कतै जोडी खोज्न विदेश पसेको त होइन भन्ने भान हुन्छ |

जीवनमा कसैको साथ र प्रेम त अनिवार्य चाहिन्छ तर आजकल साथ र प्रेमलाई सेक्सको आधारभूत आवश्यकताका रूपमा लिन थालिएको छ । सेक्स सन्तानप्राप्तिका लागि मात्रै नभएर मनोरञ्जन, आनन्द वा सुखका लागि पनि नभई नहुने चिज हो । तर आजकाल प्रेम र सेक्सले भयाबह स्थिति सिर्जना गराएको छ |

मन मिल्यो भने माया गर्न उमेरले छेक्दैन भन्ने तथ्य यहाँ आएपछि साबित भएको भान हुन्छ, उमेरले डाँडा काटी सकेका, गालामा चाउरी परिसकेकेका धन कमाउने सपना बोकेर परदेशिएका डोरी लाहुरे लाहुरेनीहरु मायामा भौतारी रहेका भेटिन्छन् | अझ केही जोडी त भाइरल नै भैसके, कोही हुदैछन र हुनेवाला छन् |

छोराछोरी भई नातीनातिनीको विवाह गरिदिने बेला भैसकेका यहाँ सबै कन्या कुमारकुमारी जस्तै भएर लठारिन्छन | वातावरण हेर्दा यस्तो देखिन्छ कि यहाँ एक स्त्री वा पुरुषको बुटी बाँधेर आएको भेट्न कठिन नै छ |

यहाँ माया गर्नेहरुका कालेकाली, प्याराप्यारी, सानुसाने भन्न लाजै मान्दैनन् | फोनैफोनबाट बसेको प्रेम अन्तमा अस्थाई श्रीमान् श्रीमती भएर बस्ने सम्म पुग्छ | केही जोडीहरू कुवेतमै गुमनाम भएका छन् त केही जोडीले यतै विवाह गरी बसेका छन् | कुवेतमा आममाफीको समयमा केही नेपाली महिलाले ३९ जना अवैध रूपमा जन्माएका बच्चा लिएर स्वदेश फर्कनु पर्‍यो जसमा धेरै बाबु बिनाका बालबच्चा धेरै रहेका थिए | साथ र प्रेमले परदेशमा एक्लो महसुस नहुने भो, आर्थिक भार कम पर्ने भो, साथ र सहयोग मिल्ने भो, आवश्कता र इच्छा परिपूर्ति हुने भो तर धेरैको त्यो साथ र माया धेरै दिन टिक्दैन र हुँदैन पनि | केटाका घरमा श्रीमती र सन्तान अनि केटीका घरमा श्रीमान् र सन्तान हुँदा कयौँ दिन सँगै बिताएका खुसीहरू विमानस्थल पुगे सँगै विलीन हुन्छन् | अनि ती मायालु जोडीहरू एक्लिन्छन | ती जोडीले सबै कुरालाई भुल्नु सिबाय केही हुँदैन | त्यो बाध्यता पनि हो | मनका वेदना लुकाई ओठमा मुस्कान देखाउन कतिको गाह्रो हुन्छ यो कुरा पीडितलाई मात्र थाहा हुन्छ |

यस्तो सम्बन्धको परिणाम कतिसम्म घातक हुन्छ भन्ने पछिल्लो समय हाम्रो समाजमा थुप्रै उदाहरण देखिएको छ | उता पारिवारिक सम्बन्धहरू टुट्छन् | आमा–छोराछोरी, श्रीमान्–श्रीमती आदिमा फाटो ल्याउँछन् | पारिवारिक र सामाजिक कलह सिर्जना हुन्छन् | श्रीमानको माया र साथ नपाएका महिलाहरू अर्को बाटो समाउछन अनि श्रीमतीको साथ र माया नपाएका श्रीमानहरु पनि त्यही बाटो रोज्न बाध्य हुन्छन् | यी सम्बन्धले नराम्रो परिणाम ल्याउने सम्भावना उच्च रहन्छ |

लाखौँ रुपियाँ ठग्ने प्रेम जोडी
अमिल्दो सम्बन्धको परिणाम कतिसम्म घातक हुन्छ भन्ने कुरा आजभोली सामाजिक सञ्जालमा छरपष्ट भेटिन्छन् | अझ मिडियाकर्मी भएकाले होला दिनको १/२ केश त हामी कहाँ आएकै हुन्छन् | माया प्रेममा धोका दिएका कुरा खुलेर त भन्दैनन् तर आर्थिक रूपमा फसाएको र पैसा खाएर भागेको भन्दै गुहार माग्नेको चाही कमी हुन्न | त्यसमा सबैभन्दा बढी महिला पीडित बढी भेटिन्छन् | अझ महिलालाई काम गरिरहेको घरबाटै भगाएर अलपत्र पार्ने सम्मको गिरोह सक्रिय छ | नेपाली दाजुभाइले माया जालमा फसाएर लाखौँ रुपियाँ ठगेर बेपत्ता हुन्छन् | त्यसो त यस्ता ठगीका घटनामा महिला दिदीबहिनीहरूको पनि कमी चाही छैन | यस्ता केही भित्री रूपमा मिलाइदिएका हुन्छौ त केही समस्या दूतावासमा राख्न सुझाव दिन्छौ |

प्रेमीबाट लाखौँ रुपियाँ ठगिएको भन्दै गुनासो लिएर आउने धेरै पीडितहरू न्याय पाउने आसमा भौतारी राखेका हुन्छन् | दूतावासमा गुनासो लिएर पुगेपनि दूतावासले कुनै किसिमको सहयोग नगरेको पीडितहरूको गुनासो छ | भने लेनदेनको कुनै प्रमाण र आधार नहुँदा पीडितले न्याय पाउने सम्भावना नभएको दूतावासका एक अधिकारीको भनाइ छ |

परिवारको सुन्दर भविष्यको सपना बोकेर बिदेशिएका हजारौँ नेपाली युवा युवतीहरूको सपना ५०/५५ डिग्रीको तातोमा घाममा पोखिएका छन् | दश नङ्ग्रा खियाएर पसिनासँग साटेर कमाएको सम्पत्ति स्वार्थी र झुटो प्रेम लीलाले समाप्त पारिदिएको छ | कसैका श्रीमती वा कसैका श्रीमान् ताक्नु भन्दा परिवारको भविष्यका बारेमा सोच्न जरुरी छ | यस्ता सम्बन्धहरू दिगो हुँदैनन् | यस्ता सम्बन्धलाई प्रोत्साहन नगरौँ |

मन दिएर स्वार्थ लुट्ने काम पाप हो | कसैको पसिना खानु झन् महापाप हो | त्यसैले कसैको भावनासँग नखेलौ सबैले सोचौँ | घर परिवार नभुलौ, विदेशमा कमाऊँ स्वदेशमा परिवार सँगै रमाऊँ |

लेखक- हाम्रोसंचार डटकमका कार्यकारी सम्पादक तथा नेपाल पत्रकार महासङ्घ कुवेत शाखाका कोषाध्यक्ष समेत हुन् |

प्रतिक्रिया