अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:३२ | Colorodo: 00:47

नेपाली जनसम्पर्क समिति अमेरिकाले खेद व्यक्त गर्दै नेपाल सरकारको ध्यानआकर्षण

बिआरटीनेपाल २०७५ असार ४ गते २१:५७ मा प्रकाशित

क्यालिफोर्निया अमेरिका, नेपाली जन सम्पर्क समिति अमेरिका, र नेपाली जनसम्पर्क समिति नर्दन क्यालिफोर्निया च्याप्टरले संविधान प्रदत्त गैह्र आवासीय नेपालीहरूको अधिकारका सम्बन्धमा नेपाल सरकारका मन्त्री लालबाबु पण्डितले संविधान विपरीत विभिन्न खाले अभिव्यक्ति दिएको प्रति आफ्नो गभ्भीर ध्यान आकर्षण भएको जनाएको छ। लोकतन्त्रको मूल्य र मान्यता स्थापनाका निम्ति स्थापित यस संस्थाले आज नेपाल सरकारका पर्यटन मन्त्री रबिन्द्र अधिकारी मार्फत सरकारलाई चेतावनी दिएको छ। पछिल्लो समय सरकार आफै अराजक बन्दै गएको र जघन्य मानव अधिकार हनन का घटनामा संलग्न अपराधीलाई आममाफी दिनु, प्रेस माथिको अंकुश र नेपाली कॉंग्रेसको पार्टी कार्यालयमा गरिएको धरपकड र बिदेशियका नेपालीहरूका बारेमा सरकारी रवैया जस्ता घटनामा आफू चनाखो रहेको जनाएको छ।

नेपाली जन सम्पर्क समिति अमेरिकाका बरिष्ट उप सभापति धनन्जय नरसिंह के सी को नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा ने कॉं महा समिति सदस्य एवंम् नेजस पूर्व संयोजक विष्णु सुबेदी, ने कॉं महा समिति सदस्य हरिबोल भण्डारी, कॉंग्रेस पुराना नेता बिधासागर योञ्जन, महाधिवेशन प्रतिनिधि प्रमोद सिटौला, नेजसका उप सभापति केशव बराल, सचिव ईश्वर सापकोटा, नेजस केन्द्रीय सदस्यहरू गोकुल ढकाल, किलन सीँ राई, चन्द्रकान्त धिताल, नेजस नर्दन क्यालिफोर्निया च्याप्टरका सभापति पूर्ण शेर्पा, पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।

स्मरण रहोस् ज्ञापन पत्र बुझाउन नेपाली जन सम्पर्क समिति अमेरिकाका सभापति एवंम् नेपाली कॉंग्रेसका नव नियुक्त आमन्त्रित केन्द्रीय सदस्य गोरख बहादुर विष्ट (आनन्द) ले निर्देशन दिनुभएको थियो ।

ज्ञापन पत्रको पूर्ण पाठ जस्ताको तस्तै,
सम्माननीय प्रधानमन्त्री श्री के.पी.ओलीज्यू
तथा नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय,
सिंहदरबार,काठमाण्डौं नेपाल
मार्फत,
माननीय मन्त्री श्री रबिन्द्र अधिकारीज्यू
नेपाल सरकार

विषय: विरोध पत्र बुझाइएको सम्बन्धमा।

सार्वभौम नेपाली जनताका प्रतिनिधिहरूद्वारा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र कार्यान्वयनको चरणमा प्रवेश गरी नेपाल राजनीतिक स्थायित्वका साथ आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्ने विश्वासमा गैह्र आवासीय नेपाली समेत आशावादी भएर बसिरहेको यस अवस्थामा केही समय यता नेपाल सरकारबाट भएका विभिन्न निर्णय र नेपाल सरकारका जिम्मेवार मन्त्री एवंम् अधिकारीहरू बाट आएका अभिव्यक्तिहरूले हामीहरूलाई दु:खीत बनाएकोले हाम्रा सरोकारहरू सहित यो ज्ञापनपत्र नेपाल सरकार समक्ष बुझाएका छौ ।

१) लोकतन्त्र, नेपाली जनताका मौलिकहक, मानवाधिकार, प्रेस स्वतन्त्रता तथा सूचनाको अधिकार र कानुनी राज्यको सुनिश्चितताका सवालमा हामी जहाँ भए पनि सदैव चासो राखिरहेका छौ, किनकि २१औ शताब्दीमा लोकतन्त्र र मानवाधिकार अन्तर्राष्ट्रिय मुद्दाहरू हुन। तसर्थ कानुनी राज्यको मर्म विपरीत जघन्य अपराधमा संलग्न बालकृष्ण ढुङेललाई दिइएको माफी, स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रता प्रतिको संकुचन जस्ता घटनाक्रमले नेपाल नियन्त्रित लोकतन्त्रको बाटोमा हिँड्न लागेको हो कि भन्ने आभास हामीलाई भएको छ।

२) नेपालको संविधान २०७२ ले सुनिश्चित गरेको “एक पटकको नेपाली सधैको नेपाली” को अवधारणा अनुरूपको प्रबन्धको बर्खिलापमा र मुलुकको सर्बाङ्गिण क्षेत्रमा योगदान गरिरहेका हामी लाखौँ नेपालीहरूको मनमा चोट पुर्‍याउने गरी नेपाल सरकारका मन्त्री श्री लालबाबु पण्डितद्वारा पटक पटक गैह्र आवासीय नेपालीहरूलाई भूतपूर्व नेपाली हुन् भन्दै संविधान प्रदत्त हक अधिकारको ठाडो हस्तक्षेप गरी सम्पत्ति माथिको अधिकार प्रतिबन्ध लगाउने अभिव्यक्ति दिएको प्रति गभ्भीर खेद व्यक्त गर्दै नेपाल सरकारको आधिकारिक धारणा यसै पत्र मार्फत हामी माग गर्दछौ।

यी विषयमा नेपाली जनसम्पर्क समिति, अमेरिका लगायत सम्पूर्ण नेपाली समुदाय नेपाल सरकारको ध्यानआकर्षण गराउँदै ,विरोध सहितको ज्ञापन पत्र बुझाऊदछौ।

जय नेपाल !

नेपाली जनसम्पर्क समिति, अमेरिका
नेपाली जनसम्पर्क समिति, नर्दन क्यालिफोर्निया च्याप्टर,
सान् फ्रान्सिस्को, क्यालिफोर्निया
अमेरिका
लालबाबूलाई जनसम्पर्क समिति अमेरिकाको चेतावनी !

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू