अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:२३ | Colorodo: 19:38

मृगौला पीडित संगीतकर्मीलाइ नगद दुई लाख सहयोग

रघु सापकोटा २०७५ असार ४ गते १९:३५ मा प्रकाशित

हङकङमा रहेर साङ्गीतिक कर्म र समाजसेवामा रमाउँदै आएकी गीतकार भद्रकला आङबुहांङ राई मानव सेवामा दत्तचित्त छिन्। समाजसेवालाई मूलकर्म बनाउँदै प्रवासमा कर्म गरिरहेकी यिनी कला र संस्कृतिलाई पनि औधी मनपराउछिन्।साहित्य सङ्गीतमा पनि यिनको रुचि बोजोड छ। गहकिला गीत सृर्जनामा यिनी दख्खल राख्छिन् ।२०७१ सालमा सङ्गीतकार सुरेश अधिकारीको एकल सङ्गीतमा एउटा गहकिलो एल्बम लिएर श्रोतामाझ आएकी यिनी अहिले पनि सङ्गीत क्षेत्रकै उत्थानमा समर्पित छिन्। छिट्टै अब नयॉ एल्बमको साथमा फेरि श्रोता सामु आउने तयारीमा रहेकी भद्रकला विदेशमा कार्यक्रम गर्ने आयोजक पनि हुन्। भव्य र सभ्य कार्यक्रमको आयोजना गर्दै आएकी भद्रकलाले आफूले गर्ने कार्यक्रमलाई समाजसेवासँग जोड्दै पनि आएकी छिन्। प्रवासमा अथक प्रयत्न गरेर पैसा जुटाएर नेपालमा परोपकारी काम गर्दै आएकी भद्रकलालाई सेवाग्राहीहरुले देवीको रूपमा बुझ्न थालेका छन् । 

हुन पनि उनले आफ्नो कामले आफूलाई देवी नै प्रमाणित गरिरहेकी छिन् । न कुनै घमण्ड न त कुनै स्वार्थ यसरी काम गर्नु पक्कै सानो कुरा होइन । आर्थिक अभावमा छटपटाई रहेका बिरामीहरूको उपचारमा सहयोग गर्ने मूल लक्ष्यमा केन्द्रित रहेर उनले आफ्नो सामाजिक सेवा चांगेधर्ति आमा कोषमा आबद्ध रहेर गर्दै आएकी छिन् । हरेक वर्ष यसै संस्थाको ब्यानरमा ‘सुमधुर साङ्गीतिक सौगात’ नामक कार्यक्रम गर्दै अर्थ सङ्कलन गर्दै अनि त्यसमा आफ्नो व्यक्तिगत केही रकम थपेर दीनदुखीहरुलाई सहयोग गर्दै आएकी छिन् । विगतका वर्षहरूमा पनि थुप्रै बिरामीहरूको उपचारमा यिनी र यो संस्था संलग्न भएको थियो । यसपालि पनि धेरैलाई सहयोग गर्ने उनको उद्देश्य रहेको छ । यो वर्ष हालसम्म बिमला लिम्बु (रु २ लाख १० हजार) पूर्ण गुरुङ (रु २ लाख), चन्चला तामाङ( रु २० हजार), स्व मंगलीमाया तामाङ (रु १० हजार), रुपेश श्रेष्ठ (१०हजार) र अन्य बिरामीहरूलाई रु ३० हजार प्रदान गरिएको छ ।

यसरी हरेक वर्ष कार्यक्रम गरेर त्यसको आर्जन आर्थिकरुपमा विपन्न वर्गमा खर्च गर्दै आएकी भद्रकला र चांगे धर्ती आमाकोष धन्यवादका पात्र बनेका छन् । कार्यक्रमबाट संकलित रकम बिरामीहरूलाई संस्थाका प्रतिनिधिहरू र नेपाल सङ्गीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति वरिष्ठ सङ्गीतकार श्री शम्भुजित बास्कोटा र प्राज्ञ तथा सङ्गीत विभाग प्रमुख लोकप्रिय गीतकार उन्नति बोहराको हातबाट प्रदान गरियो ।