अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:४५ | Colorodo: 14:00

संगठित बन्दै कोईराला परिवार

बिआरटीनेपाल २०७५ असार ३ गते ८:४४ मा प्रकाशित

काठमाडौँ- काँग्रेसमा संस्थापन पक्ष अलोकप्रिय हुँदै गएपछि कोइराला परिवारको सक्रियता बिस्तारै बढेको छ। कोइराला परिवारका तीन हस्तीहरू काँग्रेस महामन्त्री डा शशांक कोइराला, केन्द्रीय सदस्यहरू शेखर कोइराला र सुजाता कोइरालाले भेटघाटलाई बाक्लो बनाएका छन्।

शनिवार मात्र महामन्त्री सशांकको टोखास्थित घरमा शनिवार काङ्ग्रेस नेताहरूको जमघट भएको छ । त्यस जमघटमा केन्द्रीय सदस्य डा शेखर कोइराला, दिलेन्द्रप्रसाद बडू, दीपक गिरी, गुरुराज घिमिरे, सरिता प्रसार्इंलगायत नेता उपस्थित थिए । महामन्त्री कोइराला निकट स्रोतले उक्त भेटलार्इ पारिवारिक बताएको छ । तर, त्यसक्रममा राजनीतिक कुराकानी भएको थियो ।

काङ्ग्रेसभित्रको राजनीतिक अवस्था, संसद्मा काँग्रेसको भूमिका, पछिल्ला दिनमा सरकारका लोकतन्त्रविरोधी क्रियाकलापलगायत विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । यसपटकको भेटमा काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला कारणवश उपस्थित थिइनन् । तर उनी यो अभियानमामा सहभागी छिन्।

गत वर्ष साउनयता कोइराला परिवारका नेताहरूबिच भएको यो चौथो जमघट हो । गत वर्ष साउन, भदौ र माघमा शशांक, शेखर र सुजाता कोइरालाले यस्तै भेटघाट गरिसकेका छन्, जसलार्इ कांग्रेसजनले आगामी महाधिवेशनमा काँग्रेसमा कोइराला परिवारको नेतृत्व स्थापित गर्ने प्रयत्नका रूपमा अर्थ्याउँदै आएका छन् । पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्ण सिटौलासमेत कोइराला क्याम्पसँग नजिक छन्। देउवासँग असन्तुष्ट पौडेल, प्रकाशमान सिंह र सिटौलालगायतलाई गोलबद्ध गरेर देउवाविरुद्ध मोर्चाबन्दी गर्ने रणनीतिमा कोइराला क्याम्प सक्रिय देखिएको छ।
नेपाल ट्रेड युनियन काँग्रेसको चुनावमा पनि संस्थापन पक्षले नराम्रोसँग हार बेहोर्नुपरेको छ। यसअघि कर्मचारी, इन्जियनियर, शिक्षकसँग सम्बद्ध संस्थाको नेतृत्व छान्ने चुनावमा पनि देउवा पक्ष पराजित भएको थियो । देउवा पक्ष कमजोर हुँदै गएको अवस्थामा बढ्दै गएको कोइराला क्याम्पको सक्रियतालाई अर्थपूर्ण रूपमा हेरिएको छ।  

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू