अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:४९ | Colorodo: 23:04

ताम्बा ह्वाइ पुस्तक लोकार्पण

बिआरटीनेपाल २०७५ असार २ गते २२:३६ मा प्रकाशित

ताम्बा सङ्घ नेपालका केन्द्रीय सदस्य कृतधावा तामाङ घिसिङद्वारा लिखित पुस्तक ‘ताम्बा ह्वाइ’को लोकार्पण भएको छ । शनिवार काठमाडौँ सुकेधारास्थित दियो फूडल्याण्ड एण्ड रेस्टुरेन्टमा एक कार्यक्रमकाबीच तामाङ समुदायको संस्कृतिपरक पुस्तक लोकार्पण गरिएको हो । लेखकले पहिलो पटक आफ्नो दोलखा सैलुङ गाउँपालिका वडा नं. १ लगायत वरिपरि ठाउँका ह्युलठिम (ठाउँको संस्कार) मा विवाहमा ताम्बाको महत्त्व र ताम्बाले गाउने गीत उतारेका छन् । पुस्तकमा साङ–सेरकेम, खेङा, ठुङ्सा–बाप्सा र रिमठिम शीर्षकमा गीत (ह्वाई) समावेश गरिएको छ ।

सैलुङअनलाइन डट कमद्धारा आयोजित विमोचनमा प्रमुख अतिथ्यता ग्रहण गर्दै लेखक लामा टि. ग्याल्छनले यो पुस्तक समग्रमा ताम्बाको ह्युलठिम (ठाउँको रीति) सम्बन्धी रहेको बताए । लेखकले ताम्बाको शैलीमा गीत (ह्वाई), विचार सम्प्रेषण गरेको बताए । अब फेरि ल्याउँदा पुस्तकलाई सबैतिर खोज गरेर उत्कृष्ट ल्याएमा राम्रो हुने बताएका थिए ।

कार्यक्रममा मोक्तान समाजका महासचिव, लेखक ध्यानबहादुर मोक्तानले अन्तरजातीय विवाहमा ताम्बाको उपस्थिति नहुन आग्रह गरेका छन् ।त्यसै गरी पाख्रिन समाजका अध्यक्ष मणि लामा पाख्रिनले तामाङ समुदायको जन्मदेखि मृत्यु संस्कार, चलनचल्ती र हामीले व्यक्त गर्न खोजेको कुराहरू उल्लेख रहेको बताए । उनले थपे, किताबको आकार र मूल्यले वास्तविकता निर्धारण गर्न सक्दैन, लेखकले लेख्दा परिश्रम, खोज नै ठुलो मूल्य रहेको बताए ।

त्यसै गरी तामाङ घेदुङका महासचिव बाबु घिसिङले तामाङ समाजको लागि यो ठुलो कृति भएको औँल्याए । उनले लेखकप्रति धन्यवाद दिँदै लेखक स्व. सन्तबिर तामाङले लेखेको ताम्बा ह्वाइपछिको अर्को ताम्बा ह्वाई (दोस्रो पुस्तक) यो नै रहेको बताए ।

कार्यक्रममा प्रगतिशील लेखक सङ्घ काठमाडौँको उपाध्यक्ष कवि मोक्तान थेबा, तामाङ स्रष्टा समाज अध्यक्ष ङेमा थाङपाल, ग्लान समाजका सदस्य आनन्दी लामा ग्लान, घिसिङ समाजका अध्यक्ष कुमार घिसिङ, स्वयम्भु तामाङ समाजका अध्यक्ष इन्दराम मोक्तान, सैलुङ रिगसुम सेवा समाजका महासचिव कुमार थोकर, पुस्तकको कभर डिजाइनर म्हेन्दो डिजाइका प्रोपाइटर अक्कलसिंह पाख्रिन, ताम्बा सङ्घका प्रतिनिधहरु लगायत सबैले शुभकामना मन्तव्य दिएका थिए ।

विमोचनमा श्यामलाल लामाको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सहजीकरण अर्जुनबहादुर ग्लानले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू