अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५७ | Colorodo: 05:12

बजेटको विरोध नगर्नुहोस्, जन्ते बाख्रा जस्तो बाँड्न सकिँदैन’: प्रधानमन्त्री

बिआरटीनेपाल २०७५ असार २ गते १९:१६ मा प्रकाशित

प्रतिनिधिसभामा आफ्नै दलका सांसदले चर्को विरोध गरेपछि प्रधानमन्त्री केपी ओलीले बजेटको बचाउ गर्न सांसदहरूलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बजेटबारेको असन्तुष्टि संसदमा नभई पार्टीमा राख्न सांसदहरूलाई निर्देशन दिएका हुन्।अन्नपूर्णपोष्टबाट

सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट आएकाले यसको मर्म बुझ्न पनि ओलीले सांसदहरूको ध्यानाकर्षण गराए। ‘तपार्इंहरूका असन्तुष्टि जायज हुन सक्छन्, मेरै निर्वाचन क्षेत्रमा पनि के-के पर्‍यो, के-के परेन ? मैले सोचेजस्तो पनि नहुन सक्छ’, ओलीले सम्झाए।

संसदीय दलको बैठकमा बोलेका २० सांसदले मन्त्रीहरू आफ्नो जिल्ला र निर्वाचन क्षेत्रभन्दा माथि उठ्न नसकेको भन्दै प्रधानमन्त्रीसामु मन्त्रीहरूको आलोचना गरेका थिए। जवाफमा ओलीले संसद्को मर्यादा र सत्तापक्षीय दलको भूमिको ख्याल गरेर संसद्मा प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिएका थिए।

गत बिहीबारको प्रनिनिधिसभा बैठकमा मन्त्रालयगत बजेट बाँडफाँटमा मन्त्रीहरूले एकलौटी गरेको भन्दै सत्तापक्षकै सांसदहरूले मन्त्रीहरूलाई जेल हाल्नुपर्ने सम्मका अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए। सत्तापक्षीय सांसदको विरोध छरपस्ट भएपछि शुक्रबारका लागि तय गरिएको प्रतिनिधिसभा बैठक आइतबार सारेर सत्तारूढ नेकपाको संसदीय दलको बैठक बोलाइएको हो। प्रतिनिधिसभामा मन्त्रालयगत बजेटमाथिको छलफल आइतबारबाट पुनः सुरु हुँदैछ।

बैठकमा भीम रावल, योगेश भट्टराई, कृष्णभक्त पोखरेल, यज्ञराज सुनुवार, नारदमुनी राना, राजेन्द्र गौतम, गणेश ठगुन्नालगायत सांसदले मन्त्रीहरूले आफ्नै दलका सांसदका भावना कुल्चेर आफ्ना निर्वाचन क्षेत्रमा मात्र बजेट खन्याएको भन्दै चर्को आलोचना गरेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले सबै क्षेत्र र जनताका प्रतिनिधिको भावना बजेटमा समेट्न नसकिए पनि सुधार गर्न सकिने भन्दै बजेटको विरोध नगर्न निर्देशन दिएका थिए। ‘जन्ते बाख्राजस्तो कसैलाई झोल र कसैलाई चौटा मात्र परेजस्तो गरी बाँड्न सकिँदैन’, ओलीले भने।

पश्चिम सेतीको बजेट खोई ? : रावल

संसदीय दल बैठकमा नेकपा नेता भीम रावलले चिनियाँ कम्पनीबाट पश्चिम सेती कसले खोसेको भनी प्रश्न गरेका थिए। नीति तथा कार्यक्रममा पश्चिम सेती निर्माणबारे उल्लेख भए पनि बजेटमा एक रूपैयाँ पनि नछुट्याएको भन्दै आक्रोश पोखेका थिए।

‘नीति तथा कार्यक्रममा पश्चिम सेती चिनियाँ कम्पनीले बनाउने भन्ने उल्लेख थियो। तर बजेटमा सरकार आफैले निर्माण गर्ने भन्ने कुराले अन्योल छायो,’ रावलले भने, ‘यो के भइरहेको छ, हामीलाई थाहा हुन छोड्यो।’ बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहालले पश्चिम सेती निर्माणबारे छलफल भइरहेको जानकारी दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू