अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित

बिआरटीनेपाल २०७५ असार २ गते ९:२४ मा प्रकाशित

नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसको अध्यक्षमा पुस्कर आचार्य निर्वाचित हुनुभएको छ । 

छैँटौँ महाधिवेशनको निर्वाचन मतपरिणामअनुुसार आचार्यले ८१८ मत ल्याएर निर्वाचित हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी ट्रेड युनियन काँग्रेसका निवर्तमान अध्यक्ष खिलानाथ दाहालले ५३३ मत ल्याउनुभएको निर्वाचन अधिकृत गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

यस्तै वरिष्ठ उपाध्यक्षमा महेन्द्रप्रसाद यादव, उपाध्यक्ष (खुला) तेजेन्द्रजंग कार्की र अजयकुमार राई, उपाध्यक्ष (महिला) इन्दिरा सापकोटा, उपाध्यक्ष (सेवा) नेत्रविक्रम थापा, उपाध्यक्ष (उत्पादन) ललित श्रेष्ठ, उपाध्यक्ष (अनौपचारिक) आशासिंह राठौर र महासचिवमा योगेन्द्रकुमार कुँवर निर्वाचित हुनुभएको छ ।

यसैगरी उपमहासचिव (खुला) गणेशबहादुर केसी, ज्योति कोइराला, उपमहासचिव (महिला) राधिका कुँइकेल, उपमहासचिव (सेवा) सीताराम अवस्थी, उपमहासचिव (अनौपचारिक) राजेश पालिखे, उपमहासचिव (उत्पादन) ईश्वरबहादुर परियार, कोषाध्यक्ष मोहनकुमार बस्नेत र सहकोषाध्यक्ष सुशीला घिमिरे निर्वाचित हुनुभएको छ ।

यस्तै २७ केन्द्रीय सदस्य निर्वाचित हुनुभएको छ । दाहाल र आचार्यबीच दुई समूह बनाएर भएको निर्वाचनमा एक सदस्यबाहेक सबै आचार्य समूहका उम्मेदवार विजय भएका छन् ।

कूल एक हजार ४२० मतदाता रहेको ट्रेड युनियन काँग्रेसमा एक हजार ३९८ मत खसेको निर्वाचन समितिका सदस्य अरुण पौडेलले जानकारी दिनुभयो ।

नवनिर्वाचित अध्यक्ष आचार्यले रासससँग कुरा गर्दै नेपाल ट्रेड युनियनको शाख अभिवृद्धि गर्दै, मजदूरलाई आर्थिकरुपले सरल र समुन्नत बनाउँदै उनीहरुको पहुँच अभिवृद्धि गर्ने र समतामूलक समाज निर्माण गर्ने दिशामा अगाडि बढ्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू