अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५४ | Colorodo: 05:09

पारवहन सन्धिमा हस्ताक्षर हुन्छ परराष्ट्रविद्

बिआरटीनेपाल २०७५ असार २ गते ७:५५ मा प्रकाशित

काठमाडौँ,  प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमणमा नेपाल–चीनबिच पारवहन तथा यातायातसम्बन्धी सन्धिमा हस्ताक्षर हुनसक्ने प्रबल सम्भावना रहेको परराष्ट्र मामिलाका जानकारहरूले सङ्केत गर्नुभएको छ ।

आज यहाँ आयोजित साक्षात्कारमा नेकपाका नेता एवं परराष्ट्र मामिलाका जानकार डा राजन भट्टराईले आगामी मंगलबारबाट हुने प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा पारवहन र यातायात क्षेत्रमा सहयोग आदानप्रदान सन्धिमा हस्ताक्षर हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाललाई विकास र समृद्धिको बाटोमा अघि बढाउने सन्दर्भमा प्रधानमन्त्रीको आगामी चीन भ्रमण ऐतिहासिक कोशेढुङ्गाको रूपमा साबित हुनेछ, पारवहन तथा यातायात क्षेत्रमा सहकार्य गर्ने सन्दर्भमा काजगपत्रको आदानप्रदान भइरहेको छ ।”

नेपालमा राजनीतिक स्थिरता कायम भई अत्यधिक जनाधारसहितको सरकार गठन भएको हुँदा विकास र समृद्धिका लागि चीनको सडक, रेल, ऊर्जा, सिँचाइ, पर्यटनगायत पूर्वाधार क्षेत्रमा लगानी र सहयोग हुनेसक्ने बताउँदै नेता डा भट्टराईले समुद्रको तटसम्मको पहुँच नेपालको अधिकार मात्र नभई प्राथमिकताको विषय हो भन्ने पक्षलाई छिमेकी चीनले बुझेको छ भन्नुभयो ।

पूर्वराजदूत डा सुरेश चालिसेले राजनीतिक स्थायित्वपछि गठन भएको वर्तमान सरकारको विकास र समृद्धिको नारालाई सार्थकता प्रदान गर्न राम्रो कूटनीतिक प्रयोग भएमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमण निकै उपलब्धिमूलक हुनसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालको पर्यटन, ऊर्जा, कृषि, जलश्रोत र पूर्वाधार विकासमा चीनलाई विकासको साझेदार बनाउनुपर्छ, समृद्धि र विकासमा एकढिक्का भएर अघि बढ्नुपर्ने बेलामा राजनीतिक प्रणाली र सिद्धान्त फेरबदलको कुरा उठाउँदा लगानी र सहयोगको उत्साहमा कमी आउने सक्ने पक्षलाई हेक्का गर्न आवश्यक छ ।”

अर्का पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले नेपालको समृद्धिका लागि चीनलाई विकासको साझेदार बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । प्रधानमन्त्रीको आसन्न चीन भ्रमणमा पारवहन र यातायातका विषयमा सन्धिमा हस्ताक्षर हुनुपर्दछ भन्दै उहाँले भन्नुभयो, “नेपालको व्यापार घाटालाई सन्तुलन ल्याउन तथा निर्यात बढाउन कृषि, उद्योग र उत्पादनका क्षेत्रमा संयुक्त लगानी प्रवर्द्धन गर्नुपर्छ । प्रधानमन्त्रीको आगामी भ्रमणबाट जलश्रोत र ऊर्जा क्षेत्रमा नयाँ अध्याय सुरु हुनेछ ।”  

प्रतिक्रिया