अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०५ | Colorodo: 01:20

रुसका लागि बहुमूल्य अंक

बिआरटीनेपाल २०७५ जेठ ३१ गते २०:०४ मा प्रकाशित

काठमाडौँ — बिहीबारदेखि रुसमा विश्वकप सुरु भएको छ । पहिलो खेलमा घरेलु टिम र साउदी अरेबिया भिडेका थिए । त्यसमा रुस सजिलै ५–० ले विजयी रह्यो । रुसका लागि यो खेलबाट प्राप्त ३ अंक निकै बहमूल्य हुनेछ र यसले उसको दोस्रो चरण पुग्ने सम्भावना बलियो भएको छ ।कान्तिपूर दैनिकबाट

अर्कोतर्फ साउदी टिमलाई हारले निकै अप्ठयारो स्थितिमा पुर्‍याएको छ। यो समूह ‘ए’ का अरु दुई टिम इजिप्ट र उरुग्वे निकै बलिया छन्। अब उनीहरूसँग खेल्दा साउदी अरेबिया अझ दबाबमा हुन सक्नेछ।
रुसलाई आफनो घरेलु मैदानमा खेल्न पाएको फाइदा पनि देखियो। पहिलो हाफमा रुसले लामो पासको मदतले आक्रमण गर्न खोजिरहेको थियो। त्यसमा रुस सफल पनि देखियो। रुसको रक्षापंक्ति पनि निकै मजबुत देखिएको र यसक्रममा साउदी अरेबियालाई कुनै पनि मौका दिएको थिएन्। रुसको रणनीति नै लगभग ‘काउन्टर एटायक’ जस्तो देखिन्थ्यो। बलियो रक्षापंक्तिबाट बल अगाडि लगेर अग्रपंक्तिले लगातार आक्रमण गरिरहेको थियो।
फुटबलको एउटा सिद्धान्त अनुसार दुई प्रकारले खेल्न सकिन्छ, रक्षापंक्तिबाट अग्रपंक्तिमा जाने, अथवा अग्रपंक्तिबाट रक्षापंक्तिमा जाने। यसलाई ‘ट्रान्सिजन पिरेड’ भनिन्छ। रुसले लिएको रक्षापंक्तिबाट अग्रपंक्ति जाने नीति निकै सफल देखियो। त्यसबाट नै गोल निस्केको देखियो। खेलमा रुसको बलमाथि नियन्त्रण पहिलो हाफमा ४० प्रतिशत मात्र थियो। समग्र रूपमा पनि रुसले खालि ४० प्रतिशत मात्र बलमाथि नियन्त्रण गरेको देखियो।
यसरी बलमाथि कम नियन्त्रण भएपनि ‘काउन्टर एटायक’ को मदतले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो। साउदी अरेबियाले खालि छोटो छोटो पास खेल्न रूचाएको देखियो र यो रणनीतिनै रहेको देखियो। यसक्रममा साउदी टिमले बलमाथि धेरै प्रतिशत नियन्त्रण लिएको पनि देखियो। साउदी अरेबियाले आक्रमण गर्नु भन्दा पनि बलमाथि बढी नियन्त्रण गर्ने खोजेको देखियो र यसक्रममा धेरै गलत पास पनि खेलेको पनि देखियो। यसै कारणले उनीहरू रक्षापंक्तिबाट अग्रपंक्तिमा खेल्न चुके।
यसले रक्षापंक्तिमा दबाब पनि देखियो। रुसका लागि १२ औं मिनेटमा युरी ग्याजनिस्कीले गरेको पहिलो गोलमा साउदी टिमले राम्रोसँग ‘मार्किङ’ गर्न सकेको थिएन्। खासमा साउदी टिमले खाएका सबै गोलमा यही कमजोर ‘मार्किङ’ नै जिम्मेवार रह्यो। फुटबलमा अहिलेसम्मको प्रवृतिको अनुसार खेलको सुरुआती १५ मिनेट, पहिलो हाफको अन्तिम ५ मिनेट, दोस्रो हाफको सुरुआत १० मिनेट तथा अन्तिम २० मिनेटमा बढी गोल हुने गर्छन्।
साउदी अरेबियाले यही समयमै गोल खाएको देखियो। साउदी अरेबियाले खासै आक्रमण पनि गर्न सकेन, तीन सट मात्र ‘टार्गेट’ मा थियो। शारीरिक रूपमा रुसको अगाडि साउदी खेलाडी निकै पछाडि देखियो। रुसी प्रशिक्षकले खेलाडी ‘सब्टिच्युट’ मा पनि राम्रो निर्णय गरेको देखियो। उनले गरेको दुई सब्टिच्युटबाट तीन गोल निस्केको थियो। समग्रमा भन्दा रुसले प्रतियोगिताको पहिलो खेलमा प्रभावशाली जित निकाल्न सफल रहेको देखियो।
(नवीन नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी हुन्। उनी हाल आर्मीका प्रशिक्षक रहेका छन्। उनले केही समय अगाडि मात्र एसियाली फुटबल महासंघको प्रशिक्षक ‘ए’ लाइसेन्स कोर्स उतीर्ण गरेका छन्।)
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू