अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४६ | Colorodo: 06:01

पूर्वयुवराज पारस थापाथली ट्राफिकको फन्दामा, यस्तो छ कारण

बिआरटीनेपाल २०७५ जेठ ३१ गते १०:१८ मा प्रकाशित

घटना गत सोमबार (२८ जेठ) को हो । स्थान, जावलाखेल चोक । दिउँसो एउटा गाडी ट्राफिक नियमको बेपर्वाह गर्दै हुइँकियो । चोकमा तैनाथ ट्राफिक प्रहरीको नजर गाडीमा पर्‍यो । बा१४प २१३१ नम्बरको गाडी थियो ।

कोसिस गर्दा पनि प्रहरीले गाडी नियन्त्रणमा लिन सकेन । ट्राफिक नियम मिच्दै गाडी पुल्चोकतिर हुइँकियो । जावलाखेल ट्राफिकले तत्काल हरिहर भवनको प्रहरीलाई फोन गरेर भन्यो, ‘एउटा गाडी अनियन्त्रित गतिमा त्यतातिर आउँदै छ । चालक विदेशीजस्तो देखिन्छ । दुर्घटना निम्त्याउन सक्ने खतरा छ । नियन्त्रणमा लिनू ।’

हरिहर भवनको ट्राफिक तयारी अवस्थामा बस्यो । नभन्दै बेतोडले हुइँकिएको गाडी हरिहर भवन आइपुग्यो । नजिकै आइपुगेपछि ट्राफिकले सिठी फुक्दै रोक्न संकेत गर्‍यो । तर, सुनेको–नसुन्यै गरी चालकले झन् गेयर बढायो । हरिहर भवनका ट्राफिक प्रहरी पनि जावलाखेलका झैँ हेरेको–हेर्‍यै भए ।

हरिहर भवनबाट पनि अगाडि बढेपछि गाडी रोक्नुपर्ने खबर कुपन्डोल र थापाथली ट्राफिकमा पुग्यो । कुपन्डोलका ट्राफिक पनि तत्काल ‘एक्सन’मा खडा भए । तर, उनीहरूले रोक्न खोज्दा पनि गाडी रुकेन । कुपन्डोलका ट्राफिकलाई हैरान पार्दै गाडी थापाथलीतिर कुद्यो ।

थापाथली ट्राफिकले नयाँ जुक्ति निकाल्यो । उक्त गाडी थापाथली आइपुग्नै लाग्दा ट्राफिकले त्यस अगाडिका चार–पाँच गाडी रोकिदियो । अब बा१४प २१३१ नम्बरको गाडी उम्किने अवस्था भएन । त्यसो त त्यहाँबाट फुत्किएको भए पनि माइतीघर र त्रिपुरेश्वरका ट्राफिक पनि तयारी अवस्थामा थिए ।

थापाथलीका दुई/तीन ट्राफिक गाडी रोकेर नजिकै पुगेपछि गाडीको सिसा झार्दै चालक बोले, ‘ह्वाट ह्यापन्ड?’ ट्राफिकले कागजपत्र मागे । चालकले सहजै उपलब्ध गराए । एक ट्राफिकले भने, ‘गाडीको नम्बर पनि स्पष्ट देखिँदैन त ?’ चालक गाडीबाट ओर्लिएर नम्बर प्लेटमा लागेको माटो टालोले सफा गरे ।

चालक गाडीबाट झर्नेबित्तिकै जाममा परेका मोटरसाइलकमा सवारहरु चिच्याए, ‘पारस शाह ।’ त्यसपछि त सडकमा हल्लीखल्ली नै भयो । जावलाखेल चोकबाट प्रहरीले निगरानीमा राखेका ति चालक पूर्व युवराज पारस शाह थिए । आजको नयाँ पत्रिका दैनिकमा विश्वास खड्काथोकीले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू