अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५६ | Colorodo: 22:11

प्रदेश नं ५ः नीति कार्यक्रम पारित

बिआरटीनेपाल २०७५ जेठ ३० गते ९:३४ मा प्रकाशित

प्रदेश नं ५ को सरकारले ल्याएको नीति तथा कार्यक्रम आज सर्वसम्मत पारित भएको छ । 

प्रदेश नं ५ प्रदेशसभामा सभामुख पूर्णबहादुर घर्तीले नीति कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । त्यस्तै प्रदेश नं ५ प्रदेश वित्त व्यवस्थापन विधेयक, २०७५, प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ पनि सर्वसम्मतिले पारित भएको छ ।

दुवै विधेयक र नीति कार्यक्रम पारित भएपछि प्रदेश सरकारलाई बजेट ल्याउने बाटो खुलेको छ । यसअघि मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री शङ्कर पोखरेलले दुवै विधेयक र नीति कार्यक्रम प्रदेश सभामा पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रदेश नं ५ प्रदेश कर तथा गैरकर राजश्वसम्बन्धी विधेयक, २०७५ प्रस्तुत गर्दै उहाँले धेरैजसो कर स्थानीय तहले उठाउने व्यवस्था संघीय कानूनले गरेकाले प्रदेश सरकारले स्थानीय तहसँग बलियो सम्बन्ध र सहकार्य गर्नुपर्ने बताउनुभयो ।

मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजनामन्त्री पोखरेलले स्रोतको परनिर्भरता स्थानीय तहसँग भएको जानकारी दिँदै समन्वय र सहकार्यबाट समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो । उहाँले भन्नुभयो, “विगतका नीति कार्यक्रम र बजेट आवधिक थियो तर यस पटक विस्तृत दृष्टिकोणका साथ हामी अघि बढ्दैछौँ ।”

प्रदेश नं ५ मा आगामी असार १ गते बजेट आउँदैछ । यस्तै नियमावली संशोधन मस्यौदा समितिका अध्यक्ष दामाकुमारी शर्माले प्रदेश सभा नियमावली, २०७४ लाई संशोधन गर्न बनेको नियमावली संशोधन मस्यौदा समितिको प्रतिवेदन सभामा प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू