अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३१ | Colorodo: 08:46

सिङ्गापुर वार्तामा धेरै प्रगति भयो– राष्ट्रपति ट्रम्प

बिआरटीनेपाल २०७५ जेठ २९ गते ८:३५ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबिचको विश्वले नै तीव्र रूपमा प्रतीक्षा गरेको शिखर वार्ता मङ्गलवार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उहाँहरू दुवै जनाबिच अनुवादक मात्र राखेर सिङ्गापुरको एक होटेलमा एक्लाएक्लै गरिएको सो वार्ता निकै सकारात्मक रूपमा सम्पन्न भएको अमेरिकी राष्ट्रपति ट्रम्पले जानकारी दिनुभएको छ । 

वार्तापछि राष्ट्रपति ट्रम्पले भन्नुभयो– मलाई सोध्नुहुन्छ भने वार्तामा एकदम राम्रो प्रगति भएको छ, यस वार्ताले हामीलाई एकदम सफलता दिनेछ ।  मङ्गलवार बिहानको छोटो वार्तापछि सम्वाददातालाई प्रतिक्रिया दिँदै उहाँले वार्तामा निकै धेरै प्रगति भएको छ, यसले हामीलाई भोलिका लागि पनि सकारात्मक वातावरण निर्माण गरेको छ । वार्तामा बस्नुअघि उत्तर कोरियाली नेताले भन्नुभएको थियो– यस वार्ताका लागि सिङ्गापुरसम्म आइपुग्न सजिलो थिएन, कैयौँ अप्ठ्याराहरू थिए तर हामी आयौँ ।

सिङ्गापुरको पर्यटकीय टापु सेन्टोसास्थित कापेला होटेलमा अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमले एक अर्कासँग हात मिलाएर हाँस्नुभएको थियो ।  उहाँहरूले हात मिलाउने स्थानमा अमेरिका र उत्तर कोरियाको झन्डा राखिएको थियो । राष्ट्रपति ट्रम्प अमेरिकाको झन्डा भएतिर जानुभयो र नेता किम उत्तर कोरियाको झन्डा भएको स्थानमा पुग्नुभयो । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु उभिएर पहिला हात मिलाउनुभयो, एक अर्काको पिठ्यूँमा धाप मार्नुभयो र सञ्चारका लागि फोटो खिच्न केही सेकेन्ड उभनिुभएको थियो ।

त्यसपछि सोही स्थानमा उभिएका आ–आफ्ना अनुवादकहरूको सहयोगमा केही शब्द आदानप्रदान गरेर एक्लाएक्लै वार्ताका लागि होटेलको अर्कै कक्षमा प्रवेश गर्नुभएको थियो । उहाँहरू वार्ता कक्षमा प्रवेश गर्दासम्म नै टेलिभिजन र अखबारका क्यामेराले पछ्याइ नै रहेका थिए । फोटो लिनका लागि त्यहाँ सयौँ क्यामेरा पुगेका थिए । बहालवाला अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबिच हुने भनिएको यस वार्ताको यस महत्त्वपूर्ण घटनाका लागि विश्वका सञ्चारमाध्यमहरूले निकै पहिल्यै देखि नै समाचार सम्प्रेषण गरिरहेका थिए ।

अहिले पनि सिङ्गापुरमा विश्वका हजारौँ पत्रकार उपस्थित भएका छन् । वार्तामा प्रवेश गर्नुअघि पनि उहाँ पत्रकारहरूसँग आशावादी देखिनुभएको थियो । त्यस समयमा संक्षिप्त कुरिगर्दै राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँग अहिलेसम्म नभएको सम्बन्धको विकास हुनेछ भन्नुभएको थियो । वार्ताका लागि एक स्थानीय होटेलमा प्रवेश गर्नुअघि उहाँहरूले होटेल बाहिरै हात मिलाउनुभएको थियो ।

यसरी हात मिलाएपछि विश्वका सञ्चारमाध्यमहरूले अमेरिकाको बहालवाला राष्ट्रपति र उत्तर कोरियाली नेताबिच पहिलो पटक ऐतिहासिक भेट भएको भनेर प्रचार सुरु गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू