अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१६ | Colorodo: 02:31

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालद्वारा बजार अनुगमन

बिआरटीनेपाल २०७५ जेठ २८ गते १०:४७ मा प्रकाशित

सरकारले बालाजु ‍औधोगिक क्षेत्र भित्रका डेरीको अनुगमन गरी जनता प्रति  उत्तरदायी नभएको भन्दै आधुनिक डेरी प्रडक्ट प्रा.लि.का तीन वटा गोदाममा सिलबन्दी गरेको छ ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल र राज्यमन्त्री रामकुमारी चौधरीको नेतृत्वमा गएको अनुगमन टोलीले बालाजु औधोगिक क्षेत्रभित्र रहेका आधुनिक डेरी, सामूहिक कृषक डेरी र दूग्ध विकास संस्थानको डिडिसीको अनुगमन गरेको हो ।

अनुगमनपछि कृषि मन्त्री खनानले बजारबाट ३० वटा ब्राण्डका दुधको नमुना संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएको बताउँदै त्यसको रिपोर्टका आधारमा जनताको स्वास्थ्य माथि खेलवाड गर्ने कुनैपनि उत्पादकलाई नछोडिने बताउनु भयो । छ महिनासम्म निरन्तर अनुगमनलाई निरन्तरता दिनेपनि मन्त्री खनालले त्यस बखत जानकारी गराउनु भयो ।

अनुगमनका क्रममा निजी क्षेत्रबाट संचालित दुई वटा डेरीहरु आधुनिक डेरी र सामूहिक कृषक डेरीमा सरसरफाईमा ध्यान नदिनुका साथै अत्यधिक मात्रामा पाउडर दूधको प्रयोग गरेको भेटियो । ती डेरीले नेपालमै उत्पादित तथा भारतबाट आयातित उत्पादन मिति र म्याद सकिने मिति नखुलाइएको पाउडर दुध प्रयोग गर्ने गरेको भेटियो ।

अनुगमन टोलीले म्याद नखुलाइएका पाउडर दुध भण्डारण गर्ने फोहोर गोदाम २ वटा र काष्टिक सोडा भण्डारण गरिएको गोदाम संचालकले साँचो नभेटिएको भनी नखोलेपछि त्यसमा पनि सिलबन्दी लगाएको छ ।

यसै गरी सुलभ दुध, दही, घिउ लगायतका दुग्धजन्य पदार्थ उत्पादन गर्ने सामुहिक कृषक डेरीले पनि दुग्धजन्य उत्पादनहरुको तापक्रम कायम नगरेको, पास्चराइज्ड गर्दा मेसिनको सट्टा आगो बालेर तताउने गरेको र सरसफाईमा ध्यान नदिएको पाइयो ।

सरकारी स्वामित्वको डिडिसीमा भने सरसफाई र अन्य आवश्यक मापदण्ड पूरा गरेको पाइए पनि ५० वर्ष पुरानो संस्थानका जीर्ण उपकरणहरु आधुनिक र समय अनुकुल परिवर्तन गर्नुपर्ने आवश्यकता अनुगमन टोलीले औल्यायो ।।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू