अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४२ | Colorodo: 18:57

ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:४७ मा प्रकाशित

उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर पुग्नुभएको छ । 

उहाँहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख मुद्दा हुनेछ जसलाई राष्ट्रपति ट्रम्पले शान्तिका लागि ‘एक पटकका लागि प्रयास’ भन्नुभएको छ । कोरियाली प्रायद्वीपमा लामो समयदेखि घोषणा गरिएको युद्धविरामलाई शान्ति प्रक्रियामा परिणत गर्नु पनि सम्मेलनको उद्देश्य रहनेछ ।

सम्मेलनका लागि कोरियाली नेता किम एअर चाइना ७४७ को उडानमार्फत सिङ्गापुर उत्रिनुभएको छ । “यदि सम्मेलन सफल भएमो दुई नेतालाई भेट गराउने सिङ्गापुरका प्रयास ऐतिहासिक बन्नेछ,” किमले विमानस्थलबाट उत्रिएपछि सञ्चारकर्मीसँग गरेको संक्षिप्त कुराकानीमा बताउनुभयो ।

त्यसैगरी अमेरिकी राष्ट्रपति पनि औद्योगिक राष्ट्रहरूको समूह जी–७ को क्यानडामा भएको सम्मेलनमा सहभागी भै आइतबार नै सिङ्गापुर आइपुग्नुभएको छ । उहाँलाई स्वागत गर्न पुग्नुभएका सिङ्गापुरका अधिकारीसँगको कुराकानीमा ट्रम्पले सम्मेलनबारे धेरै राम्रो महशुस गरेको बताउनुभएको छ ।

दुई नेताको सुरक्षाका लागि सिङ्गापुरका अधिकारीले सम्मेलनस्थल र वरपरका क्षेत्रमा अत्यन्तै कडा सुरक्षाको प्रबन्ध गरेको बताएका छन् । शिखर सम्मेलन जुन १२ मा शुरु हुनेछ ।

यसैबीच सम्मेलनका लागि सिङ्गापुरमा हुने खर्च एक करोड ५० लाख अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
खर्चबारे बोल्दै सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले संयुक्त राज्य अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीच हुने शिखरवार्ताका लागि उहाँको देशले खर्च एक करोड ५० लाख अमेरिकी डलर खर्च गर्ने बताउनुभयो ।

खर्चको आधा भाग दुई नेताको सुरक्षा प्रबन्धका लागि हुने बताइएको छ । उहाँले सिङ्गापुरले एउटा अन्तर्राष्ट्रिय शान्ति प्रयासका लागि उक्त खर्च बेहोर्नु उचित हुने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू