अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

बहु चर्चित गायक राजु लामा पहिलो पटक पोर्चुगल आउँदै

वाईबि तमु, पोर्चुगल २०७५ जेठ २७ गते ९:४३ मा प्रकाशित

नेपालको बहुचर्चित म्युजिक ब्यान्ड “मङ्गोलियन हर्ट” का मुख्य गायक राजु लामा आगामी अगस्ट ५ तारिख २०१८ मा पोर्चुगल आउने कार्यक्रम रहेको छ । तामाङ्ग समाज पोर्चुगलले आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्न गायक लामा पोर्चुगल आउने भएका हुन ।

दुई दशक अगाडी निक्कै चर्चा बटुलेको म्युजिक ब्याण्ड मङ्गोलियन हर्ट र गायक राजु लामाले हजारौँ गीतमा आफ्नो स्वर दिएका छन् । पछिल्लो समय अमेरिकालाई कार्यक्षेत्र बनाउँदै आएका गायक लामा अमेरिका भासियो भनेर उनका फ्यानहरुले निक्कै दुख पोखे पश्चात् उनले  “हल्ला चलेछ राजै चर्चा चलेछ, विदेशैमा बसेछ भनेर………भन्ने गीत मार्फत श्रोता तथा दर्शकहरूलाई सान्त्वना दिएका थिए जून गीत निक्कै चर्चित पनि भयो ।

पोर्चुगलको नेपाली डायस्पोरामा रहेका गायक लामाका फ्यानहरु उनको पोर्चुगल आउने खबरले निक्कै खुसी भएका छन् भने आयोजक तामाङ्ग समाज पोर्चुगलले उनको कार्यक्रमका लागि राजधानी लिस्वोन स्थित “मेर्काडो दि रिबेइरा” काईस दो सोद्रेको महँगो हल बुक गरिसकेको छ । कार्यक्रममा सात सय भन्दा बढी अडियन्सहरु उपस्थित हुने विश्वास राखेको तामाङ्ग समाजकी अध्यक्ष तथा कार्यक्रम मूल आयोजक समितिकी संयोजक सुनिता तामाङ्गले बताउनु भएको छ ।

उक्त कार्यक्रमको प्रचार प्रसारका लागि पोर्चुगलमा सक्रिय रहेका विभिन्न अनलाइन पोर्टलहरु मिडिया पार्टनरका रूपमा रहेका छन् भने टिकट तथा पोष्टर सार्वजनिक भई सकेको छ । कार्यक्रम भव्य र व्यवसिथत बनाउन अग्रिम टिकट लिनेहरुका लागि १५ युरो तोकिएको छ भने सोही दिन कार्यक्रम स्थलमा टिकट लिनेहरुका लागि २० युरो तोकिएको छ ।

पोर्चुगलको नेपाली डायस्पोरामा सक्रिय विभिन्न सङ्घ संस्था, मिडीयाकर्मी, लगायत सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदी बहिनीहरूलाई उक्त सांस्कृतिक कार्यक्रम सफल पार्न आ—आफ्नो क्षेत्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष सहायोग गर्नका लागि मुख्य आयोजक तामाङ्ग समाज, पोर्चुगलले अनुरोध समेत गरेको छ । 

प्रतिक्रिया