अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२० | Colorodo: 05:35

मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने

बिआरटीनेपाल २०७५ जेठ २७ गते ९:११ मा प्रकाशित

चितवन । नारायणगढ–मुग्लिन सडकको काम सकिन लागिएपछि मुग्लिनदेखि नौबिसेसम्मको सडकखण्डलाई पनि स्तरोन्नति गरिने भएको छ ।राजधानी काठमाडौँ प्रवेश गर्ने र बाहिरीने लाइफलाइनका रूपमा रहेको यस सडकलाई सहज बनाउन लागिएको हो ।

मुग्लिनबाट नौबिसेसम्म त्रिशूली नदीको पारि पनि सडक बनाइने भएको छ । सडक विभागका वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार अहिले सडक रहेको क्षेत्रको पारिपट्टि २८ किलोमिटर सडक बनाइने छ । मुग्लिनदेखि नौबिसेसम्मको दुरी ९६ किलोमिटर छ । अग्ला र कडा चट्टान भएको क्षेत्रमा पारिपट्टिबाट सडक निर्माण गर्न लागिएको हो । तीन ठाउँबाट नदी पार गरी सडकमा जोडी दिइने छ ।
श्रेष्ठका अनुसार सो सडकको विस्तृत अध्ययन भई अर्थ मन्त्रालयमार्फत बजेटका लागि विश्व बैङ्कमा पठाइएको छ । अध्ययन पनि विश्व बैङ्कका प्राविधिक समूहले गरेको हो ।

यो सडक निर्माणका लागि विश्व बैङ्क सकारात्मक रहेकाले छ÷सात महिनाभित्रमा सडक निर्माणका लागि बजेटको टुङ्गो लाग्ने अनुमान छ । उक्त सडक निर्माणका लागि झन्डै २३ अर्ब खर्च हुने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए ।

काम सुरु भएको ३ वर्ष ६ महिनाभित्र सक्ने गरी काम गर्ने तयारी गरिएको छ । बारीपट्टिको सडकले चितवन र धादिङ हुँदै काठमाडौँ जोड्दा छ भने पारिपट्टि गोर्खा, धादिङलाई काठमाडौँ जोडिन्छ ।

वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार सिस्ने खोलाबाट टुटीपाखासम्मको भागमा २.७ किलोमिटर लामो सुरुङ मार्ग बनाइने छ । अहिले गरिएको अध्ययनअनुसार सडक सम्पन्न हुँदा ८ किलोमिटर छोटो हुने र २० मिनेट समय कम लाग्ने उहाँले बताए। हाल सो सडकमा एउटा गाडी बिग्रँदा सडक अवरुद्ध हुने गरेको छ ।

सडकको स्तरोन्नति भएसँगै एउटा गाडी बाटोमा बिग्रँदासमेत दोहोरो आवतजावत गर्न सक्नेछन् । हाल सो सडक सात मिटर फराकिलो छ । गाडी बिग्रँदा पनि दोहोरो सवारी गुड्न नौ मिटर फराकिलो सडक चाहिन्छ ।

नारायणगढ–मुग्लिन सडकको स्तरोन्नति गरी नौ मिटरदेखि ११ मिटरसम्म फराकिलो बनाइएको छ । यो सडक स्तरोन्नति भएसँगै सवारी चाप मुग्लिन–नौबिसे सडकमा बढी पर्ने छ । सो सडक पनि स्तरोन्नति गर्दा राजधानी काठमाडौँ जाने आउने सवारीलाई सहज हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू