अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:२० | Colorodo: 18:35

सरकारी स्कुलको बकपत्र

पेशल आचार्य २०७५ जेठ २६ गते १२:३६ मा प्रकाशित

निबन्ध

म सरकारी स्कुल । वर्तमान धूमिल भए पनि गौरवपूर्ण छ –मेरो इतिहास । मेरा कक्षाकोठा, परिसरमा खेलेका, कुदेका, रमाएका, झ्यामिएका र पढेका लाखौँलाख मेधावी, मध्यम र निम्न स्तर भएका विद्यार्थीहरू पनि देश र विदेश हाँक्ने चालक, सहचालक र निर्देशक भएका छन् भन्ने सुन्दा मेरो प्राण पखेरू उड्न लागेको शरीरमा एकाएक भित्र सुसुम्ना शीर्षकबाटै अपार जोस र अविछिन्न ऊर्जा भरिएर आउँछ । तर विडम्बना के गर्नु, आज नयाँ भनिने नेपालका निर्णायक तहमै बसेका मेरा चेला चपेटाहरूले नै मेरो हुर्मत लिने काम जो गरेका छन् त्यो देख्दा, सुन्दा र भोग्दा मेरा चक्षुबाट बलिन्द्र धारा अश्रुविन्दुहरू अजश्ररूपमा टप्किन्छन् र एकाएक अपलक धर्तीमातालाई चुम्न पुग्छन् । मेरो इतिहासमा बनावटी गर्व गर्दै दुईअर्थी खेल खेलेर आज वर्तमानलाई धज्जी उडाउने काम भएको छ, सायद यो मेरा सन्ततीको मेरा दूध प्रतिको मनितो पक्कै होइन क्यारे ! निदानहरूले नगर्नु गरेका छन् भविष्यमा एक दिन पक्कै पछुताउने छन् ।

जंगबहादुरले बेलायत यात्रा गरेर देशमा आएपछि औपचारिक रूपले थापाथली दरबारका दाख चोकमा ‘दरबार स्कुल’ खोलेको भन्ने मैले पनि इतिहासमा पढेको हुँ । ज्ञान छर्ने मेसोमा जनताका छोराछोरीलाई शिक्षित र चेतनशील बनाउन सोही सिको गरेर जयपृथ्वीबहादुर सिंह र अवाल ब्रह्मचारी षडानन्द अनि महानन्द सापकोटाजस्ता मनिषीहरूका चेतनाका उभारमा खोलिएका सरकारी विद्यालयहरू पनि शिशिर ऋतुका वटवृक्षझैँ बन्न बाध्य भएका छन् । यो कटुसत्य र यथार्थ दृश्य म मेरा सजल नेत्रले हेर्न सकिरहेको छैन । अहिले दरबार स्कुलका शाखा सन्तानभन्दा घरबार जोड्ने स्कुलका शाखा सन्तानहरू बढेको बेला छ । द्रव्यमुखी समाजमा यिनैको अहर्निष राइँदाइँ देख्दा बुढो भैसकेको मेरो चसक्क दुख्छ । प्रचारवाजी गरेर निजी स्कुलका बिजीहरूको महत्त्व बढेको देखाइएको छ । पाइन उक्लिएको फूर्तिफार्ती बढेको छ । घरबार जोड्ने स्कुलहरूमा पढेका धेरै प्रतिभावान् चेलाचेलीहरू एकाएक देश छाडेर विदेश गा’का छन् । उतैका स्थायीवासिन्दा भा’का छन् भन्ने सुन्दा मेरा कान डम्म फुलेर आउँछन् ।

निरूपाय नभए पनि उपायचाहिँ नास्ति छन् यतिखेर –मसँग । मैले जसजसलाई मेरा झर्झराउँदा बैँसका ती ऊर्जामय दिनमा शिक्षादीक्षा दिएँ तिनै मेरा सन्तान र दरसन्तानहरू आज मेरा समूल हितमा काम गर्नु त परै जाओस् उल्टै मेरो साख जोगाउने सम्मको काम नगर्ने बैरीका पोथ्राझैँ भैदिए । माकुराले जन्माएका बच्चाले आमालाई नै सिकार बनाउँछन् भनेको यस्तै परिवेश चित्रणका लागि होला, हगि ?

राणकालमा मेरा विरुद्ध सौतेनी संस्था खोलेर शैक्षिक बद्ख्वाइँ गर्ने कोही जन्मेकै थिएनन् भने हुन्छ । कालबेला फेरिएपछि क्रमशः राणाहरू गए खोपीका साहहरू आए । अतः देशमा सुनझुल्के बिहानीलाई स्वागत गर्दै प्रजातन्त्र पनि आयो । पञ्चायतका निकै कोहराम मच्चिएका कालावधिमा समेत मेरो उम्दो र उँचो शिर निगुरमुन्टी ‘न’ बनाई सकिएको थिएन । रहँदाबस्दा चालिसको दशकसम्म मेरो रोब, रवाफ, शान, मान र गान बेग्लै थियो । त्यो बेलामा यति बग्रेल्ती बोर्डिङ् स्कुलहरू खुलेका थिएनन् । ती बहुदलका गर्भ मै थिए या बहुदले नेताका दिमागमा भर्खरभर्खर बेपारका बीज बनी विचारका रूपमा सल्बलाउँदै थिए । जब खुला समाजको बिगुल फुक्दै २०४६ सालमा प्रजातन्त्रको पुनरोदय भयो अनि मुलुकले खुला अर्थनीति अवलम्बन गर्न बाध्य हुनु प¥यो । सोही खुकुलोपनको फाइदा उठाउँदै र मुलुकमा भएका तात्कालीन कमजोर नीति नियममा एकातिरबाट पौरी खेल्दै र अर्कातिरबाट गोताखोर शैलीमा राजधानी र गरिबधानी दुवै स्थानहरूमा बर्खाका च्याउ उम्रिएसरि ह्वारररररअ निजी स्कुलहरू आएका हुन् भनेर मेरा पक्षधर शिक्षाविद् अझै वकालत गर्ने गर्दछन् । बिचरा तिनका घाँटीका नसा सुकिसकेका छन् तर सरकार तिनको झिनो स्वरलाई करुण रसको संज्ञा दिइटोपल्छ । सुधारका गुन्जाइस छन् र पनि किन केही माखो मार्ने काम गर्न चाहँदैन ?

निजी स्कुलका पक्षमा बहस गर्नेहरू चाहिँ सरकारी स्कुलले समयको भार र आवाजलाई बोक्न र बोल्न नसकेकाले शिक्षालाई स्तरीकृत गर्नका लागि निजी क्षेत्रबाट पहल गर्नु परेको हो भन्दैछन् । सरकारको काम स्कुल चलाउने नै होइन । ऊ प्रजातन्त्तमा व्यवस्थापकको भूमिकामा विराजमान हुनु पर्छ । बाँकी शिक्षा, स्वास्थ्य र सञ्चारका सबै खाले कार्य निजी क्षेत्रलाई दिनु पर्छ भन्ने गर्दछन् । सरकारीवालाहरूको तर्क र निजीवालाहरूको तर्कमा कसले जित्छ त्यो मलाई मतलब हुने कुरा भएन । तर मेरो जीवन्त इतिहासलाई धूलिसात पार्ने जो नकाम भयो । यो चाहिँ मलाई कति पनि चित्त बुझेको छैन । आफ्ना चित्त नबुझेका कुराहरू राख्ने फोरम मैले कैले पनि पाइनँ । प्रधानमन्त्री, मन्त्री, सांसद र कर्पोरेट हाउसका मानिस र कमाऊ व्यवसायमा लागेका सबै हाँच, व्यक्तित्व, नाम र कद काँटीका मानिसहरूले आफ्ना सन्तानहरूलाई बहुदल अघि र पछि म कहाँबाट निकालेर निजीतिर पढाउने चलन चलाएका हुन् । मेरो मेरुदण्ड भाँच्ने काम सरकारी निर्णयमा अहम् भूमिका खेल्नेहरूले नै गरेका हुन् भन्न मैले आज कुनै आइतबार पर्खनु पर्दैन ।

राजधानीका जीर्णशीर्ण भवन र कतैकतै अट्टालिका झैँ लाग्ने भवनमा पनि म अहिले धरमरधरमर गर्दै असी वर्ष लागेको बुढो मानिसझैँ क्लान्त र मलिन मुद्रामा उभिएको छु । मेरै बयका वा केही अघिपछि जन्मिएका दरबार स्कुल, भानु मेमोरियल, पद्मोदय, जुद्धोदय, विजय स्मारक, नन्दी रात्रि पाठशालाजस्ता पुराना साथै त्रिपुरेश्वर, बानेश्वर र डिल्लीबजारमा रहेका पुराना हाइस्कुलहरू हिजोको धरोधर बँचाएर आज उभिन सकेका छैनन् । राजधानी बाहिरका धरान, बिराटनगर, पोखरा, वीरगन्ज, भद्रपुर, बिर्तामोड, सिरहा र नेपालगञ्जका पुराना हाइस्कुलहरू अहिले श्रमिक, ज्यामी, न्यून वेतनभोगी कर्मचारी र गरिबका सन्तानहरू मात्रै पढ्ने स्कुलका रूपमा चिनिन बाध्य भएका छन् । ‘ओरालो लागेको मृगलाई बाछाले पनि लखेट्छ’ भन्ने नेपाली उक्ति सार्थक पार्दै गरेको अवस्था अहिले विद्यमान छ । यो सबै नेपाली जनजनमा जगजाहेर पनि छ । तर यस्तो अवस्थामा पनि सरकारी स्कुल प्रतिको मौनता अति घातक गरेको देखिन्छ जसले गर्दा पनि मेरो साखलाई निरन्तर तल झारेको झारेई छ । नेपाल आमाका कोही वीर सपुतहरु मेरा ढलेको साखलाई पुन उठाएर धरहरा बनाउने जोखिम लिन किन चाहिरहेका छैनन् ? मैले बुझ्न नसकेको गाँठी कुरा हो –यो ।

आग्रह, पूर्वाग्रह र विग्रह निम्त्याउनकै लागि मुलुकभरि अहिले अङ्ग्रेजी भाषा र संस्कृतिको हौवा पिटाइएको छ । यो हौवामा यहाँ सरकारी हाइस्कुल पढ्नेहरू आफूलाई जतिसुकै राम्रो र गुणस्तरीय शिक्षा दिइए पनि आफूभित्र हीनताबोध पालेर बस्न बाध्य भएका छन् । एसइई नतिजामा निजीले प्रतिशत वृद्धि गरेको तथ्याङ्कलाई निरन्तर आफ्ना र सगोत्रीका सञ्चार माध्यमहरूबाट गोयवल्स शैलीमा सूचना र समाचार बनाएर बेच्ने काम जो गरिन्छ । दूर दराजमा रहेर सरकारी अनुदानका भरमा बाँचेको मेरो शरीर भित्रबाट पचासौं हज्जारको मेरा सन्तानका सङ्ख्याले दिने सरकारी सेवा र सुविधालाई न्यूनीकरण गर्दै विदेश जाने, टाई लगाएका र अङ्ग्रेजी सिकेका भरमै मूल्याङ्कन गर्ने बनावटी परिपाटीले पनि मलाई अन्याय गरेको भने पक्कै हो । यी कुराहरू शिक्षाविद्को पगरी गुतेका कुनै नेपाली विद्वान्हरूले न बोल्न सकेका छन्, न भाँती मिलाएर लेख्न सकेका छन् । यो देख्दा मेरो हियो अमिलो भएर आउँछ । म आफैँ आफ्नो प्रसार र स्टन्टवाजी गर्न सक्दिनँ । मेरा पक्षका वकिलहरू पनि समयको फेरबदलमा मेरै अघि मेरो बद्ख्वाइँ गर्ने साइँदुवा पात्र भएका छन् । उनीहरूका सूत्रधारहरू देशैभरि छरिएका र अनेकानेक भेषमा उभिएकाले उनीहरूकै बोली बिक्छ किनकि अहिलेको जमानामा ‘बोल्नेको पिठो बिक्छ नबोल्नेको सातु पनि बिक्दैन ।’

मेरो साख किन, कसरी र कहाँबाट झर्‍यो ? कोको लाउके र टाउकेहरु त्यसका लागि जिम्मेवार छन् ? मन्त्रालयदेखि जिल्लासम्म मेरा कार्यक्रमहरूलाई अवलम्बन गर्ने सरकारी स्टेक होल्डरहरू र सम्बन्धित निकायका व्यक्तिहरूले नै मेरो हाताभित्र सञ्चालन हुने कार्यक्रमलाई सकारात्मक रूपले दिलदिमागमा लिइएको पाइँदैन । यो नै मेरो वर्तमानलाई ओरालो लैजाने एक मात्र कडी हो । मेरा आफ्ना दुःखका फिरादहरू यहाँ कोही सुन्नेवाला नै छैनन् । सबै चमक दमकमा हिँडिरहेका छन् । यो यात्राले देश र जनताको भलो गरे त निको होला तर कहाँ गएर ठेस लाग्छ अनि थाहा पाउँछन् –आधुनिकताका मद खाएका धूताहाहरूले ।

हरितन्नम र विकासशील देशबाहेक विश्वभर जहीँतहीँ सरकारी स्कुलको आफ्नै बढ्दो क्रेज र क्रिम भविष्य छ । वैश्विक बुझक्कडहरू पहिले गोभरमेन्ट हाइस्कुलमा आफ्ना सन्तानलाई एड्मिसन गराउन चाहन्छन् अनि मात्र त्यहाँ नाम ननिकालेमा निजीतिर टाउको उठाएर हेर्छन् तर मेरो देशको वागमती भने सधैँ उल्टो बगेको छ । पानीका स्थानमा लेदोले कमिसन हसुरेको हेरै भयो । पहिलो प्राथमिकता निजी र दोस्रो प्राथमिकता सरकारी भन्ने चलन नेपालमा अझै छँदैछ । यो तुँवालोलाई हटाउन देशव्यापी रूपमा निकै ठुला शैक्षिक हुरीकेनहरु र चेतनाका आन्दोलनको खाँचो रहेको छ ।

निजी स्कुलबाट शिक्षित भएकाहरू फष्ट कन्ट्री जाने, उतैको पिआर र ग्रिन कार्ड होल्डर हुने भएपछि पनि समाजमा एकाएक निजी र अङ्ग्रेजीको क्रेज बढेको हो । बल्ल अहिले आएर मेरो साखलाई उजिल्याउने कार्यक्रमहरू सरकारी तवरबाट समेत एकादुई आउन थालेका छन् । देशव्यापी तवरले केही गुरुवा र गुरुआमाहरु स्वतःस्फूर्त रूपमा सरकारी स्कुलमा नयाँ जीवन दिन अहोरात्र लागि परेका सुसमाचारहरु बल्ल आउन थालेका छन् । यति सुन्दा पनि मलाई ग्रीष्म ऋतुमा वर्षाले दिने आनन्दानुभूतिको अनुभव हुने गर्छ । सरकारीमा पढेका विद्यार्थीहरूलाई मुलुकमा स्थापित धेरै व्यावसायिक कलेजहरूले पूर्ण, अद्र्ध र आंशिक छात्रवृत्ति दिने परिपाटीको थालनी भएपछि अलिअलि गर्दै मेरो साख उठ्न खोजेको हो कि भन्ने भान पर्न थालको छ । यो क्रमलाई अघि बढाउन सबै जङ्गी, निजामती, सरकारी र राजश्वबाट तलब भत्ता खानेहरू जति पनि हुन्छन् ती सबैका सन्तानलाई मेरो हाता र कम्पाउन्डमा पढ्नै पर्ने बाध्यात्मक परिस्थितिको अवलम्बन गरिदिने हो भने शनैःशनैः मेरो जीर्ण शरीरमा पनि वसन्त छाउने थियो । अहिले सरकारी अनुदान र विद्यालय निर्माणमा केही चासो बढेको स्थितिले त्यो सुदिन फर्काउला भन्न सकिन्छ । यो प्रयास पनि ‘हात्ती आयो, हात्ती आयो फुस्स’ परिणत नहोला भन्न सकिन्नँ । यदि त्यसो भएन भने मेरो गुमेको साख एक दिन फेरि फर्किएर आउने छ । जसमा हुर्कंदै गरेका लाखौँ मुना र कोपिलाहरूले फेरि मेरै आँचलमा समेटिएर युगानुकूलका चेतना, सीप, शिक्षा र संस्कार प्राप्त गर्न सक्ने छन् भन्ने मेरो कहिरन छ ।

हामीले खोजेको पूर्वीय सभ्यता र संस्कारलाई कसरी अगाडि लैजाने भन्ने राष्ट्रिय चिन्तनमा सबैको एकमत हुनु प¥यो । त्यो गर्नका लागि शैक्षिक पुनर्जागरणको खाँचो छ । त्यसमा मानिसको विकल्प रोज्न सक्ने अधिकारको पनि सम्मान हुनु पर्छ । निजी र सरकारी भन्ने विभेद र हेराइलाई हामीले जनताका तर्फबाट मूल्याङ्कन हुने परिपाटीको विकास गरिनु पर्छ । जनतालाई सेवा प्रदान गर्ने र राज्यका तर्फबाट धेरै धनराशि खर्च भएको परिस्थितिमा पनि त्यो सन्दर्भलाई जोड्नु पर्छ । लगानी मात्र गरेर प्रतिफल शून्य भएका सन्दर्भमा मैले मेरो मात्र वकालत गरेर हुन्नँ । मैले पनि अब सामयिक सुधार गर्दै सुध्रिनु पर्छ । ममा धेरै राजनीति हाबी भएको भने हो । पार्टी टाइमर विद्यार्थी र शिक्षकहरू राजनीतिक पार्टीका झोले भएकै हुन् । अनावश्यक चुनावी बखेडाले मलाई थिलथिलो बनाएकै पनि हो । सरस्वतीको मन्दिरमा राजनीतिक दर्शन पसेकै हो । हुँदाहुँदा आजित भएर अहिले ‘विद्यार्थी र शिक्षकका संघसंगठनहरू खारेज गर्नु पर्छ’ भन्नेजस्ता विचारहरू पनि मुलुक हाँक्ने जिम्मेवारी पाएका राजनेताहरूबाटै आउन थालेका छन् । यो पनि नयाँ बहसको विषय हुन सक्छ ।

जेजसरी भए पनि अहिले मेरो कोमामा गएको साखलाई वृद्धि गर्नु नै मुलुक, मुलुक हाँक्ने अभियन्ता र मुलुकीका हितमा छ भन्ने कुरा सम्बन्धित सबैले बुझ्नु पर्ने भएको छ । यो तर्कमा राजनीति नगरिकन मनषा, वाचा र कर्मणा हामी लागि प¥यौं भने सबैको भलो यसैमा छ । नत्र कवि मीनबहादुर विष्टले तीसको दशकमा लेखेको कविता ‘साला पहाड मै क्याहे ?’ को अन्तर्य बोकेर मेरो स्खलित भएको वर्तमान सदैव निरीह जनतालाई अपिल गर्दै रहन्छ ।

मसँग सम्बन्धित सबैले मेरो पुनर्जीवन प्राप्तिका लागि एकफेर फेरि लागी पर्नु पर्ने भएको छ । त्यसैका लागि आह्वान हो यो –यो जोसँग सम्बन्धित छ । नत्र भने दूरान्तर समयसम्म पनि कवि शिरोमणिको यो कविता सरकारी स्कुलका हकमा लागू हुने छ –सुन्नेले जब सुन्दैन, भन्नले मात्र गर्नु के ? नाङ्गाका देशमा गई, धोबी पाउँछ काम के ?

।।समाप्त।।

सम्बन्धित सामग्रीहरू