अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०६ | Colorodo: 04:21

नारायणगढ–मुग्लिन सडकमा पहिरो रोक्ने कार्य तीव्र

बिआरटीनेपाल २०७५ जेठ २५ गते ११:२२ मा प्रकाशित

नारायणगढ–मुग्लिन सडकको विस्तारका क्रममा कालोपत्रेको पहिलो तह सकिएसँगै पहिरो रोक्ने कार्यलाई तीव्रता दिइएको छ ।

सडक राम्रो बन्दै गर्दा भित्तातर्फबाट पहिरो खस्ने जोखिम जारी नै रहेकाले पहिरो रोक्ने कार्यलाई तीव्र गतिमा अघि बढाइएको हो । चैत अन्तिम साता सडकलाई दुई भागमा विभाजन गरेर दुई कम्पनीलाई पहिरो रोक्न गर्नुपर्ने कार्यको जिम्मा दिइएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इ शिव खनालका अनुसार दाशढुङ्गादेखि चोर खोलासम्म न्यू टेक्निकल हाइहिमालयन जेभीलाई रु छ करोडमा ठेक्का दिइएको छ । चोरखोलादेखि मुग्लिनसम्म न्यू टेक्निकल हाई हिमालय हिमसगरमाथा जेभीलाई रु आठ करोडमा पहिरो खस्नबाट रोक्न गर्नुपर्ने कार्य गर्ने गरी जिम्मा दिइएको छ ।

आयोजनाका अनुसार हालसम्म हाई हिमालयले ३१ प्रतिशत र हिम सगरमाथाले ४५ प्रतिशत काम सम्पन्न गरेका छन् । हिम सगरमाथाका कन्ट्र्याक्ट म्यानेजर जीवनप्रसाद तिवारीका अनुसार दुई खण्डको गरी काम गर्नुपर्ने ३२ ठाउँमा झर्न लागेका माटाका ढिस्का, ढुङ्गा, चट्टान झार्ने काम सम्पन्न भएको छ ।

हाल विभिन्न ठाउँमा पाइपको स्काई फोल्डिङ बनाएर ढुङ्गालाई ड्रिल गरेर भिरमा अर्को ढुङ्गामा अड्याउने रक बोल्ट्रिङ र भिरबाट ढुङ्गा, माटो झर्न नदिन ड्रिल गरेर जाली अड्याउने रक नेटिङको कार्य भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू