अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

अपराध नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य: महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७५ जेठ २५ गते १०:४० मा प्रकाशित

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराधलाई नियन्त्रण गर्ने प्रहरीको पहिलो कर्तव्य रहेको बताउनुभएको छ । 

बाराको कलैयास्थित उद्योग वाणिज्य संघको सभाहलमा नागरिकमैत्री सुरक्षा सिसीटिभी क्यामराको उद्घाटन गर्दै महानिरीक्षक खनालले जनताको जीउधनको रक्षा गर्नका लागि प्रहरी अहोरात्र खटिरहेको बताउनुभयो ।

महानिरीक्षक खनालले अपराध गर्ने जो कोहीलाई कानूनी दायरामा ल्याउन कसैसँग सम्झौता नहुने भन्दै अपराध नियन्त्रण गर्नेमा नागरिकको पनि उत्तिकै भूमिका रहेको बताउनुभयो ।

अपराधीहरुको कुनै जात र धर्म नहुने हुँदा त्यस्ता व्यक्तिलाई कसैले पनि संरक्षण नगर्न उहाँको आग्रह थियो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै बारा उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष विनोद साहले कलैयाको सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै २०७२ सालमा पाँचवटा सिसी क्यामरा जडान गरिएकामा तराई मधेशको आन्दोलन ताका आन्दोलनकारीले तोडफोड गरेकाले सुरक्षामा केही जटिलता आएको थियो भन्नुभएको थियो ।

नगरभित्र ६४ वटा सिसी क्यामरा जडान गर्ने लक्ष्य रहेको भए पनि करीब रु २२ लाख ५० हजारको लागतमा ३२ वटा सिसी क्यामरा जडान गरिएको संघका अध्यक्ष साहले भन्नुभयो । सिसी क्यामरा जडानसँगै नगरभित्रमा अपराध नियन्त्रण गर्नका लागि निकै सहयोग हुने प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू