अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:५८ | Colorodo: 01:13

आयोगद्वारा गंगामायाको स्वास्थ्य रक्षाकालागि सरकारलाई पत्राचार

बिआरटीनेपाल २०७५ जेठ २५ गते १०:१६ मा प्रकाशित

राष्ट्रिय मानव अधिकार आयोगले छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन र दोषीउपर कानूनी सजायको माग गर्दै अनशनरत गंगामाया अधिकारीको जीवन रक्षाका लागि संवेदनशील भई तत्काल कार्य प्रक्रिया अगाडि बढाउन सरकारलाई पत्राचार गरेको छ ।

आयोगका निमित्त सचिव यज्ञप्रसाद अधिकारीले आज जारी गरेको प्रेस विज्ञप्तिमा यही जेठ १५ गतेदेखि वीर अस्पतालमा पुनःअनशन बस्दा र पटकपटकको अनशनका कारण उहाँको स्वास्थ्य अवस्था अत्यन्त कमजोर र नाजुक बन्दै गएकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले सर्वोच्च अदालतको आदेशानुसार दोषीउपर कानूनी कारबाही प्रक्रिया अगाडि बढाउन र निजको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भर्र्ई निजको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न आजै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको हो ।

साथै आरोपित व्यक्तिलाई कानूनी कारबाही गर्ने सम्बन्धमा के–कसो भएको छ, त्यसको सम्पूर्ण विवरण तीन दिनभित्र उपलब्ध गराउन प्रहरी प्रधान कार्यालयलाई समेत आजै पत्राचार गरेको छ ।

गंगामायाको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगका सदस्य प्रकाश वस्ती र गोविन्द शर्मा पौड्याल नेतृत्वको उच्चस्तरीय टोलीले आज पुनःवीर अस्पतालमा पुगेर अनुगमन गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ ।

अनुगमनका क्रममा गंगामायाको स्वास्थ्य अवस्था अत्यन्त कमजोर देखिएको शरीरका विभिन्न भाग सुन्निएको तथा एउटा खुट्टा नचल्ने अवस्थामा रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू