अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:०९ | Colorodo: 13:24

कुलेखानी दोस्रोको एउटा जनेरेटरमा समस्या

बिआरटीनेपाल २०७५ जेठ २५ गते ९:५६ मा प्रकाशित

काठमाडौ, ३२ मेगावाट जडित क्षमताको कुलेखानी दोस्रो जलविद्युत केन्द्रको एउटा युनिट (१६ मेगावाट)को जेनेरेटरमा समस्या देखिएको छ ।

युनिट दुईको जेनेरेटरको ‘स्टेटर वाइन्डिङ’मा समस्या देखिएपछि २० जेठदेखि केन्द्रबाट १६ मेगावाट विद्युत् उत्पादन बन्द छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नु पर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत केन्द्रबाट ४६ मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ ।

कुलेखानी दोस्रोको एउटा युनिट बन्द भएको अवस्थामा पहिलोलाई ६० मेगावाटमा चलाउँदा जलाशयको पानी खेर जाने भएकाले पहिलो पनि ३० मेगावाटमा मात्रै सञ्चालन गरिएको छ ।
कुलेखानी पहिलोबाट विद्युत् उत्पादन गरी निक्लिएको पानीबाट दोस्रो विद्युत् गृह सञ्चालन हुन्छ । कुलेखानीलाई अन्य विद्युत् केन्द्रजस्तो २४ सै घण्टा चलाइँदैन । विद्युतको माग बढेका वेला आवश्यकताका आधारमा मात्रै सञ्चालन गरिन्छ । कुलेखानी पहिलोमा ३०/३० मेगावाटका दुईवटा र दोस्रोमा १६/१६ मेगावाटका दुईवटा टर्बाइन छन् । अहिले दुवै विद्युत् गृहका एउटा÷एउटा मात्रै टर्बाइन चलाइएको प्राधिकरणले जनाएको छ ।

बर्खा लागेसँगै खोला तथा नदीमा पानीको वहाव बढेकाले नदी प्रवाहमा आधारित (रन अफ रिभर) जलविद्युत केन्द्रबाट विद्युत् उत्पादन बढेको छ । यसले गर्दा कुलेखानीबाट ४६ मेगावाट उत्पादन बन्द हुँदासमेत पिक समयको विद्युत् माग र आपूर्ति व्यवस्थापन गर्न सहज भई लोडसेडिङ गर्नु नपरेको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत सोमबार कुलेखानी दोस्रो विद्युत् केन्द्रको स्थलगत निरीक्षण गरी मर्मतका लागि उपकरण आपूर्तिकर्ता कम्पनीलाई तत्काल बोलाउन केन्द्र प्रमुखलाई निर्देशन दिएका थिए ।उनले त्यहीँबाट आपूर्तिकर्ता कम्पनीका नेपाल प्रतिनिधिलाईसमेत फोन गरी प्राविधिकलाई तत्काल आउने व्यवस्थाका लागि पहल गर्न निर्देशन दिए ।
केन्द्रका प्रमुख आभास ओझाले मर्मतका लागि उपकरण आपूर्तिकर्ता फुजी इलेक्ट्रिक कम्पनी जापानका प्राविधिक आगामी सोमबार आइपुग्ने जानकारी दिए । त्यसपछि मात्रै मर्मतका लागि लाग्ने समय यकिन हुने उनले बताए । ‘हाम्रो अध्यायबाट मर्मत छिट्टै हुन सक्ने देखिएको छ तर कति समय लाग्छ कम्पनीका प्राविधिक आएपछि मात्रै भन्न सकिन्छ’,उनले भने,‘मर्मत छिट्टो सक्ने प्रयास गरिरहेका छौँ ।’

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू