अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:१५ | Colorodo: 04:30

नेपाल घरेलु तथा साना उद्योग महासङ्घ २९ औँ वर्षमा

बिआरटीनेपाल २०७५ जेठ २५ गते ९:४५ मा प्रकाशित

मुलुकको आर्थिक रूपान्तरण हासिल गर्न साना उद्योगको विकासमा जोड

काठमाडौँ । नेपालको आर्थिक रूपान्तरणको वाहक र समावेशी अर्थतन्त्र निर्माणको आधार स्तम्भ लघु घरेलु तथा साना उद्योगहरू नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाहरुले बताएका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घको राजधानीमा आयोजित २९ औँ वार्षिकोत्सव समारोहमा उनीहरूले संख्यात्मक हिसाबले पनि कम हँुदै गइरहेका लघु घरेलु तथा साना उद्योगको विकासको पहिलो र अनिवार्य सर्त भनेको नीतिगत स्पष्टता भएकोमा जोड दिए ।

नीति निर्माण एक जीवन्त प्रक्रिया भएको भन्दै महासङ्घका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरूप लघु घरेलु तथा साना उद्योग सम्बन्धी नीतिहरू थप प्रस्ट एवम् नियमित रूपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरू आर्थिक रूपान्तरणको संवाहक हुन सक्ने बताउनुभयो ।

मुलुकभर रहेका लघु घरेलु तथा साना उद्योगीहरूको छाता सङ्गठन महासङ्घ यस्ता उद्योगहरूको हक र हितको संरक्षण र सम्बद्र्धन गर्दै यस क्षेत्रको विकास र प्रवर्द्धन मार्फत मुलुकलाई औद्योकिरणतर्फ उन्मूख गराउने उद्देश्यका साथ २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिसकेको उहाँले बताउनुभयो ।

यसका अलावा ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमीहरू सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासङ्घमा क्रियाशील हेको उहाँले जानकारी दिनुभयो । झन्डै ३५ हजार उद्यमी साधारण सदस्य रहेको यस महासङ्घ अन्तर्गत २० वटा वस्तुगत संघहरु संस्थागत सदस्यको रूपमा महासङ्घमा आबद्ध छन् ।

औद्योगिक नीति २०६७ ले लघु, घरेलु तथा साना उद्यमीहरूको छांता संस्थाको रूपमा स्वीकार गरेको महासङ्घले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रबर्द्धनका लागि नेपाल सरकारसँग सहकार्य गर्दै आइरहेको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिंहले बताउनुभयो । 

महासङ्घ सल्लाहकार समितिका सभापति वासुदेव गिरीले लघु घरेलु तथा साना उद्येगहरुको विकासको पहिलो पाटो भनेको लगानी भएको भन्दै वित्तीय सङ्घ संस्था, लघु वित्त, सरकारी आदि जस्ता वित्तीय कारोबार गर्ने सङ्घ संस्था धेरै छन् तर तिनीहरूको ध्यान यस्ता उद्योगहरूमा जान नसकेको गुनासो गर्नुभयो ।

राष्ट्रको स्पष्ट लगानी नीति नहुनु, राजनीतिक दलहरूको आर्थिक सम्बद्धिका लागि लगानीको स्पष्ट खाका नहुनु विडम्बना भएको भन्दै उहाँले भन्नुभयो –‘जबसम्म समग्र मुलुकको आर्थिक क्षेत्रलाई अभिबृद्धि गर्ने सवालमा सबै राजनीतिक दल एवम् सरोकावालाको साझा राष्ट्रको औद्योगिक नीति, लगानी नीति बन्दैन तबसम्म आर्थिक रूपान्तरण भन्ने कुरा कुरामै सीमित रहन्छ ।’

बिहीबारदेखि २८ वर्ष पूरा गरी २९ औँ वर्षमा प्रवेश गरेको महासङ्घले वार्षिकोत्सवकै अवसरमा ‘उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग सम्बन्धी नियामक व्यवस्था र नीतिगत सुधारका आवश्यकताहरू’ विषयक अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरेको थियो ।

सो अवसरमा महासङ्घका सल्लाहकारहरू लता प्याकुरेल, डा. पुष्पराज राजकर्णिकार, डा. चन्द्रमणी अधिकारी, इन्दिरा श्रेष्ठ, महेश अग्रवाल र आङदेण्डी शेर्पा, महासङ्घका पूर्व अध्यक्ष सुरेश प्रधान, उपाध्यक्ष विष्णुबहादुर लुईटेल, केन्द्रीय महिला उद्यम समितिका सभापति अञ्जु उपाध्याय, उपाध्यक्ष मोहन कटुवाल, शोभा गुरुङ, महासचिव डम्बर रेग्मीलगायतले लघु घरेलु तथा साना उद्योगहरू मुलुकको आर्थिक विकासमा योगदानका विषयमा आफ्ना भनाई राख्नुभएको थियो ।

विभिन्न उद्योग प्रतिष्ठानहरू यस महासङ्घका एसोसियट र सहकारी मार्फत सञ्चालित उद्योगहरू महासङ्घ अन्तरगत सदस्य रहेका छन् । देशैभर रहेका महासङ्घका प्रदेश तथा जिल्लास्तरीयसंघहरुले पनि विविध कार्यक्रम गरी स्थापना दिवस भव्य रूपमा मनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू