अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२१ | Colorodo: 07:36

एन.आर.एन.ए अमेरिका युथ लिडरशिप छात्रवृत्ति २०१८ का विजयताहरु घोषणा

सुमन कार्की, टेक्सस २०७५ जेठ २५ गते ९:४१ मा प्रकाशित

गैर-आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एन.आर.एन.ए) अमेरिकाद्वारा अमेरिकामा अध्ययनरत जेहेन्दार र नेतृत्व क्षमता भएका नेपाली विद्यार्थीहरूलाई लक्षित स्थापित गरिएको “युथ लिडरशिप अवार्ड २०१८” को चार जना विजेताहरू घोषणा भएका छन्। विजेता हुनेहरुमा नर्थ-र्इस्टबाट शिस्टटा पौडेल, साउथ रिजनबाट पुजन दाहाल, मिड-वेस्टबाट असीम विक्रम अधिकारी र वेस्टबाट गणेश सापकोटा रहेका छन्।

शिस्टाटा पौडेल: फेयरलिहाई डिकिन्सन विश्वविद्यालय (एफ.डी.यु ) न्यु-जर्सीमा इलेक्ट्रिकल ईन्जिनियरिङ् विषयमा अध्यनरत जुनियर छात्रा हुन्। उनी अनर विद्यार्थी हुनुका साथै “THE FUTURE WORLD LEADER ” अवार्ड बाट पनि सम्मानित भइसकेकी छिन् । अन्तर्राष्ट्रिय विद्यार्थी सङ्घको सचिव र बहु-सांस्कृतिक काउन्सिलको उपाध्यक्ष हुँदै गर्दा उनले नेपाल र नेपालीलाई चिनाउनुका साथै अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्ने धेरै सांस्कृतिक कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेकी थिइन | हाल उनी स्टुडेन्ट गवरमेन्ट एसोसिएसन ( एस.जी.ए) को उपा-अधक्ष्य जस्तो गरिमामय पदमा बसेर कार्यभार समालिरहेकी छिन् | यो संस्थाले विश्वविद्यालय भित्रका ६० भन्दा बढी संस्थाहरूको कार्यक्रम र गतिविधिहरू निरीक्षण गर्दछ |

पुजन दाहाल लुजियाना: मोनरो विश्वविद्यालय (यु.एल.एम.) विश्वविद्यालयमा कम्प्युटर र सूचना विज्ञानका सिनियर विद्यार्थी हुन् ।उनी नेपाली विद्यार्थीहरूको प्रतिनिधित्व गर्दै नेपाली विद्यार्थी एसोसिएसन (एन.एस.ए) साथै स्टुडेन्ट गवरमेन्ट एसोसिएसन ( एस.जी.ए) र अरू थुप्रै विद्यार्थी सङ्घ सँग सक्रिय रूपमा संलग्न छन् । हालै सम्पन्न निर्वाचनमा आगामी शैक्षिक वर्षको लागि ‘क्याम्पस एक्टिभिटी बोर्ड’को कोषाध्यक्षका रूपमा निर्वाचित भएका छन् । नेपाल विद्यार्थीहरू माझ परिचित उनी ‘विशिष्ट वारहक पुरस्कार’, ‘चार्ल्स मैकडोनाल्ड क्याम्पस अधिवेशन पुरस्कार’, र अन्य छात्रवृत्ति पुरस्कारहरू द्वारा सम्मानित पनि छन्।

गणेश सापकोटा हाल आइडाहो स्टेट यूनिवर्सिटी (आई.एस.यु) मा बिजनेस विषयमा अध्यनरत छन्। स्टुडेन्ट गवरमेन्ट एसोसिएसन ( एस.जी.ए) को सीनेटरको रूपमा नियुक्त गणेश, व्यक्तिगत र समाहित प्रयास द्वारा विद्यार्थीहरूको सेवा गर्न प्रतिबद्ध छन्। उनले नेपाल र आफू पढ्दै गरेको युनिभर्सिटीको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघ को मुख्यालय न्यूयर्कमा “विन्टर युथ सम्मेलन” मा पनि सहभागी भएका थिए ।

मिनेसोटा स्टेट यूनिवर्सिटीका मेकानिकल ईन्जिनियरिङ् विद्यार्थी असीम विक्रम अधिकारी पनि अन्तर्राष्ट्रिय नेपाली विद्यार्थी एसोसिएसन, नेतृत्व सङ्घ, अमेरिकन सोसायटी अफ मेकानिकल इन्जिनियरहरू (ए.एस.एम.ई) लगायतका संस्थाहरूमा संग्लग्न छन्। उनी हालै मिनेसोटा स्टेट यूनिवर्सिटी अन्तर्गतको इन्टरनेसनल सेन्टर द्वारा प्रधान गरिने प्रतिष्ठित छात्रवृत्ति पुरस्कारद्वारा पनि सम्मानित छन्।

नगद एक हजार डलर सहितको युथ लिडरशिप अवार्डको लागि अमेरिकाको चारवटै भौगोलिक क्षेत्रका ४८ बिस्वविध्यालयबाट कुल ६२ जना सहभागी भएका थिए। छात्रवृत्ति समितिले जनवरी देखि आफ्नो काम सुरु गर्दै जुनको पहिलो साता नतिजा घोषणा गरेको हो र समितिमा सुमन कार्की, कुशल पोखरेल, सुलभ पौडेल, किर्तना बाँस्कोटा, जुबिन राजभण्डारी, डा.प्रतीक के. सी., डा.समिता लिम्बु र राजेन्द्र जोशी रहनुका साथै निर्णायक कमिटीमा डा. निरज बस्नेत, डा. सुमन सत्याल र डा. विनोद पाण्डे रहनुभएको थियो।

छनौट प्रक्रियाको क्रममा आएका सुझावहरू सङ्कलन गरी कार्यसमितिमा पनि पठाइएको जानकारी एन.आर.एन. अमेरिकाका युवा संयोजक तथा युथ लिडरशिप अवार्ड २०१८ का परिकल्पनाकार स्वराज खातीले दिए। उनले भने-“हामीहरूले यो वर्ष पाइलट परियोजनाका रूपमा सुरु गरेको यो प्रोजेक्टलाई प्राप्त सुझाबहरूरुका आधारमा अझ परिमार्जित र बिस्तार गर्ने छौ।” संयोजक खातीले अर्को वर्ष सामुदायिक कलेजमा अध्यनरत विद्यार्थीहरूलाई पनि यसै कार्येक्रममा समावेश गर्ने र युथ लिडरशिप अवार्डको आर्थिक स्थिरता र निरन्तरताको लागि राष्ट्रिय समन्वय परिषद् सँग पहल गर्दै संस्थाको वार्षिक बजेटबाट नै केही रकम युवा अभियान र कार्यक्रमहरूका लागि पनि छुट्याउनु पर्ने भन्ने प्रस्ताव येही आउँदो वार्षिक सम्मेलनका लागि विधान संशोधन समितिलाई पेस गरिएको जानकारी दिए ।

प्रतिक्रिया