अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२३ | Colorodo: 13:38

मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको अर्थमन्त्री डा युवराज खतिवडा

बिआरटीनेपाल २०७५ जेठ २४ गते ९:४७ मा प्रकाशित

अर्थमन्त्री डा युवराज खतिवडाले मुलुकको हितका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । 

नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाजको आयोजनामा आज साँझ आयोजित बजेटपछिको छलफलमा उहाँले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । उद्योग क्षेत्रको विकासका लागि चाहिने ऐन, कानून चाँडो बनाएर सरकारले नेपालको औद्योगिक विकासलाई अगाडि बढाउन चाहेको अर्थमन्त्री डा युवराज खतिवडाले  बताउनु भयो। ।

बजेट कार्यान्वयनको तालिका बनाएर सरकार अगाडि बढ्ने उहाँको भनाइ थियो । अर्थमन्त्री डा खतिवडाले आव २०७५÷०७६ को बजेटले बजेट घाटालाई निश्चित सीमाभित्र राख्ने कोशिश गरेको स्पष्ट पार्नुभयो । उहाँले आठ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरी मुलुकमा चार लाख जनतालाई रोजगारी दिने कुरामा सरकार लागेको बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालय राजश्व सचिव शिशिरकुमार ढुंगानाले महिला उद्यम विकासका लागि सरकारले प्राथमिकता दिएको बताउनुभयो ।

नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक व्यवसाय ऐनलाई पूरा गर्दै लगानीको वातावरण निर्माणमा सरकार लाग्नुपर्ने बताउनुभयो ।  अध्यक्ष शर्माले उद्योग क्षेत्रमा रहेको पुरानो कानूनलाई परिवर्तन र संशोधन गर्नु आवश्यक भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष पुष्पराज आचार्यले बजेटको समग्र अवस्थाबारे प्रकाश पार्नुभएको थियो भने विभिन्न निजी क्षेत्रका व्यक्तिले बजेटले उद्योग क्षेत्रमा पारेको प्रभाव र आगामी दिनमा उद्योग क्षेत्रको विकासका लागि गर्नुपर्ने कार्यबारे सुझाव दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू