अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३९ | Colorodo: 13:54

भर्जिनियाको नेपाल चिनाउने झॉकीमा उल्लेख्य रूपमा नेपाली र अमेरिकीहरूको सहभागिता

गुणराज लुइटेल, वासिङ्टन डिसी २०७५ जेठ २१ गते १६:१७ मा प्रकाशित

नेपाल र नेपालीलाई चिनाउने मुख्य उद्देश्यका साथ अमेरिकाको भर्जिनिया राज्यको हर्नडन सहरमा स्थानीय अमेरिकन जनप्रतिनिधि सहितको सहभागितामा नेपाली समुदायले नेपाली पोसाक र संस्कृति झल्किने झांकी तथा प्रदर्शन गरेका छन् ।

उक्त सहरमा चलिरहेको हर्नडन मेलामा ८० हजार देखि १ लाखसम्म अमेरिकनको सहभागिता हुने अवसरलाई प्रयोग गर्दै अबदेखि हरेक साल सो झांकी गरिने जानकारी आयोजकहरूले दिएका छन् ।

यहॉका तीन वटा आयोजक स्थानीय संस्थाहरू आदर्श नेपाली समाज, एनआरएनए भर्जिनिया च्याप्टर र श्रीओम कीर्तन मण्डलीको तर्फबाट संयोजक गुणराज लुईटेलले नेपाल र नेपालीलाई अमेरिकामा चिनाउने सानो प्रयासस्वरुप उत्तरी भर्जिनिया क्षेत्रमा पहिलो पटक यस्तो कार्यक्रम सुरु गरिएको बताउनु भयो ।

सो कार्यक्रममा अमेरिकी सांसद जेराल्ड कोनल्ली, भर्जिनिया स्टेट प्रतिनिधि जेनिफर बोयस्को र हर्नडन मेयर लिसा मर्कलबाट शुभकामना सन्देश प्राप्त भएको थियो ।

सांसद कनल्लीले आफ्नो शुभकामना सन्देशमा भर्जिनिया जहिले पनि विविधतामा विश्वास गर्ने भएकोले नेपालीहरूको रयालीलाई स्वागत गर्दै नेपालमा भूकम्प गएको बेला यसै क्षेत्रको फेयरफ्याक्स काउन्टीबाट ठुलो स्वयंसेवक समूह बटाइएको स्मरण गराउनु भयो ।

प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले नेपाल चिनाउने यस प्रयासको प्रशंसा गर्दै आफूले यस्तो काममा आवश्यक सहयोग गर्ने बताउनु भयो ।

अर्की अतिथि हर्नडन सहरकी उपमेयर जेनिफर बेकरले हर्नडनमा आफूले पहिलो पटक यसरी नेपालीहरूलाई भेट्ने मौका पाएको र नेपालको कला र संस्कृतिबाट धेरै नै प्रभावित भएकोले आफू नेपाल घुम्न जान आतुर रहेको बताइन । सहर काउन्सिल मेम्बर बिल मकेनीले नेपाली समुदायका समस्या समाधान गर्न आफूले सस्तो सुकै प्रयास पनि गर्ने बताउनु भयो । अतिथिहरूलाई स्थानीय बालबालिकाले गीत र नृत्यहरू प्रस्तुत गरेर देखाएका थिए भने आदर्श नेपाली समाजका तर्फबाट प्रदीप ढकालले नेपाली र नेपालको झलक तथ्यपरक रूपमा प्रस्तुत गरेका थिए।

त्यसपछि नेपाली समुदायले हजारौँ अमेरिकनहरूको सहभागिता रहेको स्थानीय हर्नडन मेला चलिरहेको स्थान हुँदै नेपाली र अमेरिकन झन्डा र ब्यानर सहित नगर परिक्रमा गरेका थिए ।

प्रतिक्रिया