अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१८ | Colorodo: 15:33

आइतबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

बिआरटीनेपाल २०७५ जेठ २० गते १०:५३ मा प्रकाशित

काठमाडौँ,  आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरू गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले काठमाडौँ–तराई दु्रतमार्ग निर्माण कार्यविधि स्वीकृदेखि फेरि विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नेसम्मका निर्णय गरेको हो ।

बैठकले फास्ट ट्रयाक निर्माण कार्यविधि २०७५ स्वीकृत गरेको छ भने जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा सुरक्षा, अध्यागमन लगायतका कार्यालय व्यवस्थित बनाउन, छिटो छरितो काम गर्न सङ्गठन र दरबन्दी समेत स्वीकृत गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

यसै गरी, बैठकले प्रशासकीय अदालत सम्बन्धी विधेयक पनि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएको यो विधेयक सरकारले अब सदनमा लैजानेछ ।

यस्तै, बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशको प्रयास (विमस्टेक) को सम्मेलन आउँदो भदौमा गर्ने निर्णय गरिएको छ । भदौको १४ र १५ वा २१ र २२ मा सम्मेलन गर्ने प्रस्ताव गरिएको हो । सदस्य राष्ट्रहरूसँग समन्वय गरेर यी दुई मध्ये एउटा मिति तय गर्ने सरकारको तयारी छ । गएको बिहीबार मात्रै विमस्टेकका महासचिव सहिदुल इस्लामले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटघाट गरेका थिए । भेटमा प्रधानमन्त्री ओलीले केही समयभित्रै नेपालमा विमस्टेकको सम्मेलन गर्ने प्रतिबद्धता जनाएका थिए ।

आइतबारको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना अभियान फेरि सञ्चालन गर्ने निर्णय पनि गरेको छ । गएको वैशाखमा सुरु गरिएको भर्ना अभियानपनि पनि ५६ हजार विद्यार्थी विद्यालय बाहिरै रहेको पाइएपछि सरकारले फेरि भर्ना अभियान थाल्ने निर्णय गरेको हो ।

वैशाखको भर्ना अभियानमा देशभर ३ लाख १३ विद्यार्थी विद्यालयको पहुँचमा पुगेका छन् । बाँकी ५६ हजारमध्ये सबैभन्दा धेरै प्रदेश नम्बर २ मा रहेका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू