अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१५ | Colorodo: 05:30

शुक्रवार देखी प्रदर्शनमा आएको अमेरिका बोइज, दर्शकबाट राम्रो प्रतिक्रिया

सरोज श्रेष्ठ २०७५ जेठ २० गते १०:०७ मा प्रकाशित

प्रवेश पौडेल निर्देशित फिल्म ‘अमेरिका बोइज’ शुक्रवार देखी प्रदर्शनमा आएको छ। चलचित्र ‘अमेरिका बोईज ’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । शुक्रवार र शनिवार हलहरूमा चलचित्रले हाउस फुलका साथ दर्शकको साथ पाएको छ । चलचित्र हेर्ने अधिकांश दर्शकहरूले ‘फिल्म रमाइलो र राम्रो छ’ भन्ने बताएका छन् । करिब २ घण्टा १० मिनेट लामो यो फिल्मले दर्शकलाई पूर्ण रूपमा मनोरञ्जन दिन्छ । हिरा र चिट्ठा परेको टिकट फिल्मको मुख्य कथा हो । 

फिल्ममा अमेरिकाको डीभी पर्‍यो भनेर घरबाट ३–३ लाख रुपैयाँ मगाएर काठमाण्डौमा मोज गर्ने ३ युवाको कथालाई बेजोड रूपमा प्रस्तुत गरिएको छ । वास्तवमा फिल्ममा पस्किएका मसलाले दर्शकले फिल्म हेरुन्जेल कहीँ कतै दिक्क र अल्छी मान्ने दृश्य भेटिँदैन । कमेडी जनरामा निर्माण भएको फिल्मले दर्शकलाई हँसाउँदा हँसाउँदै कुनबेला रुवाउँछ पत्तै पाईदैन । फिल्ममा मुख्य गरेर युवाहरूले भोगेको पीडा र गलत काम गर्दा बेहोर्नु पर्ने समस्यालाई समेट्ने प्रयास गरिएको छ ।

‘अमेरिका बोइज’ प्रवेश पौडेलको पहिलो निर्देशकिय फिल्म हो । फिल्म मुख्यतः अभिनेता अर्पण थापा, कलाकार अभय बराल र अशिष प्रसाईंको वरपर घुम्दछ । यी तीन पात्रले दर्शकलाई हँसाउँदै अन्त्यमा रुवाएका छन् ।नायक अर्पण थापाले यो चलचित्रमा उत्कृष्ट काम गरेका छन् । अभय र आशिष् पनि आफ्नो भूमिकामा जमेका छन् । कमेडी जनरा भएकाले पनि होला फिल्ममा कमेडी उत्कृष्ट छ ।  

यीसँगै अभिनेता हरिहर शर्मा, सुनिल थापा, सन्दिप क्षेत्री, कामेश्वर चौरसिया, शारदा गिरी, रश्मि भट्ट, रमा थपलिया लगायत कलाकारहरूको अभिनय छ । नव नायिका सृष्टि केसीले पनि आफ्नो भूमिकालाई न्याय गरेकी छन् । ‘अमेरिका बोइज’ प्रकाश भुजेल र इन्द्र प्रसाद खरेलको संयुक्त लगानीमा निर्माणमा बनेको फिल्म हो । दर्शक प्रतिक्रियाबाट हलमा दर्शक बढ्ने निर्माण पक्षले आशा राखेको छ ।