अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१३ | Colorodo: 08:28

किराती राईहरूको साकेला चाड राईहरूको मात्र नभएर सबै नेपालीको चाड भएको छ: राजदूत डा. कार्की

सुरेश चाम्लिङ्ग न्यु ह्याम्पसायर २०७५ जेठ १८ गते ८:०८ मा प्रकाशित

किराती राई हरुको संस्कृति साकेला चाड किराती राई हरुको मात्र नभएर अब संसार भरी नेपालीको पहिचान र नेपाली चाड भएको कुरा अमेरिकाका लागी महामहिम नेपाली राजदूत डा. अर्जुन कुमार कार्कीले बताउनु भएको छ । उक्त कुरा किराँत राईहरूको साकेला कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै अमेरिकाको लागी नेपाली राजदूत डा अर्जुन कार्कीले बताउनु भएको हो ।

युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका (यायोखा अमेरिका )केन्द्रीय समिति र डी एम भी पी, (डी सी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सिल्भानिया) लोकल च्याप्टरको संयुक्त आयोजनामा मे २७, २०१८ मा मेरिल्याण्ड राज्यको बाल्टिमोरमा सम्पन्न कार्यक्रममा उहाँ प्रमुख अतिथि हुनुहुन्थ्यो । उक्त कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्नु हुँदै उहाँले किराती राईहरूको संस्कृति साकेला चाड किराती राईहरूको मात्र नभएर अब संसार भरी नेपालीको पहिचान र नेपाली चाड भएको छ भन्नुभयो ।

उहाँले मातृभूमिबाट जतिनै टाढा भए पनि आफ्नो भेसभुसामा किराती राई भाइ बैनी हरू सजिएको देख्दा अब यसले बिस्वब्यापीरुप लिएको बताउनु भयो । उहाँले म पनि राई बाहुल्य क्षेत्रमा हुर्केको हुँदा मेरो पिताले पनि उधौली उभेली गर्नु हुन्थ्यो भन्नुभयो ।

सभापतिको आसनबाट बोल्नु हुँदै अर्गनाइजेसनका सभापति विष्णु राईले किराँत भूगोल ,इतिहास ,सभ्यता र पहिचान भएको हुँदा नेपालको क्षेत्र न १ किराँत प्रदेश नामकरण हुनु पर्छ भन्नु भयो/उहाँले साकेला चाड अब कुनै देशको सिमानाले छेक्न नसक्ने भएकोले अन्तररास्ट्रियकरण भएको छ भन्नु भयो ।

बाल्टिमोर काउन्टी हाउस डेलिगेट्स तथा बाल्टिमोर काउन्टी एक्जुकेटिभ क्यान्डीडेट जोनी ओल्गेस्किले साकेलाको शुभकामना दिनु हुँदै बाल्टिमोर काउन्टीमा यो संस्कृति भेष भूषा देख्दा गौरवको अनुभूति भएको बताउनु भयो । उहाँले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने कुरा व्यक्त गर्नु भयो ।

अर्का वक्ता अमेरिकाका पूर्व एन आर एन सभापति तथा अर्गनाइजेसनका वर्तमान सल्लाहकार शिव कुमार राईले किराती हरू जहाँ रहे पनि आफ्नो संस्कृति बचाई राख्न र उक्त संस्कृतिलाई भावी पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने हुनाले विदेशी भूमिमा पनि साकेला (भूमि पूजा ) गरिएको र यस प्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको कुरा बताउनु भएको थियो ।

उक्त कार्यक्रमको को-अर्डिनेटर तथा अर्गनाइजेसनका पूर्व केन्द्रीय सभापति मिलन राईले स्वागत भाषण गर्नु हुँदै अति व्यस्त समयमा पनि कार्यक्रममा सहभागी हरूलाई धन्यवाद दिनु भएको थियो ।

अर्गनाइजेसनको मिडिया को-अर्डिनेटर सुरेश चामलिंगले साकेला चाडमा नेपालमा दिँदै आएको बिदा सरकारले कटौती गरेमा खेद व्यक्त गर्नु हुँदै साकेलालाई पर्व, चण्डी, फागु नभनी दिन आग्रह गर्नु भयो साथै मुन्धुम तत्कालीन अवस्थाको विज्ञान तथा नियम ,कानुन भएको कुरा बताउनु भयो ।

अर्गनाइजेसनका पूर्व महासचिव प्रेरणा राईले साकेलाको महत्त्व माथि प्रकाश पार्नु हुँदै उभेली र उधौलीको बारेमा अर्थ्याउनु भएको थियो/ डी एम भी पी च्याप्टरका बोर्ड चेयर प्रकाश राईले शुभ कामना दिनु हुँदै साकेला नेपाली हरुको महान् चाडको रूपमा विकसित भएको हुनाले संसारका हरेक कुन कुनामा फैलिएको कुरा बताउनु भयो ।

नेपाली र अमेरिकाको राष्ट्रिय गीत सँगै भूमि पूजाबाट सुरु भएको उक्त कार्यक्रममा न्यु इंग्ल्याण्ड च्याप्टर ,डी एम भी पी च्याप्टर र न्यु योर्क च्याप्टरले साकेला सिली प्रस्तुत गरेका थिए । कार्यक्रमको मध्यान्तरमा शिरैमा सिरबन्दि बोलको गीतमा न्यू योर्कबाट आउनु भएका कलाकारहरू श्रीमती सजना राई र शुश्री श्यारोन राईद्वारा प्रस्तुत युगल नृत्यले दर्शकहरूलाई अत्यन्तै मनोरन्जित बनाइएको थियो/नेपालबाट आउनु भएको कलाकार गायिका आभा मुकारुङ्गको गीतले दर्शकलाई मनोरञ्जन दिलाएको थियो ।

त्यस्तै प्रकाश राई ,चन्द्र राई, राजेन्द्र राई लगायतले गीत प्रस्तुत गरेर माहौल तताउनु भएको थियो । गुन्यू चोली, ढाकाको सल, सरिबन्दी, चेप्टे सुन ढुङ्ग्री बुलाकी र दौरा सुरुवाल लगायतका किराँत राई पहिरनमा सजिएका युवा युवतीहरूको सिली प्रस्तुत गर्ने जोसलाई दर्के पानीले छेक्न सकेको थिएन । साकेला सिलीको न्यु इंग्ल्याण्ड च्याप्टरको संयोजन धौलबीर राईले गर्नु भएको थियो भने डी एम भी पी च्याप्टरको मन्जित राई र न्यु योर्क च्याप्टरको संयोजन सुख राज राईले गर्नु भएको थियो ।

शेखर राई र मारिया राईको संयुक्त उद्घोसणमा भएको उक्त कार्यक्रममा विभिन्न सङ्घ संस्थाका प्रतिनिधि हरू सहित बाना (BANA) का सभापति अनु बन्द,आदिवासी जनजाति महिला महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष कुसुम भट्टचनको समेत उपस्थिति थियो । किराँत राई हरुको नक्छुंग सहित अन्तमा सहभागी सबैले साकेला नाचेर कार्यक्रम समापन गरिएको थियो ।

सोही अवसरमा अघिल्लो दिन अर्गनाइजेसनको साधारण सभा होटेल म्यारीएटको हलमा सम्पन्न भएको थियो । विभिन्न लोकल च्याप्टरको प्रगति प्रतिवेदन च्याप्टरको अध्यक्षहरूले प्रस्तुत गर्नु भएको थियो । अर्गनाइजेसनको न्यु इंग्ल्याण्ड च्याप्टर अध्यक्ष मुक्ति नारायण राईले च्याप्टरको प्रगति प्रतिवेदन सहित आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । उक्त सभामा केन्द्रीय उप सभापति मुना राईले विगतको समीक्षा गर्नु हुँदै भावी प्लानको रूपमा मिसन २०२० को प्रस्ताव ल्याउनु भएको थियो । उक्त मिसन २०२० मा साकेला भूमि खरिद तथा समाधिस्थलको व्यवस्थापन समेतको प्रस्ताव राखिएको छ ।

प्रतिक्रिया